काठमाडौं १२ पुस (एबीसी–नेपालपेज टिप्प्णी)। नेपालको राजनीतिमा फेरि एकपटक ‘वैकल्पिक शक्ति’ को चर्चा ले ठाउँ लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङबीचको सघन छलफल र सम्भावित एकताले युवा पुस्तामा उत्साह जगाएको छ भने परम्परागत दलहरूबाट आलोचना र व्यंग्यको वर्षा भइरहेको छ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै यो गठजोडले पुराना दलहरूलाई चुनौती दिन सक्छ भन्ने अनुमान छ, तर यसमा वैचारिक स्पष्टता र दीर्घकालीन एजेन्डाको अभावलाई लिएर गम्भीर प्रश्नहरू पनि उठेका छन्।
जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक शून्यताले पुनः चर्चामा ल्याएका यी तीन पात्रहरूको संभावित एकताले नेपालको राजनीतिक ध्रुवीकरणलाई नयाँ मोड दिन सक्छ। तर, नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले यसलाई ‘सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउनेहरू’ को मिलन भनेर व्यंग्य गरेका छन्। उनको यो टिप्पणीले नयाँ शक्तिहरूको एकताप्रति परम्परागत दलहरूको असन्तुष्टि र शंकालाई प्रतिबिम्बित गर्छ।
छलफलको तीव्रता र संभावित मोडालिटी
पछिल्ला केही सातादेखि रवि, बालेन र कुलमानबीचको भेटघाट र छलफल तीव्र बनेको छ। ललितपुरको ज्वागलस्थित कुमार बेनको घर यी छलफलको मुख्य केन्द्र बनेको छ। स्रोतहरूका अनुसार पार्टी एकता वा चुनावी गठबन्धनको खाका लगभग तयार भइसकेको छ। प्रस्तावित मोडालिटीमा रवि लामिछाने पार्टी सभापति रहने र चुनाव जितेपछि बालेनलाई प्रधानमन्त्री उम्मेदवार बनाउने कुरा प्रमुख छ। कुलमान घिसिङलाई पनि वरिष्ठ नेतृत्वमा राख्ने र आलोपालो प्रधानमन्त्री बनाउने भन्ने सवैभन्दा बढी आलोचित पुरानै सत्ताको म्युजिकल चेयर दोहराउन रणनीति र यी तीन पात्रको सिद्धान्त, दर्शन र राजनीति बन्न आइपुगेको छ ।
यस्तो नयाँखाले म्युजिकल चेयरमाजेनजी अगुवाहरूको भूमिका पनि महत्वपूर्ण देखिएको छ। सुदन गुरुङजस्ता अगुवाहरूले यी तीन नेतालाई एक ठाउँमा ल्याउन मध्यस्थता गरिरहेका छन्। तर, छलफलमा कुलमानको उज्यालो नेपाल पार्टी र बालेनको देश विकास पार्टीको भूमिका, चुनाव चिह्न र उम्मेदवार छनोटमा अझै मतैक्य हुन बाँकी छ।
नीतिविहीन भेटघाटलाई ‘तारणहार’ को रूपमा प्रस्तुत गर्नु भ्रम मात्र हो।”
युवा पुस्तामा यो गठजोडप्रति देखिएको ठूलो उत्साह विचित्रखालको छ। चिया पसलदेखि सामाजिक सञ्जालसम्म ‘रवि, बालेन र कुलमान मिल्नैपर्छ’ भन्ने आवाज चर्को छ। उनीहरूले पुराना दलहरूलाई ‘धूलो चटाउने’ सपना देखिरहेका छन्। तर, विश्लेषकहरू भन्छन्– यो उत्साह भावनात्मक मात्र हो, वैचारिक आधारमा कमजोर छ।
पुराना दलहरूको आलोचना र शंका
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यो एकतालाई ‘तिलस्मी तत्व’ को खोजी भनेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउनेहरू लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक हो। तर, नीतिविहीन भेटघाटलाई ‘तारणहार’ को रूपमा प्रस्तुत गर्नु भ्रम मात्र हो।”

एमाले महासचिव शंकर पोखरेलले पनि यो बहसलाई ‘नयाँ र पुराना’ को भाष्य खडा गर्ने दुष्प्रयास भनेका छन्। उनको भनाइ छ, “नीतिविहीन र एजेन्डाविहीनलाई नयाँको पगरी गुथाउँदा विकल्प बन्दैन। रवि, बालेन, कुलमान सबै राज्यसत्तामा परीक्षण भइसकेका पात्र हुन्।”
उनीहरू यो गठजोडलाई ‘मिडिया हाइप’ र ‘भावुकताको लहर’ मात्र ठान्छन्। ज्ञवालीले दुई दशकअघिको माओवादी आन्दोलनको ‘हाइप’ सँग तुलना गर्दै चेतावनी दिएका छन्– “स्वप्न भंगको क्षण पीडादायी हुन्छ।”
वैचारिक खालीपन
यो संभावित गठजोडको सबैभन्दा ठूलो कमजोरी वैचारिक स्पष्टताको अभाव हो। बहुदलीय व्यवस्थामा पार्टीहरू विचार र दीर्घकालीन एजेन्डाका आधारमा बन्नुपर्ने हो, तर यो एकता मुख्यतः ‘पुरानालाई हराउने’ र आपसमा सत्ता बाँडचुँडमा केन्द्रित छ ।
शासकीय स्वरूपः संघीयता, संसदीय प्रणाली वा प्रत्यक्ष निर्वाचित कार्यकारी ?
आर्थिक नीतिः उदारवादी, समाजवादी वा मिश्रित वा समाज कल्याणको मापदण्ड के ?
सामाजिक न्यायः पहिचान, सीमान्तकृत समुदाय र वर्गीय मुद्दा कसरी सम्बोधन गर्ने ?(माओवादी युद्धले सबैभन्दा मुखर बनाएका एजेण्डा यिनै हुन्)
भूराजनीति र जलवायुः राष्ट्रिय हित र वैश्विक चुनौतीहरू कस्तो धाणा लिन वा जे आइलाग्छ त्यही गर्ने चरम अवसरवादी बाटो हिंड्न् ?
यी प्रश्नमा स्पष्ट जवाफ नभएसम्म यो नयाँ पात्रहरु विशेषगरी बालेनको सहभागिताले उनको भूमिगत बीरतापूर्ण छवि समेत ध्वस्त हुनसक्छ । लामिछाने र कुलमान पटक पटक र धेरै लामो समय परीक्षण भएका उनीहरुमाथि गम्भीर आर्थिक अपचलन भएका पात्र हुन् ।
बालेनका बारेमा अनेक प्रश्न भएपनि भ्रष्टाचारका बारेमा अहिलेसम्म उनीमाथि कुनै आरोप नलागेको भए पनि सिंहदरबार जलाउने कुराको मुख्य मतियारका रुपमा कांग्रेस र एमालेले लगाउने आरोपको उनले सामना गर्नु पर्ने नै छ ।
जेनजी अगुवाहरु मध्ये रक्ष बमहरुले भन्दै आएको पहिलेको शुद्धता अब लामिछाने र कुलमानको फोहरले कुरुप हुनेछ भने उनीहरुमाथि सिंहदरबार देखि देशभर गरिएको आगजनी र तोडपफोडले सहजै छाड्ने छैन ।
व्यक्तिगत प्रश्नहरू
रवि लामिछानेः सहकारी ठगी प्रकरण, अदालती मुद्दा र आक्रामक शैलीले उनको सुशासनको दाबीलाई कमजोर बनाएको छ। गाली र भावावेगबाहेक सिर्जनात्मक एजेन्डा प्रस्तुत गर्न नसकेको अवस्था छँदैछ ।
बालेन शाहः स्वच्छ छवि र काम गर्ने शैली प्रशंसनीय छ, तर अदालतविरुद्ध अभिव्यक्ति, सुकुमबासी विस्थापन र समन्वयको अभावले आलोचना खेपिरहेका छन्।साथै सिंहदरबार जलाउने रणनीतिकारको आरोप छ ।
कुलमान घिसिङः लोडसेडिङ अन्त्यको जसले लोकप्रिय बनाएको छ, तर पहिचानवादी समूहसँगको सम्बन्ध र दक्षिणपन्थी लोकप्रियतावादबीचको दोधारले प्रश्न उठाएको छ।
चुनावी गणित वा दीर्घकालीन विकल्प ?
यो गठजोडले चुनावी उथलपुथल ल्याउन सक्छ। युवा मतदाता र असन्तुष्ट वर्गलाई आकर्षित गरेर पुराना दलहरूलाई चुनौती दिन सक्छ। तर, जितेपछि के गर्ने ? नीति र संस्थागत स्थिरताबिना यो पनि अर्को ‘हाइप’ मात्र बन्न सक्छ।
नेपालको राजनीतिमा नयाँ र पुरानाको बहस होइन, एजेन्डा र गन्तव्यको बहस आवश्यक छ। यो गठजोडले त्यो बहस सुरु गर्छ कि केवल सत्ता गणितमा सीमित रहन्छ, समयले बताउनेछ। तर, अहिलेको उत्साह र शंकाबीच नेपाल फेरि एक राजनीतिक प्रयोगको डरलाग्दो संघारमा उभिन पुगेको छ । फेरि पनि चुनाव के हुन्छ भन्नेमा मुख्य तीन दलले लिने निर्णयामा नै भर पर्ने निशिचत छ ।
प्रतिक्रिया