काठमाडौं १० पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दलीय राजनीतिमा प्रवेश गरेको घोषणा गर्दै विभिन्न वैकल्पिक तथा नयाँ भनिएका शक्तिहरूसँग सघन छलफल थालेका छन्। विहीबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगको झण्डै एक घण्टाको भेटवार्तामा नयाँ र वैकल्पिक शक्तिहरूको एकीकरणमा जोड दिइएको छ। भट्टराईले यो आफ्नो १० वर्षदेखिको सपना भएको र बालेनले यसलाई सकारात्मक रूपमा लिएको बताएका छन्।
ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भएको भेटपछि भट्टराईले सञ्चारकर्मीहरूसँग भने, “मैले नयाँ र वैकल्पिक शक्ति एक भएर जानुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएको छु। आज बालेनजीले यसै विषयमा मसँग परामर्श गर्नुभएको हो। यसमा बालेनजी पनि सकारात्मक हुनुहुन्छ। नयाँहरू मिल्दा मेरो पनि सद्भाव रहन्छ। मेरो १० वर्षदेखिको सपना हो, विचार र एजेन्डामा सबै मिल्नुपर्छ, सबै एक भएर जानुपर्छ।”
लगत्तै बालेनले जेनजी अगुवाहरूसँग पनि छलफल गरेका थिए। जेनजी अगुवा युजन राजभण्डारीका अनुसार, बालेनले “म पार्टी राजनीतिमा आएँ, अब सहकार्य गरौं। सबै जेनजी एकजुट भएर आउनुस्” भन्दै आग्रह गरेका थिए।
त्यसअघि नै बालेनले उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग छलफल गरेका थिए। रवि र बालेनबीचको भेटमा सम्भावित एकता प्रक्रियाबारे विस्तृत कुराकानी भएको थियो। रविले पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवार अनुपातमा लचकता देखाउँदै ७०–३० को अनुपातमा समानुपातिक सूची तयार पार्ने प्रस्ताव राखेका थिए। साँझ फेरि बालेन, कुलमान र रविबीच फेरि ‘न्युट्रल भेन्यु’ मा छलफल हुने तय भएको छ।
तर बालेन, रबि र कुलमानले लाग्छ कि उनीहरुले बहुमत प्राप्त गरिसके, अब प्रधानमन्त्री को बन्ने भन्नेजस्तो दुनियालाई जग हसाउँने विषयमा छलफल गरिरहेको भन्दै जेनजी अगुवाहरुले आक्रोश पोख्न थालेका छन् ।
यता, अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी समूहहरूले दिनदिनै सरकार छोड्न दबाब दिइरहेको गुनासो गर्दै मुलुकलाई बंगलादेश बन्न नदिने बताएकी छिन्। उनले भनेकी छिन्, “हामी अचानो जस्तो पो रहेछौं। दलले पनि गाली गर्छन्, जेनजीले पनि छोड भन्छन्। तर छोडेपछि फेरि पालो दिएको थियौ नि भन्ने भाष्य आउँछ। हामी धैर्य धारण गरेर काम गर्दैछौं। मुलुक बंगलादेश नहोस्।”
जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिवर्तनको क्रममा वैकल्पिक शक्तिहरूको एकता प्रयास तीव्र बनेको छ। आगामी निर्वाचन नजिकिँदै गर्दा यी छलफलहरूले नयाँ राजनीतिक ध्रुवीकरण निम्त्याउने अनुमान गरिएको छ।
प्रतिक्रिया