काठमाडौं, १० पुस । वैकल्पिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वान टू वान वार्ता सुरु भएको छ ।बालेन समूहका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा वार्ता सुरु भएको हो ।
यसअघि सोही ठाउँमा बालेन र कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्माबीच छलफल भएको थियो ।छलफलबाट बाहिरिने क्रममा कांग्रेस नेता शर्माले प्रतिनिधिसभा पुनर्स्थापना भए के हुन्छ भन्नेबारेमा आफूले बालेनसँग छलफल गरेको बताएका थिए ।अहिले रवि लामिछानेले सोही ठाउँमा बालेनसँग वार्ता थालेका हुन् । रविका साथमा असिम शाह, गणेश कार्की पनि त्यहाँ पुगेका छन् ।
तर, वार्तामा उनीहरू भने सहभागी छैनन् ।वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल, जेनजी आन्दोलनपछि चर्चामा आएका हामी नेपाल नामका अध्यक्ष सुदन गुरुङ पनि त्यहाँ पुगेका छन् ।यसअघि सोमबार राति पनि रवि र बालेनबीच लामो समय छलफल चलेको थियो । रास्वपा नेता शाहको कमलपोखरीस्थित घरमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए ।अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । यिनै सेरोफेरोमा केन्द्रित रहेर दुई नेताबीच छलफल चलेको नेताहरूले बताएका छन् ।बालेनले आजै बिहान पनि ऊर्जामन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका थिए ।
प्रतिक्रिया