काठमाडौं, १० पुस । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अब दुई महिनामात्र बाँकी छ । समयको सुई तीव्र गतिमा दौडिरहेको छ र राजनीतिक दलहरूको मुख्य कार्यालयहरूमा रातभरि बत्ती ननिभाउन थालेका छन् । पुस १३–१४ भित्र समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाइसक्नुपर्ने डेडलाइनले सबैलाई हतारो बनाएको छ। पुराना वा नयाँ, ९३ वटै दलका नेता–कार्यकर्ता क्लस्टर मिलाउने र नाम छान्ने धुनमा छन्।
निर्वाचन आयोगले दलहरूलाई समावेशी क्लस्टर मिलाउन सहज होस् भनेर विशेष ओरिएन्टेसन तालिम दिएको छ। प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘हामीले शुद्ध र सही सूची आओस् भनेर दुई–दुई प्रतिनिधिलाई बोलाएर तालिम दिएका छौं। अब दलहरूको पालो हो।
कांग्रेसको कार्यसम्पादन बैठक र संसदीय बोर्डको तयारी
नेपाली कांग्रेसमा जिल्ला–प्रदेशबाट नामहरूको बाढी आएको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भन्छन्ः ूबुधबार कार्यसम्पादन समिति बैठक बस्दैछ। त्यहाँ संसदीय बोर्ड गठन हुन्छ र उम्मेदवार छान्ने मापदण्ड पनि टुंगिन्छ।ू कांग्रेसभित्र आकांक्षीहरूको लर्को लागेको छ – कसको नाम पर्छ, कसको काटिन्छ, त्यसैले सबैको नजर केन्द्रमा छ।
एमालेमा ओलीको व्यक्तिगत निगरानी
नेकपा एमाले मा भने अध्यक्ष केपी शर्मा ओली आफैं सक्रिय छन्। प्रदेश र जिल्लाबाट आएका नामहरूको सूची उनी आफैं पढिरहेका छन्। महासचिव शंकर पोखरेलले फोनमार्फत निर्देशन दिएपछि नामहरूको ओइरो लागेको छ। पुस १० भित्र सबै नाम केन्द्रमा पुग्ने र सचिवालय बैठकबाट अन्तिम बन्दसूची बन्ने योजना छ।
तर, पार्टीभित्र कोलाहाल रोकिएको छैन । ईश्वर पोखरेल पक्षले ूबैठक नै नबसी, मापदण्ड नै नबनाई कसरी नाम छान्ने ?ू भन्दै असन्तुष्टि पोखेको छ। उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमै महासचिवलाई ध्यानाकर्षण गराएका छन्। यस्तोमा ओलीले कसरी सन्तुलन मिलाउँछन्, सबैको चासो त्यतैतिर छ।
नेकपाको व्यवस्थित मापदण्ड
नेपाली कम्युनिस्ट पार्टी ले भने मापदण्ड बनाएरै काम अघि बढाएको छ। पुस ११ भित्र नाम सिफारिस गर्न सर्कुलर जारी भएको छ – जिल्लाबाट कम्तीमा २ महिलासहित ४ जना, समावेशी क्लस्टरलाई विशेष ध्यान दिन भनिएको छ । नेता बेदुराम भुसाल भन्छन्, ूनामहरू आउने क्रममा छन्, मुख्य नेताहरू बसेर अन्तिम सूची टुंग्याउँछौं।ू
रास्वपामा ‘आन्तरिक चुनाव’ को रोचक प्रक्रिया
राष्ट्रिय स्वतन्त्र पार्टी ले सबैभन्दा फरक शैली अपनाएको छ। कात्तिकदेखि नै गृहकार्य थालेको रास्वपामा ३५२ जनाले उम्मेदवारी आवेदन दिएका छन्। अब पुस ६–११ गते लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी परीक्षण, पुस १२–१३ गते बिहान ७ देखि साँझ ७ बजेसम्म आन्तरिक मतदान र पुस १४ गते ११० जनाको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। यो ुआन्तरिक चुनावु ले रास्वपाभित्रै रोमाञ्चक प्रतिस्पर्धा देखाउँदैछ।
नयाँ दलहरूको उत्साह
राप्रपाले पुस १० भित्र जिल्लाबाट नाम मागेको छ। प्रवक्ता मोहन श्रेष्ठ भन्छन्, ‘२०६४ पछिका अवसर पाएकालाई नसमेट्ने नीति छ। योगदान, सक्रियता र जेनजी भावना मुख्य मापदण्ड।’
उज्यालो नेपाल पार्टीले फोन र अनलाइनमार्फत नाम संकलन गरेको छ। प्रवक्ता डा. राजु थापा भन्छन्ः ‘एक–दुई दिनमा प्रारम्भिक सूची सार्वजनिक गर्छौं।’
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले जिल्लाबाट सक्रियता र लोकप्रियताका आधारमा नाम मागेको छ। निर्वाचन परिचालन समितिले रुजु गरेर अध्यक्ष परिषद्ले अन्तिम निर्णय लिनेछ।
निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूमा आकांक्षी व्यवस्थापन र क्लस्टर मिलाउने दौडधुप चलिरहेको छ। यो चटारोले कसको नाम सूचीमा पर्छ र कसको सपना अधुरो रहन्छ, त्यो चाँडै थाहा हुनेछ।
प्रतिक्रिया