चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठमा काठमाडौंमा ‘विश्व अमूर्त सम्पदा’ हिमालयन सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रवर्द्धन कार्यक्रम उद्घाटन

काठमाडौं, पुस । चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा ‘विश्व अमूर्त सम्पदा’ हिमालयन सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रवर्द्धन कार्यक्रम तथा चीन–नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्रको औपचारिक उद्घाटन काठमाडौंमा सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय प्याभिलियन र अरनीको सोसाइटीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा चीनका हिमालय क्षेत्रका विशिष्ट अमूर्त सांस्कृतिक सम्पदामा आधारित सिर्जनात्मक उत्पादनहरू प्रदर्शनीमा राखिएको थियो। कार्यक्रमले दुई देशबीचको सांस्कृतिक तथा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वमन्त्री जीवनराम श्रेष्ठ, नेपालस्थित चिनियाँ दूतावासका तृतीय सचिव वाङ जुनफेङ, अरनीको समाजका अध्यक्ष सुशील प्रजापति, राष्ट्रिय सूचना आयोगका उप–आयुक्त गगन बिष्टलगायत सांस्कृतिक, व्यापारिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका १२० भन्दा बढी अतिथिहरू सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जीवनराम श्रेष्ठले अमूर्त सांस्कृतिक सम्पदा कुनै पनि राष्ट्रको आत्मा भएको उल्लेख गर्दै यसले जनस्तरको समझदारी र मित्रता मजबुत बनाउने सेतुको काम गर्ने बताए। उनले प्रदर्शनी र सांस्कृतिक आदान–प्रदानमार्फत चीन–नेपालबीचको दीर्घकालीन मित्रता थप सुदृढ हुने विश्वास व्यक्त गरे।

नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले परम्परागत हस्तकलालाई जीवित सम्पदाका रूपमा व्याख्या गर्दै यस कार्यक्रमले हिमालय क्षेत्रका समुदायहरूलाई सांस्कृतिक र आर्थिक रूपमा जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए। उनले नेपाली र चिनियाँ कारीगरबीच सिर्जनात्मक सहकार्य र दिगो आर्थिक सम्भावनाका नयाँ ढोका खुल्ने अपेक्षा व्यक्त गरे।

अरनीको समाजका अध्यक्ष सुशील प्रजापतिले नेपाल–चीनबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध स्मरण गर्दै द्विपक्षीय सहकार्य प्रवर्द्धनमा अर्निको समाजले निरन्तर भूमिका खेल्दै आएको बताए।

कार्यक्रममा तिब्बती बहुल क्षेत्रका विभिन्न चिनियाँ उद्यमहरूले आफ्ना सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रस्तुत गर्दै सम्पदा संरक्षण र नवप्रवर्तनका अनुभव साझा गरेका थिए। सो अवसरमा नेपाल राष्ट्रिय पवेलियनले काठमाडौं बिक्री केन्द्रको औपचारिक शुभारम्भ गर्दै यसलाई नेपाल तथा अन्तर्राष्ट्रिय बजारका लागि स्थायी वितरण केन्द्रका रूपमा विकास गरिने जानकारी दिएको छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा चीन–नेपाल सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रदर्शनी तथा बिक्री केन्द्रको उद्घाटनसँगै विभिन्न सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको थियो। रंगबाला अमूर्त सम्पदा अध्ययन केन्द्र (चीन) र अरनीको  समाज, तथा गान्जी व्यावसायिक कलेज र नेपाल राष्ट्रिय प्याभिलियनबीच सांस्कृतिक पर्यटन, सीप विकास र सम्पदा प्रवर्द्धनमा सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो।

‘साझा सौन्दर्य, साझा सम्पदा : हिमालय क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदाको पुनर्जीवन’ विषयमा आयोजित प्यानल छलफलमा दुवै देशका सम्पदा विज्ञहरूले सांस्कृतिक नवप्रवर्तन, बजार अनुकूलन र सीमापार सहकार्यका विषयमा धारणा राखेका थिए।

यो कार्यक्रम चीनका हिमालय क्षेत्रका सांस्कृतिक तथा सिर्जनात्मक उत्पादनहरू नेपालमा पहिलो पटक ठूलो स्तरमा परिचय गराउने पहलका रूपमा लिइएको छ। आगामी एक सातासम्म काठमाडौं र पोखरामा प्रदर्शनी तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।

यसअघि नेपाल राष्ट्रिय प्याभिलियनले चीनमा आठवटा प्रवर्द्धन कार्यक्रम आयोजना गरी नेपाली उत्पादनको उल्लेखनीय कारोबार गरिसकेको जनाएको छ। पछिल्लो पहलले दुई देशबीचको सांस्कृतिक व्यापार विस्तार र आपसी समझदारीलाई अझ गहिरो बनाउने अपेक्षा गरिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति