काठमाडौं ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नख्खु कारागारबाट रिहा भएलगत्तै राजनीतिक भेटवार्ता र पार्टी गतिविधिलाई तीव्र बनाएका छन्। सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवलको आदेशपछि धरौटीमा रिहा भएका लामिछानेले चितवन हुँदै काठमाडौं आएर विभिन्न भेटघाट सुरु गरेका हुन्।

गत शुक्रबार रिहा भएका उनी शनिबार काठमाडौं आएलगत्तै जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग भेटेका थिए। आइतबार पार्टी कार्यालयमा स्वागत र बैठकपछि प्रधानमन्त्रीसहित सरकारी टोलीसँग छलफल गरे। यसबीचमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग दुईपटक भेटवार्ता गरिसकेका छन्। निकट स्रोतका अनुसार हिजो र आज दुई दिन कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको घरमा छलफल भएको थियो।

बालेन पक्षबाट सहयोगी कुमार बेन र निश्चल बस्नेत तथा रास्वपाबाट उपसभापति डीपी अर्याल र असिम शाह सहभागी थिए। छलफलमा बालेन निकटस्थहरूले दर्ता प्रक्रियामा रहेको ‘देश विकास पार्टी’ र रास्वपाबीच सहकार्य तथा चुनावी तालमेलबारे कुराकानी भएको स्रोतले बताएको छ। ‘छलफल सकारात्मक छ, तर निष्कर्ष आइसकेको छैन,’ स्रोतको भनाइ छ। एक प्रस्ताव अनुसार आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्री उम्मेदवार बनाउनेगरी सहकार्य हुन सक्ने चर्चा छ।
दुवैका विवादहरूले गठबन्धनको विश्वसनीयता र सफलतामा प्रश्न
रास्वपाका एक पदाधिकारीका अनुसार विभिन्न दल र समूहसँग (कुल १० वटा) सहकार्यको कुराकानी भइरहेको छ। ‘आक्रामक रूपमा अघि बढ्ने र राम्रा शक्तिहरू एक हुनुपर्नेमा जोड छ,’ उनले भने। जेलमा रहँदा होल्ड भएका तयारीहरूलाई अब मूर्त रूप दिन लामिछानेले भेटघाट बढाएका हुन्। ‘सशर्त सिट दिनेहरूसँग एकता हुँदैन, तर परिवर्तन चाहनेहरूसँग विकल्प छैन,’ ती नेताको भनाइ छ।
यो सहकार्यको चर्चासँगै दुवै नेताका पुराना विवादहरू पनि सतहमा आएका छन्।
रवि लामिछानेका विवादहरूः
- सहकारी ठगी प्रकरणः लामिछानेमाथि सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी लगायत सहकारीबाट करोडौं रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन गरेको आरोप छ। जीबी राईसँग मिलेर संगठित ठगी गरेको भन्दै विभिन्न जिल्लामा मुद्दा चलेको छ। २०८२ मा जेल परेका उनी धरौटीमा रिहा भए पनि मुद्दा चलिरहेको छ। संसदीय छानबिन समितिले पनि थप अनुसन्धान सिफारिस गरेको थियो।
- नागरिकता तथा अन्यः यसअघि अमेरिकी नागरिकता त्याग नगरेको विवादले सांसद पद गुमाएका थिए। टीभी पत्रकारितामा आक्रामक शैली र राजनीतिक प्रवेशपछि पुराना दलहरूसँग टकराव।
- वर्तमान प्रभावः जेलमुक्तिपछि वैकल्पिक शक्तिहरूसँग (कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसहित) एकता/तालमेलको प्रयास तीव्र छ, तर सहकारी मुद्दाले विश्वासयोग्यतामा प्रश्न उठाएको छ।
बालेन्द्र शाह (बालेन) का विवादहरूः
- केन्द्र सरकारसँग टकरावः कर्मचारी सरुवा, बजेट वितरण र प्रशासनिक हस्तक्षेपमा संघीय सरकारसँग बारम्बार विवाद। फुटपाथ व्यापारी हटाउने, अवैध संरचना भत्काउने निर्णयले चर्चा र आलोचना दुवै कमाए।
- अदालत अवहेलनाः विभिन्न निर्णयमा अदालतको आदेश उल्लंघन गरेको आरोपमा सर्वोच्चमा अवहेलना मुद्दा चलेको छ। सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति र विधेयकहरूको विरोध।
- अन्यः तीनकुने जग्गा मुआब्जा, सामाजिक सञ्जाल विधेयक विरोधमा पुराना गीत पोस्ट गरेर संकेतपूर्ण असहमति, वडाध्यक्षहरूसँग आरोप–प्रत्यारोप। यद्यपि, युवा पुस्तामा लोकप्रिय र सुशासनको छवि।
- राजनीतिकः स्वतन्त्र मेयर भए पनि ‘देश विकास पार्टी’ दर्ता प्रक्रियामा संलग्नता र रास्वपासँग सहकार्यको चर्चाले नयाँ मोर्चाबन्दीको संकेत दिएको छ।
यो भेटघाट र सहकार्यको चर्चाले आगामी निर्वाचनअघि वैकल्पिक शक्तिहरूको एकता प्रयासलाई तीव्र बनाएको छ। तर, दुवै नेताका विवादहरूले यस्तो गठबन्धनको विश्वसनीयता र सफलतामा प्रश्न उठाएका छन्।
प्रतिक्रिया