काठमाडौं, ७ पुस । नागरिक अगुवाहरूले समयमै चुनाव हुनेमा आशङ्का व्यक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बोलाउनुभएको सर्वपक्षीय छलफलमा नागरिक प्रतिनिधिहरूले समयमै चुनाव हुनेमा आशङ्का व्यक्त गर्दै सरकारलाई सुझाव दिएका छन् ।पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले सरकारलाई बाहिरी हस्तक्षेप भएको खण्डमा र सरकारले निर्वाचन आयोगमा हस्तक्षेप गरेको खण्डमा देशले समयमा निकास नपाउने बताए । उनले सरकारको काम राजनीतिक परिचालन, समन्वय, सबैलाई सहभागी गराउने र सन्त्रासको वातावरणबाट उन्मुक्ति दिनेतिर केन्द्रित हुनुपर्ने उल्लेख गरे ।
यस्तै पत्रकार एवम् लेखक कनकमणि दीक्षितले अन्तर्राष्ट्रिय मान्यता अनुसार चुनाव घोषणा भइसकेपछि विधि र प्रविधिलाई फेरबदल गर्नु उचित नभएको बताए। संविधानमा केही छेडखानी भएको र त्यसलाई मेटाउन फागुन २१ गतेको चुनाव आवश्यक रहेको भन्दै उनले नहुने सम्भावनाहरू टारेर भए पनि समयमै चुनाव गराउनुपर्ने जरुरी रहेको बताए ।पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले चुनावको प्रक्रिया शुरू गरिसकेपछि कानूनहरू परिवर्तन गर्न नहुने भन्दै यसलाई खेलाँची गरे ठीक ठाउँमा नपुगिने बताए ।
शीर्ष नेतृत्वलाई स्थानहद तोकेर चुनाव गर्न सम्भव नरहेकाले नेताहरूको स्थानहद हटाउनुपर्ने उनको तर्क छ ।प्रतिनिधिसभा सदस्य चुनावको तयारीका विषयमा प्रधानमन्त्री कार्कीले राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो । छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्री, प्रमुख राजनीतिक दलका तल्लो तहका नेता तथा निर्वाचन आयोगका पदाधिकारीहरूसमेत सहभागी थिए ।
प्रतिक्रिया