काठमाडौं । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमा प्रधान सम्पादक शुभशंकर कँडेलसँग गरिएको अन्र्तवार्तामा पूर्व प्रधानमन्त्री तथा नेता बाबुराम भट्टराईले जेन–जी विद्रोहले नेपालको राजनीतिक नेतृत्व, दल संरचना र राज्य प्रणालीलाई नाङ्गो बनाइदिएको बताएका छन्। उनका अनुसार भदौ २३–२४ मा देखिएको युवा विद्रोह आकस्मिक घटना होइन, अधुरो क्रान्ति, असफल शासन र दोहोरिँदो राजनीतिक अभ्यासको विस्फोट हो।
भट्टराईले जेन–जी विद्रोहलाई ‘हलाल क्रान्ति’को निरन्तरता बताए। उनका अनुसार नेपालमा सात सालदेखि नै टुक्राटुक्रामा परिवर्तन हुँदै आएको छ र माओवादी जनयुद्धले सबैभन्दा ठूलो धक्का दिएको थियो। तर त्यसले राजनीतिक उपरि संरचना परिवर्तन गरे पनि आर्थिक र सामाजिक रुपान्तरण अधुरै रह्यो। यही अधुरोपन नै अहिलेको विस्फोटको मूल कारण बनेको उनले बताए।
महाधिवेशन भए, तर समस्या जस्ताको तस्तै
एमालेको हालै सम्पन्न महाधिवेशनप्रति प्रतिक्रिया दिँदै भट्टराईले त्यसलाई नियमित प्रक्रिया माने। तर चुनाव गराएर पुरानै नेतृत्व दोहोर्याउनु र त्यसलाई नयाँ आवरणमा प्रस्तुत गर्नुले पार्टीका गहिरा समस्या समाधान नहुने उनको निष्कर्ष छ। उनका अनुसार नेपालमा दलहरू साधन नभई साध्य बनेका छन्।
उनले भने, “पार्टी समाज बदल्ने औजार हुनुपर्नेमा आफैँ जड, यान्त्रिक र व्यक्तिकेन्द्रित बनेका छन्। आजीवन एउटै व्यक्ति नेतृत्वमा रहने र नेता ढलेपछि पार्टी पनि ढल्ने संरचना बनाइएको छ।” यस्तो प्रवृत्तिबाट नेपालको कम्युनिस्ट आन्दोलन पनि मुक्त हुन नसकेको उनले बताए।
जेन–जीले ‘बादशाह नाङ्गो छ’ भने
भट्टराईका अनुसार जेन–जी विद्रोहले एन्डरसनको ‘बादशाहको नयाँ लुगा’ कथाजस्तै भूमिका खेल्यो। नयाँ पुस्ताले राजनीतिक नेतृत्व, दल र राज्य संरचनालाई ‘तिमीहरू नाङ्गै छौ’ भनेर सिधा सन्देश दिएको उनको भनाइ छ। तर तीन महिना बितिसक्दा पनि सत्तामा रहेका दल र नेताहरूले त्यसबाट पाठ नसिकेको उनले बताए।
“बालकले सत्य बोलिसकेपछि पनि बादशाह नाङ्गै हिँडिरहन्छ भने त्यो अझ गम्भीर समस्या हो,” उनले भने। उनका अनुसार अहिलेको अवस्था ‘कर्कलाको पानी’ जस्तै छ—न स्पष्ट दिशा, न ठोस निष्कर्ष।
राज्य संयन्त्रहरू पनि असफल
भट्टराईले राजनीतिक दल मात्र होइन, राज्यका अन्य अंगहरू पनि जिम्मेवारीबाट पन्छिएको आरोप लगाए। नोकरशाही, सुरक्षा संयन्त्र, न्यायालय, संवैधानिक आयोग र सञ्चार क्षेत्रसमेत गम्भीर आत्मसमीक्षामा नगएको उनले बताए।
उनका अनुसार अहिले नेपालको राष्ट्रिय सार्वभौमिकता र प्रणालीगत शक्ति इतिहासमै कमजोर अवस्थामा पुगेको छ। “दलहरू मुख्य दोषी हुन्, तर अरू अंगहरू पनि निर्दोष छैनन्,” उनले भने।
जेन–जी पुस्तालाई गलत बुझियो
भट्टराईले जेन–जी पुस्तालाई केवल डिजिटल संसारमा अल्झिएको, राजनीतिक चेतनाविहीन भनेर बुझ्ने पुरानो सोच भदौको आन्दोलनले गलत सावित गरिदिएको बताए। आन्दोलनको क्रममा युवाहरूले दिएका प्रतिक्रिया, तर्क र मागले उनीहरू बढी सचेत र स्पष्ट रहेको देखाएको उनको भनाइ छ।
“हामीले बुझ्दै नबुझी उनीहरूलाई हल्का आँकलन गरेका रहेछौं,” उनले भने, “हामीले भन्न नसकेको कुरा उनीहरूले भनिरहेका छन्।”
नयाँ वैकल्पिक राजनीतिक प्रयोग
अन्र्तवार्तामा भट्टराईले आफू संलग्न विभिन्न राजनीतिक प्रयोगबारे पनि खुलेर बोले। राजनीतिक दल र संस्थाहरू एकैचोटि परिपक्व नबन्ने र निरन्तर प्रयोग, बहस र अभ्यासबाट मात्र विकसित हुने उनको तर्क छ।
उनले विगत १० वर्षदेखि आफू र उनका सहकर्मीहरूले गरेका राजनीतिक प्रयोगलाई यही प्रक्रियाको हिस्सा बताए। “कम्तीमा हामी प्रश्न गर्ने ठाउँमा त पुगेका छौं,” उनले भने, “धेरैजसो त प्रश्न नगरी बसिरहेका छन्।”
नयाँ पुस्तालाई अगाडि सार्ने संकेत
भट्टराईले अब आफू अगाडि नआएर जेन–जीसहितको नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनेतर्फ झुकाव देखाए। उनले आफू ‘ब्याकबेन्च’मा बसेर नयाँ पुस्तालाई अगाडि सार्ने विकल्पबारे गम्भीर सोच भइरहेको बताए।
हालै गठन गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टीबारे उनले नयाँ पुस्ता, वैचारिक रूपमा प्रष्ट समूह र परिवर्तन चाहने युवाहरूलाई समेट्ने प्रयास भएको बताए। यद्यपि पार्टी गठन प्रक्रियामा पर्याप्त लोकतान्त्रिक अभ्यास नभएको भन्ने आलोचना पनि आएको स्वीकार गर्दै उनले त्यसबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने धारणा राखे।
संकटलाई अवसरमा बदल्न चेतावनी
भट्टराईका अनुसार जेन–जी विद्रोहले दिएको सन्देशलाई बेवास्ता गरिए आगामी दिनमा अझ ठूलो उथलपुथल आउन सक्छ। अहिले पनि लाज नमानी पुरानै शैलीमा राजनीति जारी राखिए अर्को पुस्ताले झनै कडा विकल्प खोज्ने उनले चेतावनी दिए।
“यो विद्रोह निराशाको अन्त्य होइन,” उनले भने, “यो नयाँ राजनीतिक विकल्पतर्फ जाने संकेत हो।”
प्रतिक्रिया