काठमाडौं ५ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका दुई वरिष्ठ नेताहरूले सरकारलाई निष्पक्ष र भयरहित वातावरण निर्माण गर्न आग्रह गरेका छन्। गत भदौमा भएको जेनजी आन्दोलनको हिंसात्मक घटनापछि उत्पन्न असुरक्षा र त्रासको वातावरणलाई ध्यानमा राख्दै डा. शेखर कोइराला र प्रकाशमान सिंहले निर्वाचनको विश्वसनीयताका लागि विशेष पहल आवश्यक रहेको बताएका छन्।
विराटनगरमा पार्टी नेता–कार्यकर्तासँगको छलफलमा बोल्दै केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भने, “भदौ २४ को जेनजी आन्दोलनका क्रममा फरार रहेका करिब ५ हजार कैदी अझै बाहिर छन्। प्रहरीबाट लुटिएका ५–७ हजार हतियार पनि बरामद भएका छैनन्। यस्तो त्रास र भयको वातावरणमा निष्पक्ष निर्वाचन सम्भव छैन।” उनले सरकार, राजनीतिक दल र सरोकारवाला सबैले समन्वय गरेर निर्वाचनको सहज वातावरण बनाउनुपर्नेमा जोड दिए।
कोइरालाले कांग्रेस जिम्मेवार पार्टी भएकाले निर्वाचनसँगै पार्टी महाधिवेशन पनि समयमै सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको बताए। उनको भनाइ छ – जनताले भयरहित रूपमा मतदान गर्न पाउने वातावरण सरकारको प्रमुख दायित्व हो।
यता, काठमाडौं क्षेत्र नं.१ मा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले निर्वाचन नभए संसद् पुनर्स्थापनाको विकल्प खुला राख्नुपर्ने बताए। उनले भने, “फागुन २१ को निर्वाचन नै संविधानलाई सही ट्र्याकमा ल्याउने उत्तम माध्यम हो। तर विभिन्न कारणले निर्वाचन हुन नसके संसद् पुनर्स्थापनालाई पनि खुला राख्नुपर्छ।”
सिंहले वर्तमान सुरक्षा अवस्थालाई हेर्दा सरकारको निर्वाचन गराउने दाबीमा शंका उत्पन्न भएको उल्लेख गरे। “सरकारले स्वच्छ र निष्पक्ष निर्वाचन गराउँछु भनेर बोलेर मात्र हुँदैन, गरेर देखाउनुपर्छ,” उनको भनाइ थियो। उनले पार्टी महाधिवेशनलाई पनि पार्टीभित्रको निर्वाचनका रूपमा लिएर विधि र प्रक्रिया पूरा गरेर अघि बढाउन आग्रह गरे। सर्वसम्मत कार्यतालिका पारित भइसकेकाले महाधिवेशन हुनेमा शंका नगर्न पनि उनले नेता(कार्यकर्तालाई आश्वस्त पारे।
घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारमाथि थप दबाब बढाउने निश्चित छ। आगामी दिनमा सुरक्षा व्यवस्था बलियो बनाई निर्वाचनको वातावरण कसरी बन्छ, त्यसले नै लोकतन्त्रको स्वास्थ्य मापन गर्नेछ।
कांग्रेस नेता सिंह र शेखरको फागुन २१ को निर्वाचनका लाग्न आग्रह
प्रतिक्रिया