काठमाडौं ४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चारमाध्यममा गएर नपोख्न आग्रह गरेका छन् । शुक्रबार पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओली सो आग्रह गरेका हुन् । ओलीले भने, “असन्तुष्टि नेतृत्वसमक्ष मौखिक वा लिखत रूपमा पेस गर्नू ।”
नयाँ निर्वाचित केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ सो जिम्मेवारी पूरा गर्नुपर्ने उनले बताए । “११औँ महाधिवेशन भव्यताका साथ सम्पन्न भयो । यसलाई हरेक कोणबाट सफल महाधिवेशन भएको दाबी गर्छु । पार्टीभित्र देखिएको समस्या आगामी दिनमा प्रकट नहुन् भन्ने कामना गर्छु,” उनले भने, “हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीतिअनुसार हामी अगाडि बढ्नेछौँ, बेतालमा बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ ।”
देश अहिले अप्ठेरो अवस्थामा रहेको बताउँदै ओलीले त्यो अप्ठेरोबाट देशलाई सहज बाटोमा ल्याउने काम एमालेले गर्ने बताए । ओलीले अब सहर गाउँ सबै ठाउँमा टोल सुरक्षा समिति बनाएर सुरक्षाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर आम जनताको सुरक्षाको काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
त्यसबारे ओलीको भनाइ जस्ताको त्यस्तै-
हाम्रो पार्टी महान अभिभारा बोकेको छ। त्यत्तिकै दृढ अनुशासन र अनुशासन, विचार र अनुशासनमा बाँधिएको एकताका साथ हामी अगाडि बढ्छौँ। उल्क्याउँछन् त्यहाँ त कोही बोल्नै पाउँदैन, एमालेमा कोही बोल्नै पाउँदैन, त्यहाँ केपी ओलीको अधिनायकवाद चल्छ, तानाशाही चल्छ, कसैले आँखामा आँखा जुधाएर बोल्नै सक्दैन, हेर्नै सक्दैन यस्ता हल्ला चलाउँछन्।
आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् यस्ता कुरा गर्छन्। नत्र ती विरोधमा बोलिहाल्थे नि, खै केपी ओलीको विरोधमा बोलेका ? केपी ओलीले विरोध गर्नुपर्ने कुनै कामै गर्दैन त के भनेर विरोध गर्ने ? उनीहरूले त्यसो भन्छन्।
लिडरसिपप्रति अनास्था जगाउनका लागि, पार्टी एकतामा खलल पुर्याउनका लागि त्यस्ता उचाल्ने कुराहरू गर्छन्। यस्ता कुराहरूबाट हामी प्रभावित हुनु हुँदैन। यसतर्फको आवाज बोकेर पनि प्रतिनिधि आएका छन् भन्ने हल्ला चलाउँछन्।
हिजो चुनावमा लड्दा प्यानल भएर पनि लडियो होला। स्वतन्त्र भएर पनि लडियो होला। कुन प्यानल भयो, कुन स्वतन्त्र भयो, के भयो, त्यो हिजो नै परिणाम आउनसँगै सिद्धियो। अब एमालेको केन्द्रीय कमिटी, केन्द्रीय कमिटीमा हामी छौँ र यो केन्द्रीय कमिटी यो प्यानल र त्यो प्यानल होइन, एमालेको देश हाँक्ने केन्द्रीय कमिटी हो, यो एकजुट छ, एकढिक्का छ। यो पक्ष छैन, उ पक्ष छैन, यो प्यानल छैन, उ प्यानल छैन।
यही भावना र दृढताका साथ हामी अगाडि बढ्छौँ। देश अप्ठ्यारो अवस्थामा छ। यो अप्ठ्यारो अवस्थालाई सजिलो अवस्थामा पुर्याउने अभिभारा हाम्रो पार्टीको काँधमा छ।
पहिलो बैठक: पदाधिकारीहरूको ‘सीट प्लान’ अनुसार वरीयता
- महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठक (पुस ४ गते) मा पदाधिकारीहरूको बस्ने क्रम (सीट प्लान) ले शीर्ष नेतृत्वको वरीयताक्रम संकेत गरेको छ।
- वरीयताक्रम यस प्रकार छ (अध्यक्ष केपी शर्मा ओलीपछि):
- उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ (दोस्रो वरीयता – यसअघि साविक नेकपामा पनि विष्णु पौडेलभन्दा माथि थिए)।
- विष्णु पौडेल।
- पृथ्वीसुब्बा गुरुङ (यसअघि उपमहासचिव)।
- गोकर्ण विष्ट (यसअघि सचिव)।
- रघुजी पन्त (स्थायी कमिटी सदस्यबाट उपाध्यक्ष निर्वाचित)।
- महासचिव: शंकर पोखरेल।
- उपमहासचिवहरू (क्रमशः):
- लेखराज भट्ट।
- रघुवीर महासेठ।
- योगेश भट्टराई (अघिल्लो कमिटीमा रघुवीरभन्दा माथि थिए)।
- सचिवहरूको वरीयता प्रष्ट छैन, तर बैठकमा बस्ने क्रम:
- महेश बस्नेत पहिले, त्यसपछि छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, शेरधन राई, यामलाल कँडेल, डा. राजन भट्टराई, हिक्मत कार्की आदि।
- अघिल्लो कमिटीको आधारमा छविलाल विश्वकर्मा र पद्मा अर्याल माथि हुने अनुमान।
- आयोगहरू: लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोग अध्यक्ष विजय सुब्बा, अनुशासन आयोग अध्यक्ष भरत पहारी।
- यो सीट प्लान सिनियरिटी र पार्टी निर्णयको आधारमा भएको एक नेताको भनाइ।
३. पहिलो केन्द्रीय कमिटी बैठकका मुख्य निर्णयहरू
- बैठक: पुस ४ गते (शुक्रबार) काठमाडौंमा।
- मुख्य निर्णयहरू:
- एक हप्ताभित्र संशोधित विधान र राजनीतिक प्रतिवेदनहरू प्रकाशन गर्ने (विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनका संशोधन समेटेर) – जिम्मेवारी केन्द्रीय सचिवालयलाई।
- केन्द्रीय कमिटी पदाधिकारी र सदस्यहरूको कार्यविभाजन – सचिवालयलाई जिम्मा।
- दोस्रो केन्द्रीय कमिटी बैठक: पुस २६, २७ र २८ गते काठमाडौंमा।
- राष्ट्रिय सल्लाहकार परिषद् गठन – पदाधिकारी र केन्द्रीय सदस्यबाट विदा भएकाहरूलाई समेटेर, कामको जिम्मेवारी दिने।
प्रतिक्रिया