एमाले महाधिवेशन इफेक्टः पराजित नेताहरू रिमाल र पाण्डेको रोचक प्रतिक्रिया

काठमाडौं ४ पुस । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन्। महासचिवमा शंकर पोखरेल दोहरिएका छन्। तर, केही स्थापित नेताहरू पदाधिकारी र केन्द्रीय सदस्य दुवैमा पराजित भएका छन्। उनीहरूले पराजयलाई स्वाभाविक रूपमा स्वीकार गर्दै पार्टीप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।

विष्णु रिमाल : “यो न अस्वाभाविक हो, न त चिन्ताको विषय”

  • केपी ओलीका निकटतम नेता तथा निवर्तमान उपमहासचिव विष्णु रिमाल उपमहासचिव र केन्द्रीय सदस्य दुवै पदमा पराजित भए।
  • सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन् : महाधिवेशनमा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखियो। ओलीद्वारा प्रस्तावित टीम प्रायः सर्वसम्मत अनुमोदित भयो, तर म स्वयं (उपमहासचिव) र एक उपाध्यक्षबाहेक सबै निर्वाचित भए। “यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय। यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन्। हामी जनताको बहुदलीय लोकतन्त्रको मूल भावनाबाट दृढ रूपमा निर्देशित छौँ।”
  • उनले महाधिवेशनलाई असाधारण, गरिमामय र उत्साहपूर्ण बताउँदै सामूहिक उपलब्धिको अनुभूति भएको उल्लेख गरेका छन्।

काशीनाथ अधिकारी : ४४ वर्षको सक्रिय राजनीतिबाट विश्राम

  • निवर्तमान संगठन विभाग प्रमुख काशीनाथ अधिकारी (६६ वर्षीय) ले सक्रिय राजनीतिबाट बिदा लिएका छन्।
  • सामाजिक सञ्जालमार्फत घोषणा गर्दै उनले भनेका छन् : “जसरी पनि जिम्मा पूरा गर्ने मेरो कार्यशैली थियो, पद र अवसरका लागि कहिल्यै मरिहत्ते गरिनँ। अब पार्टीको कुनै पनि कमिटी वा निकायमा रहने छैन। साधारण सदस्य भएर पार्टी, समाज र देशको हितमा योगदान गरिरहनेछु।”
  • महाधिवेशनमा ओली प्यानलले उनलाई अनुशासन आयोग अध्यक्षमा राखेको थियो, तर “अरूले पालो पाउनुपर्छ” भन्दै उनले उम्मेदवारी दर्ता नै गरेनन्।

सुरेन्द्र पाण्डे : “मैदानमै खट्छु, मनोनीत नगरियोस्”

  • महासचिवका प्रत्यासी सुरेन्द्र पाण्डे महासचिवमा ९९९ मत र केन्द्रीय सदस्यमा ९६१ मत ल्याएर पराजित भए (केन्द्रीय सदस्य जित्न १११५+ मत आवश्यक थियो)।
  • उनले प्राप्त मतप्रति सन्तुष्टि व्यक्त गर्दै भनेका छन् : “महासचिवमा प्रतिस्पर्धा गरेको हुँ, साथीहरूले दिनुभएको मतमा सन्तुष्ट छु। मनोनीतबाट केन्द्रीय सदस्य हुने रुचि छैन। म ग्रासरुटमा पार्टी काम गरेर आएको हुँ, फेरि पनि मैदानमै डट्छु।”
  • पद नजिते पनि देशभरका प्रतिनिधिको मन जित्नु आफ्नो सफलता भएको उनको भनाइ छ। उनले पार्टीको सही नीति, विचार र कार्यक्रममा दृढ रहने र गलत कुराको प्रतिवाद गरिरहने प्रतिबद्धता जनाएका छन्।
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति