परिक्षणमा विष्ट, भट्टराई, शंकरको लोकप्रियता घट्दो, स्थायी सल्लाहाकार रिमाल पराजित
काठमाडौं ३ पुस । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली ठूलो मतान्तरले तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन्। महाधिवेशनले १९ सदस्यीय पदाधिकारी टिम चुनेको छ, दुई जना बाहेक सबै ओली प्यानलकै वर्चस्व बनेको छ ।
१. निर्वाचन परिणाम

अध्यक्षः केपी शर्मा ओली (१,६६३ मत) विजयी, ईश्वर पोखरेल (५८४ मत) पराजित।
उपाध्यक्ष ५ जनाः पृथ्वीसुब्बा गुरुङ (१,७३७ मत), विष्णु पौडेल (१,६७५ मत), रामबहादुर थापा (१,५१६ मत), गोकर्ण विष्ट (१,३६८ मत), रघुजी पन्त (१,२५८ मत) विजयी।
महासचिवः शंकर पोखरेल (१,२२८ मत) विजयी, सुरेन्द्र पाण्डे (९९९ मत) पराजित।
उपमहासचिव ३ जनाः लेखराज भट्ट, रघुवीर महासेठ र योगेश विजयी। विष्णु रिमाल पराजित।
सचिव ९ जनाः महेश बस्नेत (सर्वाधिक मत) पद्मा कुमारी अर्याल, खगराज अधिकारी, छविलाल विश्वकर्मा, यमलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई र भानुभक्त ढकाल विजयी।
पदाधिकारीमध्ये १७ जना ओली प्यानलका, २ जना (विष्ट र भट्टराई) पोखरेल प्यानलबाट। एकमात्र महिला पद्मा कुमारी अर्याल समेत ।
यो परिणामले पार्टीभित्र नेतृत्व परिवर्तनको एजेन्डा असफल भएको र ओलीको निरन्तरताले स्थिरता नै कायम गर्न पुगेको छ ।
२. गोकर्ण विष्ट र योगेश भट्टराईः संस्थापन इतरको आवाजका प्रतिनिधिहरु
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट (१,३६८ मत) र उपमहासचिवमा योगेश भट्टराई (१,३४८ मत) विजयी भएका छन्। दुवै नवौँ र दशौँ महाधिवेशनमा सचिव दिमा निर्वाचित भएका थिए। उनीहरू २०४४ साउन ४ गते एकै दिन पार्टी सदस्यता लिएका पुराना साथी हुन्। २०७८ को पार्टी फुटअघि ओली–नेपालबीचको १० बुँदे सहमतिका पक्षधर समेत थिए।
गोकर्ण विष्टः ६० वर्षीय, गुल्मीबाट सांसद। विद्यार्थी आन्दोलनबाट राजनीति सुरु, अनेरास्ववियु संगठन विभाग प्रमुख, प्रजातान्त्रिक राष्ट्रिय युवा संघको दुई पटक महासचिव। सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्य, ऊर्जा मन्त्री (२०६८) र श्रम मन्त्री (२०७४)।
योगेश भट्टराईः विष्टभन्दा १४ महिना कान्छा, ताप्लेजुङबाट सांसद। २०५१ मा अनेरास्ववियु केन्द्रीय अध्यक्ष, आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्य, पर्यटन मन्त्री (२०७७)।
साझा अडानः दुवै एक पदमा दुई कार्यकालभन्दा बढी नबस्ने र ७० वर्षे उमेर हदका पक्षधर हुन् । पार्टीमा सुधार र लोकतन्त्र मजबुत बनाउने आवाज उठाउने जिम्मेवारी उनीहरूको काँधमा आएको छ। भट्टराईले फेसबुकमा लेखेका छन् ‘पार्टी सदस्य तथा जनसमुदायको निगरानीमा रहनेछु।’ विष्टले भनेका छन् ‘संगठित प्रयत्नले पार्टीलाई सबल र देशलाई निराशाबाट मुक्त गर्नेछौँ।’
यी दुवैको विजयले इतर पक्षको आवाजको उपस्थिति देखिएको छ । भावी दिनमा उनीहरुले खेल्ने भूमिकाले आन्तरिक लोकतन्त्र र देशको राजनीतिमा गम्भीर प्रभाव पार्ने निश्चित छ।
३. महेश बस्नेतः ओलीका ‘रक्षाकवच’ बन्दा पदाधिकारीमा प्रवेश पाएका महेश बस्नेत पोलिटव्युरोबाट सिधै सचिवमा पदमा सर्वाधिक मतसहित विजयी भएका छन्। उनी ओलीका निकटतम र ‘जुझारू’ नेता मानिन्छन्। २०५४ मा २२–२३ वर्षमै गुण्डु गाविस अध्यक्ष बनेका बस्नेतको राजनीतिक यात्रा विवादास्पद छ। युथ फोर्स प्रमुख हुँदा वाईसीएलको प्रतिवाद गरेका थिए, जसले पार्टीमा ‘बाहुबल’ संस्कृतिको आरोप लगायो।
जेन–जी आन्दोलनपछि ओलीको बचाउमा अग्रपंक्तिमा उभिएका बस्नेतलाई ओलीले उच्च प्राथमिकतामा राख्दै आएका छन् । उनको आक्रमक शैलीको आलोचना हुँदाहुँदै ओलीको विश्वासले सचिव पद सुनिश्चित भयो। पार्टी वरियतामा ४६औँ स्थानमा रहेका बस्नेतलाई ओलीले स्थायी कमिटी र पोलिट्ब्युरो सदस्यहरूलाई छाडेर अगाडि बढाएका छन् ।
४. खगराज अधिकारीः ओली–शंकरको साथले सचिवसम्म बन्न सफल
कास्कीबाट पदाधिकारीमा चुनिने पहिलो नेता बनेका खगराज अधिकारी सचिवमा विजयी भएका छन्। ५ दशक लामो राजनीतिमा ओली र महासचिव शंकर पोखरेलको साथले एकपछि अर्को अवसर पाएका छन्। गण्डकीमा ओली गुट बलियो बनाउने योगदान, स्वास्थ्य मन्त्री (२०७०), गृहमन्त्री (१३ दिन), दुई पटक गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने अभूतपूर्व अवसर पाइसकेका छन् । पृथ्वीसुब्बा गुरुङसँग गुटगत प्रतिस्पर्धा हुँदाहुँदै ओली–शंकर निकटताले सचिव पद प्राप्त भएको छ । उनी ‘हुकुमी’ शैलीका लागि चर्चित नेता मानिन्छन् ।
५. शंकर पोखरेलः ओलीका रणनीतिकार
शंकर पोखरेल दोहोरिएर महासचिव बनेका छन्। ओलीका भरोसायोग्य र वैचारिक नेता, पार्टी संकटमा राजनीतिक लाइन दिने व्यक्तिका रुपमा चिनिन्छन् । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री बन्दा सुशासनका लागि प्रशंसा बटुलेका थिए । जेन–जी आन्दोलनमा ओलीको लाइन अँगालेका पोखरेलले ‘संकटमा नेतृत्व विस्थापन होइन, सुदृढीकरण’ अडान राख्दै आएका छन् । उनी नेपालमा दुई दलीय व्यवस्थाका पैरवीकर्ता र परिवारवाद अँगाल्ने संर्कीण स्वभाव रहेको भन्दै आलोचना समेत हुने गरेको छ । पहिलो कार्यकालभन्दा उनको यसपटक लोकप्रियता घटेको छ ।
६.पराजितहरूः विष्णु रिमाल, सुरेन्द्र पाण्डे र बिन्दा पाण्डे
विष्णु रिमालः ओलीका राजनीतिक व्यवस्थापक मानिने उनी ओली प्रधानमन्त्री रहँदा स्थायी रुपमा प्रमख राजनीतिक सल्लाहाकार रहेका कारण एमालेभित्रको डिपस्टेट सन्चालकका रुपमा आलोचित छन् । उनी दोस्रो कार्यकालमा उपमहासचिवमा पराजित हुनुमा पार्टी नेटवर्कमा कमजोरी तथा कार्यकर्तासँगको निरश सम्वन्ध प्रमुख कारण मानिएको छ।
सुरेन्द्र पाण्डेः उनी महासचिव पदमा दोस्रो पटक पराजित भए । यसअघि नवौं महाधिवशेनमा हाल उनकै टिमका नेता इश्वर पोखरेलसँग महासचिवमा प्रतिस्पर्धा गर्दा जम्मा ६ मतले पराजित भएका थिए । दशौं महाधिवशेनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसयता उनी ओलीसँग नीतिगत र विधिगत भिन्न राख्दै पार्टी रुपान्तरण गर्नु पर्ने पैरवी गर्दै आएका थिए । जेन–जी दमनको जिम्मेवारी ओलीले लिनुपर्ने उनको अडान र धारणाले ओलीलाई आक्रोशित बनाउँदै आएको छ । उनी केन्द्रीय सदस्यमा पनि पराजित भएर सम्भवत एमालेको सक्रिय राजनीतिलाई विश्राम दिने अवस्थामा पुगेका छन् ।
बिन्दा पाण्डेः उपाध्यक्षमा एक्ली महिला उम्मेदवार, ओलीको प्रखर आलोचक थिइन् । आन्तरिक लोकतन्त्र र भुइँमान्छेको आवाजका पक्षधर पाण्डे केन्द्रीय सदस्यमा भने निर्वाचित भएर विष्ट र भट्टराईलाई साथ दिन सक्छिन् ।
महाधिवेशन जेन–जी आन्दोलन (भदौ २०८२) पछिको सङ्कटमा भएको हो, जसले ओली सरकार ढालेको थियो। यो परिणामले ओलीको निरन्तरता र पार्टी एकताको सन्देश दिएको छ, तर इतर पक्षको सीमित उपस्थितिले आन्तरिक लोकतन्त्रको प्रश्न उठाएको छ। नवनिर्वाचित पदाधिकारीले शपथ ग्रहण गरिसकेका छन्।
एघारौं महाधिवेशनले जेनजी विद्रोहलाई एक सुनियोजित दुर्घटना र विध्वंस ठहर गरेको छ ।
प्रतिक्रिया