काठमाडौं २ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै मितिमा (पुस २६–२८, २०८२) नहुने संकेत गरेका छन्। विराटनगर विमानस्थलमा पुस २ गते सञ्चारकर्मीसँग कुरा गर्दै उनले क्रियाशील सदस्यता फारममा सिरियल नम्बर नभएको समस्याका कारण महाधिवेशन केही दिन पर सर्न सक्ने बताए।
‘अहिले त्यो नसोचौं न, हामी समयमै गरौं भन्ने हो, तर क्रियाशीलमा सिरियल नम्बर नै नभएकाले।।। तोकिएको मितिमा गर्छु भनेर भन्नु पनि अलिकति समस्या नै हुन्छ।’कोइरालाले भने ।
उनले सिरियल नम्बर नभएको फारम स्वीकार्य नहुने र यसअघि सभापति शेरबहादुर देउवालाई यो कुरा भनिसकेको तथा ती फारम क्यान्सिल भएको जानकारी दिए।
नयाँ सिरियल नम्बर भएका फारम छिट्टै वितरण हुने र कसैले पनि पुराना फारम नभर्न आग्रह गरे।

कांग्रेसले फागुन २१, २०८२ मा हुने प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन सक्ने निर्णय गरेको छ। तर क्रियाशील सदस्यता वितरण तथा नवीकरणमा विवाद (खासगरी सिरियल नम्बर नभएका करिब ४ लाख फारम रद्द भएको) ले तयारीमा ढिलाइ भएको छ। यसले महाधिवेशनको कार्यतालिका प्रभावित हुन सक्ने देखिन्छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीको कार्यविभाजन
यसैबीच प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको पूर्ण बैठक मंगलबारदेखि सुरु भई पुस २ गते सम्पन्न भएको छ। बैठकले समसामयिक राजनीतिक प्रस्ताव, साङ्गठनिक निर्णय र आगामी कार्यदिशा तय गरेको छ।

ध्रुवीकरणको आह्वानः वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरण तथा एकताको आह्वान।
निर्वाचन परिचालन तथा वार्ता संवाद समिति गठनः
संयोजकः जनार्दन शर्मा, सदस्यहरूः सन्तोष परियार, ओजस्वी भट्टराई, सत्यनारायण भगत, घनमानसिंह गुरुङ, लक्ष्मी गुरुङ
पारित गरिएका १४ बुँदे समसामयिक प्रस्तावको सार
विदेशमा रहेका नेपालीलाई त्यहीँबाट मतदान अधिकार।
१८ वर्ष पुगेकालाई उम्मेदवार बन्ने अधिकार।
निर्वाचनमा ‘नो भोट’ (राइट टु रिजेक्ट) व्यवस्था लागू।
भ्रष्टाचारमा संलग्नको सम्पत्ति राष्ट्रियकरण।
सहकारी पीडितको बचत फिर्ता, मिटरब्याजी र लघुवित्त समस्या समाधान।
संक्रमणकालीन न्याय सम्बन्धी सम्झौता कार्यान्वयन।

साङ्गठनिक निर्णयहरूः
केन्द्रीय सदस्यलाई मासिक १,००० र साधारण सदस्यलाई ५० रुपैयाँ लेबी।
आर्थिक समिति गठन (संयोजक): सुदन किराती।
‘एक प्रदेश एक उत्पादन” नीति अपनाएर उत्पादनसँग जोड्ने।
पुस १२ भित्र सातै प्रदेशमा एकता बैठक गर्ने ।
बागमती–दुर्गा सोव, गण्डकी–सन्तोष परियार, कोशी–सुदन किराती, मधेश–सुरेन्द्र जयसवाल, लुम्बिनी–ओजस्वी भट्टराई।
विभाग–आयोग प्रमुखहरूः निर्वाचन आयोग–कृष्ण शर्मा, अनुशासन–राजु नेपाली, पुनरावेदन–तिलकराम शर्मा, प्रवास विभाग–ओम शर्मा।
प्रलोपा हालै नेपाल समाजवादी पार्टी, प्रगतिशील राष्ट्रिय अभियान र अन्य समूहको एकताबाट बनेको नयाँ पार्टी हो। यो पार्टी डा. बाबुराम भट्टराईको संरक्षकत्वमा सन्चालित छ ।
प्रतिक्रिया