पोखरा/काठमाडौं, पुष १ : नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल निर्माणमा महासचिव शंकर पोखरेलको प्रभाव हाबी भएको देखिएको छ। विशेषगरी गण्डकी प्रदेशमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लगेका उम्मेदवारहरूको नाम ‘चट्चट्’ काटिएपछि उनको असन्तुष्टि चुलिएको छ। शंकरले आफू अनुकूलका व्यक्तिलाई प्यानलमा राखेपछि पृथ्वीसुब्बा निकट नेताहरू घर न घाटको अवस्थामा पुगेका छन्।
यो घटनाक्रम २०७७ को नेकपा विवाददेखि नै जोडिएको छ। त्यतिबेला शंकर पोखरेलले ओलीको कुर्सी बचाउन महत्वपूर्ण भूमिका खेलेका थिए। प्रचण्ड–माधवसँग वार्ता गरेर एकता जोगाउने प्रयासदेखि संसद् विघटनको बचाउसम्म शंकर ओलीका दाहिने हात बने। नेकपा विभाजनपछि माधव नेपाल बाहिरिएसँगै शंकरको कद एकाएक बढ्यो। दसौँ महाधिवेशनमा ओलीले उनलाई महासचिव बनाए।
यो महाधिवेशनमा पनि शंकर महासचिवमा दोहोरिने पक्का भएपछि उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए। पृथ्वीसुब्बा गुरुङले पनि शंकरको बढ्दो प्रभाव रोक्न नसकेपछि असन्तुष्ट बनेका छन्।
गण्डकीमा शंकरको ‘हात लम्कियो’
पृथ्वीसुब्बा निकट स्रोतका अनुसार उनले लमजुङका जमिन्द्रमान घले, कास्कीका भीम कार्की, मीनप्रसाद गुरुङ, मुक्ति पाण्डे, माधव बास्तोलालगायतका नाम केन्द्रीय सदस्यमा राख्ने प्रयास गरेका थिए। तर, ती नामहरू काटिए। “शंकर कमरेडले गण्डकीमा हात लम्काउनुभयो, आफू अनुकूलका व्यक्तिलाई प्यानलमा राख्नुभयो,” पृथ्वीसुब्बा निकट एक नेताले भने।
खगराज अधिकारीसँगको सम्बन्ध सुधारेर पृथ्वीसुब्बाले आफ्नो व्यवस्थापन गरे पनि उनका आश्वासन दिएका नेताहरू निराश बनेका छन्। जगत विश्वकर्मा, पोखरा उपमेयर मञ्जुदेवी गुरुङलगायतका नाम पनि यस्तै अवस्थामा परेका छन्।
एक असन्तुष्ट नेताले भने, “हामी खगराजसँग नराम्रो बन्यौं, उहाँ (पृथ्वीसुब्बा) ले खगराजसँग गला मिलाउनुभयो। अब हामी यता न उताका भयौं। सबैले आफू सुरक्षित हुन खोज्दा रहेछन्।”
शंकरको बढ्दो प्रभाव
शंकरले देशभर सञ्जाल विस्तार गरेका छन्। २०७९ चुनावको टिकट बाँडफाँडदेखि प्रदेश मन्त्री चयनसम्म उनको प्रत्यक्ष भूमिका थियो। गण्डकीमा कमजोर भए पनि खगराज अधिकारीलाई नजिक्याएर प्रभाव बढाए। प्यानलमा अधिकांश नाम शंकर र खगराजले नै तय गरेको स्रोतको दाबी छ।
एक नेताले ओलीसँग भेट्दा भनेका थिए, “महासचिवलाई भेट्नू भन्नुभयो। त्यही बेला शंकरको शक्ति छर्लंग भयो।”
परिणाममा प्रभाव ?
केन्द्रीय सदस्यमा पनि नाम नपरेका असन्तुष्टहरूले ‘विवेक प्रयोग’ गर्ने सम्भावना बढेको छ। “भित्री मनोविज्ञान एउटा छ, बाहिरी अर्को,” एक नेताले भने। यसले मतदानमा तलमाथि पार्न सक्ने विश्लेषण छ।
यो महाधिवेशनमा ओली र ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा छ। शंकरको प्रभावले ओली प्यानल बलियो देखिए पनि आन्तरिक असन्तुष्टिले परिणाम अनपेक्षित हुन सक्ने संकेत देखिएको छ।
प्रतिक्रिया