काठमाडौं २९ मंसिर । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको उम्मेदवारी दर्ता सोमबार सकिएको छ। अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भएसँगै दुवै पक्षले प्यानलगत प्रतिस्पर्धा गर्ने भएका छन् ।
उम्मेदवारी प्रक्रियामा पार्टीभित्रका पुराना सम्बन्ध, व्यक्तिगत समीकरण र गुटगत रणनीतिका रोचक कथा बाहिरिएका छन्।
विद्याको सदस्यता अवरुद्ध उनकी मितिनी मञ्जुलाई आफ्नै गुटमा
पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण रोकेका अध्यक्ष ओलीले उनकै मितिनी पोखरा उपमहानगरकी उपमेयर मञ्जुदेवी गुरुङलाई भने आफ्नो प्यानलमा समेटेका छन्। मञ्जुलाई गण्डकी प्रदेशको महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनाइएको छ। उनको समूहमा म्याग्दीकी थममाया थापा, बागलुङकी सावित्रा राना, म्याग्दीकी नरदेवी पुनलगायत छन्।
विद्या र मञ्जुले २०५९ तिर विधिवत् मितेनी साइनो गाँसेका थिए। पछिल्लो पटक पोखरा जाँदा मञ्जुले विद्यालाई होटल ग्राण्डमा भेटेकी थिइन् र पुम्दीकोटको विशाल शिवमूर्ति दर्शन पनि गरेकी थिइन्। विद्याको सदस्यता रोकिएपछि मञ्जुले मन दुखाएको निकटहरू बताउँछन्। उनले महाधिवेशनमा केन्द्रीय सदस्य बन्न इच्छुक नभएको पनि सुनाएकी थिइन्। तर ओली पक्षले उनलाई गुटमा सामेल गरेको छ।
युवासंघका पुराना प्रतिद्वन्द्वी फेरि सचिवमा भिड्दै
२०६६ को युवासंघ महाधिवेशनमा अध्यक्षका लागि भिडेका महेश बस्नेत र इन्द्रलाल सापकोटा १६ वर्षपछि फेरि सचिव पदमा प्रतिस्पर्धा गर्दैछन्। बस्नेत ओली पक्षबाट र सापकोटा पोखरेल पक्षबाट उम्मेदवार बनेका छन्।
२०४७ मा ओलीको नेतृत्वमा गठित प्रजातान्त्रिक राष्ट्रिय युवासंघ (पछि युवासंघ) मा बस्नेत युथ फोर्स कमान्डर बनेर चर्चित भए। २०६६ को लहान महाधिवेशनमा बस्नेतले ६९९ मत ल्याएर अध्यक्ष जित्दा सापकोटाले ५९७ मत पाएका थिए।
बस्नेतको उकालो यात्रा जारी रह्यो भने सापकोटा बागलुङ फर्के। २०७३ मा जिल्ला अध्यक्ष बने, प्रदेश सांसद निर्वाचित भए। पार्टी विभाजनका बेला उनी अन्तिसम्म माधव नेपाल पक्षमा रहे पनि एमालेमै बसे। यसपटक फेरि उनी ओलीको व्यक्तिवादी शैलीप्रति असहमति राख्दै पुस्तान्तरणको माग बोकेर उनी पोखरेल पक्षबाट सचिवमा उठेका छन्।
बस्नेतलाई ओलीले जेनजी आन्दोलनपछि गुन्डुमा आश्रय दिएबापत सचिव पदको ‘पुरस्कार’ दिएका छन् । गण्डकीबाट ओली पक्षका पद्मा अर्याल र खगराज अधिकारी पनि सचिवका उम्मेदवार छन्।
रविन्द्र पत्नी विद्या भट्टराईले उम्मेदवारी नदिने
पूर्वमन्त्री तथा चर्चित नेता रविन्द्र पत्नी विद्या भट्टराईले दुवै पक्षको ध्रुवीकरणका कारण उम्मेदवारी नदिने बताएकी छन्। “प्यानलाइज भयो। साझा मान्छे सबैले मन पराउँछन्। प्यानलाइज भएको बेला किन उठ्नु रु” उनले भनिन्। एक महिनाअगाडि नै उम्मेदवारी नदिने जानकारी गराएकी थिइन्। कास्कीका कार्यकर्तालाई “स्वतन्त्र भएर हिँड्ने” बताएकी छन्।
सुवास पुत्र सुहाङ नेम्वाङ गुटमा समेटिएनन्
सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङ ओली प्यानलमा नपरेपछि स्वतन्त्र रूपमा केन्द्रीय सदस्य लड्ने तयारीमा छन्। जेनजी आन्दोलनपछि युवा कोटा तोकिए पनि उनी संस्थापन प्यानलमा परेनन्।
प्रचण्ड छाडेर आएका जीवन गौतम ओली प्यानलमा
माओवादी परित्याग गरी एमाले आएका जीवन गौतमलाई ओलीले खुलातर्फ केन्द्रीय सदस्य उम्मेदवार बनाएका छन्। २०७९ स्थानीय चुनावमा घोराही मेयर टिकट नपाएपछि प्रचण्ड छाडेका थिए।
ओली प्यानलमा महिला कोटामा झाँक्री र कोमल वली
ओली प्यानलबाट महिला कोटामा ५२ जना उम्मेदवार छन्। सूचीमा रामकुमारी झाँक्री, कोमल वली, एलिजा गौतम, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता भुसाल, निरुदेवी पाल, सिता सिग्देललगायत छन्।
झाँक्री सचिव पदकी आकांक्षी भएपनि ओलीले केन्द्रीय सदस्यमै चित्त बुझाउन लगाएर पोलिटव्युरोमा मनोनित गर्ने आश्वासन दिएका छन् ।



प्रतिक्रिया