एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएर ५ उपाध्यक्ष राख्ने निर्णय

काठमाडौं २८ मंसिर । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनको बन्द सत्रअघि केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद भने हटाउने निर्णय गरेको छ ।

बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अबको संरचना संख्याबारे पत्रकारलाई जानकरी गराए ।

बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ । केन्द्रीय कमिटीको संरचनामा मात्र हेरफेर भएको गौतमको भनाइ छ ।

३ महिनाअघि गोदावरीमा भएको विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी विधि अनुसार चल्नुपर्नेमा जोड दिएका छन् ।

आइतबारको केन्द्रीय कमिटी बैठकमा नेता विष्टले हाम्रो क्षमता संख्याले निर्धारण नगर्ने भन्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘यदि विधान संशोधन हुने हो भने अध्यक्ष र महासचिव मात्र राखेर जाऔं । हामी पनि पद बाहेक काम गरौं, पार्टीलाई सामूहिकतामा चलाऔँ न, विधिमा चलाऔं न, यो २ महिनाको कुरा मात्र होइन ।’

उनले अगाडि भने, ‘विचार नमिल्न सक्छ । फरक विचारलाई पनि सम्मान गर्ने हाम्रो संस्कार हो ।’

‘हामीले राखेको कुरामा आग्रह र पूर्वाग्रह राख्नु पर्दैन, विचारलाई बन्देज गरिएको भए जबज पनि स्थापित हुन्न थियो ।’

आजकल यो पार्टीमा के हुँदै छ भन्ने कुरा मिडियामा पहिला आउने र त्यसपछि कमिटीमा आउने उनले बताए ।

उनले भने, ‘चिनीया कम्युनिस्ट पार्टीको ७ सदस्यीय स्थायी कमिटी छ । त्यति ठूलो जनसंख्याको पार्टी हो त्यो । के हाम्रो क्षमता संख्याले निर्धारण गर्ने हो ? होईन कमरेडहरू ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति