ओलीको अठोटः ‘एमाले अजम्वरी छ–फेरि उठ्नेछौं,’ तर पनि अलमल कायमै

काठमाडौं २८ मंसिर । भक्तपुरको सल्लाघारीमा फैलिएको खुला मैदानमा हजारौं कार्यकर्ताको जनसागरबीच नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन उद्घाटन भएको छ। यो महाधिवेशन पार्टीको नियमित प्रक्रिया मात्र नभएर जेजनी विद्रोहले उत्पन्न गरेको राजनीतिक उथलपुथलपछि एमालेले आफूलाई पुनर्जीवित र बलियो बनाउने सन्देश दिने माध्यम पनि बनेको छ। अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै भनेका थिए, ‘धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर ओर्लिएको छ। म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ।’ यो घोषणाले पार्टीका नेताहरू र कार्यकर्ताहरूमा नयाँ उत्साह भरेपनि आमरुपमा ओलीप्रतिको संशय मेटिन सकेको छैन ।

राजनीतिक सन्दर्भ
नेपालको राजनीति हालै जेनजी विद्रोहो प्रभावबाट गुज्रिरहेको छ। यो आन्दोलनले राजनीतिक दलहरूमाथि गम्भीर प्रश्न उठाएको थियो। आन्दोलन दमनको आरोप लागेको सरकारको नेतृत्व गरेका ओली र एमालेले आन्दोलनपछि आफ्ना गतिविधि अघि बढाउने क्रममा सवैभन्दा ठूलो राजनीतिक भेला तथा पार्टीहरु मध्ये सवैभन्दा ठूलो घटनाका रुपमा महाधिवेशन गरेर जबाफ दिएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन भएपछि मात्र दलहरूले सक्रियता बढाएको सन्दर्भमा ओलीले आफ्नो सम्बोधनमा तीन महिनाअगाडिका ‘कहालीलाग्दा दिनहरू’ सम्झँदै भने, ‘देश युद्धभूमिजस्तै जलिरहेको थियो। संविधान, लोकतन्त्र र राजनीतिक दलहरूमाथि भीषण हमला भएको थियो। पुराना पार्टीहरू सकिए, नेताहरूका दिन गए भन्ने भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो।’

पहिलो, एमाले जनताको साथी हो र जनताको साथमा छ। यो जनसागरले त्यो प्रमाणित गरेको छ। दोस्रो, राष्ट्र, राष्ट्रिय एकता र सार्वभौम सत्ताको रक्षक शक्ति एमाले हो। तेस्रो, संविधान र लोकतन्त्र जोगाउने एमालेको संकल्पलाई जनताले साथ दिनेछन्।

जेनजी आन्दोलनले राजनीतिक दलहरूको सान्दर्भिकता समाप्त भएको भन्ने धारणा फैलाएको थियो। तर एमालेले यसलाई चुनौती दिँदै सडक प्रदर्शनहरूको शृंखला नै सुरु गरेर महाधिवेशनको जनसभाबाट जबाफ दिएको छ । गत कात्तिक दोस्रो साताबाटै ओलीको अस्थायी निवास गुन्डुमा बसेको सचिवालय बैठकले सडक प्रदर्शनबाट राष्ट्रिय सन्देश दिने निर्णय गरेको थियो। यसअनुसार २२ कात्तिकमा वडा स्तरमा, २५ कात्तिकमा पालिका स्तरमा, २९ कात्तिकमा जिल्ला स्तरमा र ६ मंसिरमा भृकुटीमण्डपमा जनप्रदर्शन भएका थिए। यी प्रदर्शनहरूले पार्टीको पक्षमा माहोल सिर्जना गर्ने उद्देश्य राखेका थिए। महासचिव शंकर पोखरेलले गत १७ कात्तिकमा भनेका थिए, ‘२७ गते नेपालको इतिहासमै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्दैछौं। हामी देखाउन चाहन्छौं, जनता कसको साथमा छ।’

नेशनल भोलियन्टर फोर्सको ब्यानरमा महेश बस्नेतजस्ता नेताहरूले गरेका प्रदर्शनहरू भने पार्टीका लागि प्रत्यूत्पादक बनेको आन्तरिक र बाह्य बहस र विवाद भने जारी नै छ। उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा जनपरिचालन समिति गठन भएको थियो। यो समितिले बागमती प्रदेशका जिल्लाहरूमा वडावडासम्म निम्तो पत्र बाँडेको थियो।

जनप्रदर्शनका लागि राजधानीका तीन जिल्ला र बागमती प्रदेशलाई प्राथमिकतामा राखिएको थियो। प्रदेश इन्चार्ज राजन भट्टराई, अध्यक्ष कैलाश ढुंगेलजस्ता नेताहरू जनसहभागिता जुटाउन खटिएका थिए। बागमतीबाहेक मधेश, गण्डकी र कोशी प्रदेशलाई पनि दायित्व दिइएको थियो। राजधानीबाहिरबाट मान्छे ल्याउन सम्पर्क मञ्चहरूले संयोजन गरेका थिए। एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई कार्यकर्ता ल्याउने विशेष जिम्मेवारी दिइएको थियो। जनसंगठनहरूको लगातार बैठक राखेर मान्छे जुटाउने निर्देशन दिइएको थियो। ओलीकै नामबाट निम्तो पत्र बाँडिएको थियो ।
तर, एमाले नेतृत्वले दाबी गरेजस्तो जनसहभागिता नभएको ओलीले नै स्वीकारे। उनले सल्लाघारीको सभालाई ‘प्रतिनिधित्व’को संज्ञा दिँदै भने, ‘नेपालका प्रत्येक वडा–वडा, टोल–टोल, हिमाल–पहाड–तराई र प्रवाससम्म छरिएको एमालेको महासागरका अगाडि यो सभामा जम्मा भएका हामी केही थोपा मात्रै हौं। तर यिनै थोपाभित्रको साहस, भरोसा, माया, अनुशासन र उत्साहसहित उभिएको यो उपस्थिति गर्वको विषय हो।’

मुख्य तीन सन्देश
एमालेका नेताहरुका अनुसार सल्लाघारीबाट तीन मुख्य सन्देश गएका छन्। पहिलो, एमाले जनताको साथी हो र जनताको साथमा छ। यो जनसागरले त्यो प्रमाणित गरेको छ। दोस्रो, राष्ट्र, राष्ट्रिय एकता र सार्वभौम सत्ताको रक्षक शक्ति एमाले हो। तेस्रो, संविधान र लोकतन्त्र जोगाउने एमालेको संकल्पलाई जनताले साथ दिनेछन्।

अन्य दलका नेताहरूबाट पनि एमालेलाई समर्थन नै गरेको देखियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबाहेक अन्य नेताहरूले मुख्य दलहरू मिल्नु र जोगिनुको विकल्प नभएको पैरवी गर्दै शुभकामना दिएका थ्एि । ओलीले सम्बोधनको अन्त्यमा पार्टीको आन्तरिक एकतामा जोड दिए। महाधिवेशनको ‘एघार’ लाई प्रतीक मान्दै उनले भने, ‘हामी प्रत्येक एक–एमालेले, अर्को एक–एमालेसँग हात मिलाउँदा, छुट्टा–छुट्टै एक रहँदैनौं, एउटै एघार बन्छौं, बलियो शक्ति बन्छौं। तर एउटा एमाले र अर्को एमालेबीच रिसाए, एकअर्कामाथि घात–प्रतिघात गरेमा साधरण एक मात्र रहन्छ।’

नेतृत्व चयनमा रस्साकसी
महाधिवेशनसँगै एमालेमा नेतृत्वका लागि तीव्र रस्साकसी सुरु भएको छ। भृकुटीमण्डपमा हुने बन्दसत्रमा निर्वाचन कार्यतालिका सार्वजनिक हुनेछ। अध्यक्षमा ओलीविरुद्ध ईश्वर पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन्। दुवै पक्ष छुट्टाछुट्टै प्यानल निर्माणमा जुटेका छन्। यस पटक पदाधिकारीसहित केन्द्रीय कमिटीको आकार खुम्च्याइएका कारण ओलीलाई संस्थापनका नेताहरू व्यवस्थापन गर्न चुनौती दिएको छ।

एमालेको विधानअनुसार अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना हुन्छन्। केन्द्रीय कमिटी २५१ सदस्यीय हुन्छ। ओलीले विधान संशोधनमार्फत उपाध्यक्ष र सचिवको संख्या बढाउने तयारी गरेपनि वरिष्ठ उपाध्यक्ष पोखरेलको विरोधपछि हालकै विधान कार्यान्वयन गर्ने निर्णय भएको छ। उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘विधान महाधिवेशनको सर्वोच्चतालाई मान्ने निर्णय भयो। धेरै योग्य नेता पदाधिकारीमा दाबेदार छन्, तर व्यवस्थापन सहजै हुन्छ।’

ओलीनिकट स्रोतका अनुसार, १५ पदाधिकारीका लागि ५० जनाभन्दा बढी आकांक्षी छन्। महासचिवमा शंकर पोखरेललाई दोहोर्‍याउने लगभग निश्चित देखिन्छ । यसो हुँदा पृथ्बी सुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उपाध्यक्षमा लैजानुपर्ने हुन्छ। हालका उपाध्यक्षहरू रामबहादुर थापा, गुरु बराल र विष्णु पौडेल पनि दोहोरिन चाहन्छन्। सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल र रघुवीर महासेठ उपमहासचिवका दाबेदार छन्।सचिवका लागि अन्य आकांक्षीहरूमा महेश बस्नेत, खगराज अधिकारी, भानुभक्त ढकाललगायत छन्।

पोखरेल पक्षमा सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य छन्। उनीहरू संस्थापनको प्यानल हेरेर निर्णय गर्ने तयारीमा छन्। सचिव योगेश भट्टराईलाई महासचिवको उम्मेदवार बनाउने योजना छ।

युवा प्रतिनिधित्वको माग
जेनजी आन्दोलनपछि पार्टीमा युवा प्रतिनिधित्व बढाउने आवाज उठेको छ। महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका करिब ४०० युवा छन्। केन्द्रीय सदस्य रचना खड्का भन्छिन्, ‘केन्द्रीय कमिटीमा युवा क्लस्टर हुनुपर्छ। अहिले युवा प्रतिनिधित्व कमजोर छ।’ विष्णु रिजालले पार्टी संगठनको ‘जाम’ खोल्नुपर्ने बताउँदै आइका छन् । ।

निर्वाचन प्रक्रिया
केन्द्रीय कमिटी निर्वाचनमा कम्तिमा एक तिहाई महिला र विविधता प्रतिविम्बित हुने प्रावधान छ। पुस १ गते मतदान गर्ने तयारी छ।ू मतदानमा २०–२५ मिनेट लाग्ने अनुमान छ। २,२६२ प्रतिनिधि छन्, र गणना दुई–तीन घण्टामा सकिन्छ। निर्वाचित कमिटीले शपथ लिएपछि पुरानो कमिटी विघटन हुन्छ।

अन्य दलहरूको एमालेप्रतिको प्रतिक्रिया
महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड गएनन्, तर टेलिफोनबाट शुभकामना दिए। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको पक्षमा रहेको बताए। नेकपाका देव गुरुङले वामपन्थी एकीकरणको विकल्प नभएको भन्दै मिल्न आग्रह गरे । रास्वपाका कबिन्द्र बुर्लाकोटीले लिखित घण्टीवाला शुभकामना दिएकोमा नेकपा माओवादीका नेत्रविक्रम चन्दलगायतले भने एमलेले राष्ट्रवादको च्याम्पिएनको संकेत गर्द उत्साहजनक शुभकामना दिए।

फेरि पनि अलमल कायमै
ओलीले सरकारलाई चुनाव नचाहेको आरोप लगाए। उनले २३ र २४ भदौका घटनालाई ‘सुनियोजित षड्यन्त्र’ भने। ‘जेनजीका माग संसद्बाट सम्बोधन गर्न सकिन्थ्यो,’ उनले भने- ‘प्रतिनिधिसभा पुनःस्थापना एमालेको मुख्य एजेन्डा हो।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति