काठमाडौं, २७ मंसिर । जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया सम्पन्न, सिसियुमा सार्ने तयारी
काठमाडौँको दक्षिण क्षेत्रमा अवस्थित चम्पादेवी जंगलमा हाइकिङ गएका बेला अचानक हृदयाघात भएर ढलेपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएका भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको शल्यक्रिया ग्रान्डी अस्पतालमा सम्पन्न भएको छ।अस्पताल स्रोतका अनुसार उनको मुटुको देब्रे नशामा ‘म्यासिभ हार्टअट्याक’ भएको हो। ‘आकस्मिक रूपमा उहाँको मुटुमा स्टेन राखेर ब्लकेज खोलिएको छ,’ उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिनुभयो।राजदूत श्रीवास्तवको शल्यक्रियामा चिकित्सक नरेश महर्जन र रञ्जित शर्मासहितको टिम संलग्न थियो। ‘सफलतापूर्वक उहाँको मुटुमा स्टेन राखिएको छ, अब सिसियुमा सार्ने तयारी छ,’ एक चिकित्सकले भन्नुभयो । शनिबार दिउँसो चम्पादेवीको जंगलमा हाइकिङका क्रममा अचानक लडेपछि उनलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको थियो। उनलाई तत्काल उपचारका लागि ग्रान्डी अस्पताल पुर्याइएको थियो। उहाँसहित तीन जनाको टोली शनिबार चम्पादेवी जंगल भ्रमणमा गएका बेला राजदूत श्रीवास्तव अचानक लडेका थिए। उनी लडेकोबारे नेपाली सेनाले जानकारी प्राप्त गरे पनि लोकेसन ट्र्याक गर्न धेरै बेर लागेको सेनाका एक उच्च अधिकारीले जानकारी दिए। सेनाका अनुसार ठूलो संख्यामा नेपाली सेनाका सैनिकहरू उनीहरू तीन जनालाई खोज्न परिचालन भएका थिए।
‘बल्लतल्ल लोकेसन ट्र्याक भएपछि हामीले उहाँको हेलिकप्टरबाट उद्धार गर्यौँ,’ उच्च स्रोतले भन्यो। उहालाई हेलिकप्टरबाट तत्काल उद्धार गरेर उपचारका लागि टोखास्थित ग्रान्डी अस्पताल पुर्याइएको थियो।
जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया सम्पन्न, सिसियुमा सार्ने तयारी
प्रतिक्रिया