ओलीलाई भीम रावलको चेतावनीः सिंहदरबारमा जल्दा किन भागेको ?

काठमाडौं २७ मंसिर । नेकपा नेता तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले केपी शर्मा ओलीको आलोचना गर्दै युवा पुस्ताको आवाजलाई बेवास्ता गरेको र दमन गरेको आरोप लगाए।
रावलले सिंहदरबारमा आगलागी हुँदा ओलीको भूमिका र कर्णालीका समस्याबारे कुरा उठाए, जसमा कर्णाली राजमार्गको अवस्था पनि थियो।
उनले अपर कर्णाली जलविद्युत आयोजनाबारे जीएमआरको आलोचना गर्दै कर्णाली र सुदूरपश्चिमका जनतालाई धोका दिएको बताए। शनिबार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभामा बोल्दै उनले नयाँ पुस्ता ९जेनजी० को आवाज सुन्नुको साटो दमनमा उत्रिएको र आन्दोलन चर्किएपछि भागेको आरोप लगाए ।

‘केपी ओलीलाई देशको नेता हुँ भन्नु लाज लाग्नुपर्ने हो

सिंहदरबारमा आगलागी भएको सन्दर्भ कोट्याउँदै रावलले प्रश्न गरे, ‘सिंहदरबारमा आगो लाग्दा प्रधानमन्त्री को थियो ? देश सङ्कटमा पर्दा वा आगो लागेका बेला भाग्ने प्रवृत्ति नेतामा हुन नहुने उनको तर्क थियो ।

ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका रावलले भने, ‘केपी ओलीलाई देशको नेता हुँ भन्नु लाज लाग्नुपर्ने हो । देशमा आगो लागेका बेला भाग्ने ? जेनजीका माग सुन्नुपर्नेमा उल्टै दमन गर्ने अनि आन्दोलन भएपछि भाग्ने ? हाम्रा कलिला युवाहरूको आवाजले केपीजी भाग्नुभयो, यो लज्जास्पद र शर्मनाक भयो । अझ अहिले पनि म शक्तिशाली हुँ भन्न सुहाउँदैन ।’

नेता रावलले आफ्नो सम्बोधनका क्रममा कर्णाली प्रदेशका जल्दा बल्दा समस्याहरू पनि उठाए । उनले कर्णाली राजमार्गको दयनीय अवस्था सुधार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । कर्णालीको स्याउ, यार्सागुम्बा र जडीबुटीको सही सदुपयोग र बजारीकरण हुन नसकेको उनको भनाइ थियो ।

विशेष गरी अपर कर्णाली जलविद्युत आयोजनाको सन्दर्भमा बोल्दै उनले भारतीय कम्पनी जीएमआरको आलोचना गरे । ‘अपर कर्णालीलाई जीएमआरको जिम्मा लगाइयो तर अहिलेसम्म काम भएको छैन,’ उनले भने, ‘काम नगरी ओगटेर राख्नु भनेको कर्णाली र सुदूरपश्चिमका जनतालाई धोका दिनु हो ।’

रावलले मन्तव्यको क्रममा एउटा देउडा गीत पनि सुनाएः

लहर उठ्यो कर्णाली हेर जनता जागेछन्

देशभक्तहरू लामबद्ध भए अगाडि लागेछन् ।

बदल्छ अब कर्णाली आफ्नो पछौटेपनलाई

राष्ट्रको साथमा समृद्धि ल्याउँछ अवश्य भन्नलाई ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति