‘योजनावद्ध षडयन्त्रकारी हिंसा’लाई एमालेले स्वीकार गर्दैन : ओली

काठमाडौं २७ मंसिर,। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धबाट केही परिवर्तन नहुने भन्दै जेनजी विद्रोहलाई योजनावद्ध षडयन्त्रको हिंसा भएको बताएका छन् ।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

वर्तमान सरकार हिंसाबाट आएको भन्दै आफूहरू नस्वीकारेको र नस्वीकार्ने उनले प्रष्ट पारे ।

‘हामी हिंसा या युद्ध समय परिवर्तनको साधन हुन सक्दैन, हुन हुँदैन भन्छौं । जनताको मन जितेर पनि शान्तिपूर्ण ढंगले पनि समाज बदल्न सकिन्छ,’ ओलीले भने, ‘हामी भन्छौं अनि प्रहार हुन्छ । विविधता र बहुलता हाम्रो सम्पदा हो दूरी बढाउने विषय होइन भन्छौं ।’

विविधतामा एकता हाम्रो मूल मन्त्र हो भन्दा नै आफूहरूमाथि प्रहार भएको उनको भनाइ छ ।

‘विविधतामा एकता हाम्रो मूल मन्त्र हो भन्छौं अनि हामीमाथि प्रहार हुन्छ । संविधान संशोधन गर्ने अधिकार हाम्रो हो भन्छौं, हाम्रो स्वतन्त्रताको प्रयोग, सुउपयोग हामी गर्छौं भन्छौं,’ उनले भने ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले भदौ २३ र २४ गतेको घटनापछि आफू केही समय सुरक्षित स्थानमा गएर बसेको बताएका छन्।

पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै आफूलाई हेलिकप्टर चढेर भाग्यो भन्दै गरेको प्रचारप्रति विमति राखे।
महाभारतको कथा सुनाउँदै उनले, ‘हामी सुरक्षित स्थानमा रहेर समीक्षारत थियो। नेता, समाजका अगुवा मारिउन् भन्नेहरूले आज व्यङ्ग्य गरेको सुनिन्छ, हेलिकप्टर चढेर भागे।’

उनले भदौ २३ र २४ को महाविनाश बिर्सन नसकिने भन्दै दोषीलाई कारबाही गर्न माग गरे। असामान्य परिस्थितिमा थप क्षति नहोस् भनेर आफूले राजीनामा दिएको स्मरण गरे।

उनले थपे, ‘देश अन्योलमा थियो, संवैधानिक बाटोबाट निकास दिन हामीले विकल्पहरू राख्यौँ। यदि संसद्बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने भए दलहरूबीच सहमति हुनुपर्छ, संसदमार्फत् संविधान संशोधन हुनुपर्छ, संसद् विघटन गर्न हुँदैन भन्ने अडान थियो। तर देशलाई उल्टो दिशामा लगियो।’

उनले असंवैधानिक सिफारिसमा भएको विघटन अस्वीकार्य भएको भन्दै पुनर्स्थापनाको विकल्प नभएको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति