काठमाडौं २५ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न महाधिवेशनका सन्दर्भमा सम्पादकहरूसँग विस्तृत अन्तरक्रिया गरेका छन् । २३–२४ भदौ २०८२ मा भएको जेनजी आन्दोलन पछि बालुवाटार छाडेको प्रसङ्ग, वर्तमान सुशीला कार्की नेतृत्वको सरकारको आलोचना, जेनजीसँगको सम्झौता, तथा एमालेको आगामी ११औँ महाधिवेशनसम्बन्धी विषयमा खुलेर कुरा गरेका छन्।

१. बालुवाटारबाट ‘भागेको’ प्रसङ्गः लाक्ष्यागृह बनाएको थाहा पाएको
ओलीले भदौ २४ गते सेनाको हेलिकप्टरमा बालुवाटार छाडेको विषयलाई ‘भागेको’ नभई रणनीतिक निर्णय भनेका छन्। उनले महाभारतको लाक्षागृह प्रसङ्ग जोड्दै भनेः
‘उसबेला लाक्षागृहभित्र हालेर पाण्डवहरूलाई डढाएर मार्न खोजेका थिए। एकातिरबाट आगो लगाए उनीहरू अर्कातिरबाट भागे। भागेकै हुन् पाण्डवहरू। काँतर भएर भागेको होइन। बुद्धि पुर्याएर भागेको हो।’
‘बहादुर भएर हातमा धनुषबाण समातेर, गधा लिएर साहसका साथ ‘म जल्छु तर भाग्दिनँ’ भनेको भए उनीहरू जल्थे। जल्न हुँदैनथ्यो। त्यस्तो परिस्थिति आउँदो रहेछ। दुष्टहरूको घेराबन्दी तोड्न पर्ने रहेछ।’
उनले थपेः ‘बालुवाटार नछाड्न सक्थेँ। त्यतिबेला के–के खुवाएर बेहोस बनाइएका मानिसहरू ल्याएर आक्रमण गर्न आएका थिए। आत्मरक्षाका लागि प्रहार गर्दा हताहत हुने भयो। हताहतभन्दा ओल्लो घरबाट पल्लो घर सर्नु राम्रो होइन र ?’
ओलीले आफू केयरटेकर प्रधानमन्त्री कै हैसियतमा रहेर भदौ २६ गते नयाँ प्रधानमन्त्री सिफारिस गरेको र राष्ट्रपति तथा प्रधानसेनापतिसँग भेटेरै काम गरेको बताए। ‘भागेको ठाउँबाट मैले सिफारिस पठाएँ ? यो भागेको भयो ?’
बच्चाहरूले लखेट्दा भागिदिए उनीहरू खुशी हुने उदाहरण दिँदै भनेः ‘उसले खेदेको जस्तो गर्छ, आफू कुद्दिन पर्छ। डरायो, भाग्यो भन्छन्, खुशी हुन्छन् बच्चाहरू।’
भदौ २३–२४ मा जेनजी आन्दोलन चर्किएपछि प्रदर्शनकारीहरू बालुवाटार पुगेका थिए। ओलीले राजीनामा दिएर सेनाको हेलिकप्टरमा मकावानपुरको सुपारीटार ब्यारेक गएका थिए। असोज २ गते उनी गुण्डु मा डेरा सरेका छन्।

२. जेनजीसँगको सम्झौता र वर्तमान सरकार असंवैधानिक
ओलीले सुशीला कार्की नेतृत्वको सरकार र जेनजीबीच भएको सम्झौतालाई ‘कलाबिहीन भद्दा नाटक’ भनेका छन्ः
उनको भनाइ यस्तो थियो:
हिजोको एउटा कलाविहीन थियो । नाटकको पटाक्षेप कसरी भो त्यो दृश्य पनि सम्झना होला । जति कलाविहीनताका साथ नाटकको पर्दा उठेको थियो, त्यही कलाविहीनताका साथ पटाक्षेप भएको छ । त्यसमा धेर भन्नुपर्छ र ? यो सरकार कुनै त्यस्तो सम्झौता गर्नै सक्दैन । कहाँबाट म्यान्डेट पायो सरकारले ? कसैले भोट हालेर चुनेको सरकार हो ? गोबर लगाएर टाँसेको होइन ? त्यस्तो सरकारले पनि कोको बोलायो, कसलाई कागज थमायो, यो कागज लिएर आऊ भन्यो । रिहर्सलमा सिकाएको बोल्दै जाँदा केटाकेटीले बिगारे । सिकाएको पाठ बिग्रियो । गडबड भयो । त्यहीँ अस्वीकार भयो । उनीहरूले नै च्याते त्यो । हामीले त्यस्ता फजुल कागजहरूलाई कुनै मान्यता दिने भन्ने प्रश्नै हुँदैन । यो कलाविहीन भद्दा नाटक हो ।
‘उहाँहरूको क्रियाकलाप सम्पूर्ण रूपमा अनधिकृत, अनुचित, असंवैधानिक, गैरकानुनी, पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण छ। सरकारको रवैया यस्तो हुनुहुँदैन।’
‘मलाई कमजोरी स्वीकार्दैन भन्छन्, यति कमजोरी चाहिं भयो, हामी अलिक बढ्तै राज्यसंरचनाप्रति विश्वस्त भयौं । त्यो कमजोरी भयो ।’
राष्ट्रपतिले चुनाव मात्र गर्न तोकेको स्मरण गराउँदै भनेः ‘कोसँग रिस उठेको छ त्यस आधारमा प्रतिष्ठान मास्न खोज्ने?’
फागुन २१ पछि २२ पनि आउने चेतावनी दिँदै उनले भने ‘फागुन २१ गतेपछि फागुन २२ गते पनि आउँछ। समय त्यहीँ रोकिने होइन। ध्यान राखेर, होस सम्हालेर चल्न उहाँहरूलाई सचेत गराउन चाहन्छु।’
सम्झौताबारे ओलीको टिप्पाणी छः ‘यो सरकारले प्रणाली र व्यवस्थाबारे सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ?’
जेनजी आन्दोलनपछि बनेको सरकारले राजनीतिक नेताहरूका प्रतिष्ठान–कोष राष्ट्रियकरण गर्ने सम्झौता गरेको छ । ओलीले यसलाई असंवैधानिक भनेका छन्।
३. सुशीला कार्की सरकारको व्यङ्ग्यः नागपञ्चमीको गोबरले टाँसेको फोटो
ओलीले वर्तमान सरकारलाई कडा व्यङ्ग्य गर्दै भनेका छन्ः
‘यो सरकार त नाग पञ्चमीमा गोबरले टाँसेको नागको फोटो जस्तै हो। कसले ल्याएर टाँसिदियो, थाहा छैन, यसको कुनै भविष्य छैन।’
सरकार आगजनी, तोडफोड र लुटमारको जगमा बनेको भन्दै असंवैधानिक भएको आरोप फेरि पनि दोहराएका छन् ।
एमाले कमजोर भएको हल्लालाई अस्वीकार गर्दै उनलेभ भनेः ‘एमाले सूर्य ग्रहण लागे जस्तो एकछिन छायामा परेको मात्र हो, भोलि फेरि उज्यालो भएर आउँछ।’
सुशीला कार्की (पूर्वप्रधानन्यायाधीश) लाई जेनजी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री बनाइएको हो। उनी नेपालकी पहिलो महिला प्रधानमन्त्री हुन्।
४.एमालेको ११औँ महाधिवेशन र नेतृत्व
ओलीले महाधिवेशनमा सर्वसम्मत नेतृत्व को पक्षमा रहेको बताएका छन् ।
‘हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो। सर्वसम्मतको प्रयास गर्नु लोकतान्त्रिक अभ्यास विपरीत होइन। तर सहमति भएन भने म पनि हट्नुपर्ने हुन सक्छ। म थपिनेमा पर्दिनँ, निर्वाचित हुनेमा पर्छु।’
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उम्मेदवारीबारे ओली भने ‘सहमति भनेको करकाप होइन। कसैले लड्छु भन्छ भने रोक्ने कुरा भएन। स्वस्थ प्रतिस्पर्धालाई स्वागत गर्छु।’
पार्टी विभाजनपछि एमालेमै बसेका (१० बुँदे पक्षधर) नेताहरूप्रति व्यंग्य गर्दै उनले भनेः ‘उहाँहरू एमाले नै हुनुहुन्छ। भेदभाव नगरिने, तर उनीहरुको आगामी हैसियत र स्थान महाधिवेशन प्रतिनिधिले निर्धारण गर्छन्। बाहिर उम्मेदवारी घोषणा गरेर मात्र हुँदैन, हलमा मन जित्नुपर्छ।’
सम्पादकहरुले सोधेका प्रश्नका जबाफ दिने क्रममा छिमेकी (भारत–चीन) सँग सन्तुलित सम्बन्धको नीति रहने दोहोर्याए।
महाधिवेशन नजिकिँदैछ। ओली तेस्रो कार्यकालको तयारीमा छन्, तर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनलाई मन परेको छैन ।
उनका यस्ता अभिव्यक्तिहरूले ओलीको आक्रामक शैली र जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनप्रतिको असन्तुष्टि तथा पार्टीभित्रको मतभेदको अवस्थालाई अरु बढी मुखर बनाइदिएको छ ।

उनले दुई ठूला पार्टीका नेताबीच देशको पछिल्लो परिस्थितिका बारेमा छलफल भएको बताए ।
उनले भने, “दुईवटा पार्टीका नेताबीच भेट हुँदा देशको चिन्ता गरेनन् होला ? हामीबीच तोरीको बीउ छरेजस्तो हैन, बकुल्लाको बीउ रोपेजस्तो कुरा भयो । बकुल्लाको बीउ रोपेका छौँ हामीले ।”
देशको पछिल्लो अवस्था र चुनौतीका विषयमा छलफल गरिनु स्वाभाविक रहेको उनले बताए ।
ओली र देउवाबीच यही मंसिर १९ गते महाराजगन्जमा भेटवार्ता भएको थियो ।
प्रतिक्रिया