ट्रम्पवाद विश्वव्यापी संस्कृति युद्ध हो


सेप्टेम्बर २ मा जब अमेरिकी सैन्य विमानले क्यारेबियनमा एउटा डुङ्गालाई निशाना बनायो र त्यसपछि डुबेका र बाँकी रहेका व्यक्तिहरूलाई समाप्त पार्न आक्रमण गर्‍यो, यो अमेरिकी साम्राज्यवादी दण्डहीनताको नयाँ दाबी थियो। तर यो एकदमै अस्पष्ट पनि थियो, किनकि विश्वको सबैभन्दा महँगो सैन्य शक्तिबीच र त्यो सानो–तिनो लक्ष्यबीच स्पष्ट असमानता थियो, जसलाई पेन्टागनले कुनै प्रमाण नदिईकनै लागूऔषध बोकेको दाबी गरेको थियो। के यो साँच्चै ट्रम्प प्रशासनले आफ्नो नयाँ नामकरण गरिएको ‘युद्ध विभाग’ ले गर्नुपर्ने काम हो भन्ने विश्वास गरेको थियो ?

बिहीबार पेन्टागनले बहुप्रतिक्षित सन् २०२५ को राष्ट्रिय सुरक्षा रणनीति प्रकाशित गर्‍यो र यसले जवाफलाई मूलतः ‘हो’ नै भन्ने पुष्टि गर्‍यो। ट्रम्प प्रशासनले ठ्याक्कै यही गर्न चाहन्छः परम्परागत सैन्य क्षेत्रहरू (जस्तै प्रतिद्वन्द्वी महाशक्तिसँग सम्भावित द्वन्द्वको तयारी) बाट पछि हटेर अनलाइन रिएक्शनरीहरूले प्राथमिकता दिएका खालका लडाइँहरू अत्यधिक शक्ति प्रदर्शनका साथ लड्ने। यो अन्य क्षेत्रहरूमा पनि संस्कृति युद्ध लड्न चाहन्छ—युरोपभरि पूरै दक्षिणपन्थी राजनीतिलाई प्रोत्साहन दिने र संयुक्त राज्य अमेरिकामा मात्र होइन, विश्वव्यापी रूपमै आप्रवासनमाथि कडाइ गर्ने।

राष्ट्रपति ट्रम्पको वाशिङ्टन परम्परासँगको सबैभन्दा स्पष्ट भङ्ग भनेको राजनीतिलाई ट्रोलिङको रूपमा हेर्नु हो। जहाँ संघीय नोकरशाही सामान्यतया सतर्क र प्रशासनिक भाषाका दस्तावेज निकाल्छ, ट्रम्प प्रशासनका बयानहरू प्रायः अनावश्यक रूपले आक्रामक हुन्छन्, जस्तो कि नक्कली लाग्छन्। यो छरिएको र आत्म–विरोधी रणनीति दस्तावेज पनि त्यही शैलीको छ—जसमा विविधता, समानता र समावेशीकरण प्रयासहरूमा प्रहार, अमेरिकी उत्पादनलाई स्वदेश फर्काउने आह्वान, विश्वव्यापी जलवायु एजेन्डामाथि युद्ध र युरोपेली शक्तिहरूले थप सैन्य खर्च गर्नुपर्ने (नत्र अमेरिकाले साथ छोडिदिने) जस्ता कुरा छन्।

तर सबैभन्दा माथि, सन् २०२५ को राष्ट्रिय सुरक्षा रणनीति ट्रम्पले ट्रम्पवादलाई विश्व मञ्चमा कसरी हेर्छन् भन्ने सबैभन्दा व्यापक अभिव्यक्ति हो। यसले राष्ट्रपतिको विदेश नीतिको सहज प्रवृत्तिको वैचारिक असंगतिलाई स्वीकार्छ तर त्यसलाई नै गुण बनाउन खोज्छ। दस्तावेजले भन्छः विश्वव्यापी ट्रम्पवाद “परम्परागत राजनीतिक विचारधारामा आधारित छैन” बरु “अमेरिकाको लागि के काम गर्छ भन्ने कुराले प्रेरित छ—अर्थात् दुई शब्दमा ‘अमेरिका फर्स्ट’।” राजनीतिशास्त्री हेनरी फारेलले यसलाई “ग्रोयपर ग्रान्ड स्ट्राटेजी कोस्प्ले” भनेका छन्।

क्याबिनेट बैठकहरूमा चाकरी गर्ने सचिवहरू वा टेक कम्पनीका सीईओहरूको चाकरीपूर्ण भेलाका भिडियो क्लिपहरू हेर्नुभएको छ भने अपेक्षा गर्न सकिन्छ—यो दस्तावेज राष्ट्रपतिप्रति पूर्ण भक्तिभाव देखाउँछ। यसले घोषणा गर्छः “राष्ट्रपति ट्रम्पले आफूलाई शान्तिका राष्ट्रपति भनेर इतिहासमा स्थापित गर्नुभएको छ”, जबकि क्यारेबियनमा युद्धपोतहरू तैनाथ छन् (सम्भवतः मनपरी युद्धको तयारीमा) र प्रशासनका व्यक्तिहरूले भेनेजुएलामाथि आक्रमण वा आक्रमणको तर्क दिन थालिसकेका छन्।

“अबको केही दशकभित्रै केही नाटो सदस्यहरूमा गैर–युरोपेलीहरू बहुमतमा हुनेछन्।” पल क्रुगम्यानले लेखेका छन् “उनीहरूले शब्दको व्यञ्जना किन प्रयोग गरे कुन्नि। ‘गैर–युरोपेली’ भनेको स्पष्ट रूपमा ‘गैर–गोरा’ हो।”

यसले सन् २०१७ मा ट्रम्पले प्राप्त गरेको विदेश नीति तथा राष्ट्रिय सुरक्षा स्थापनालाई पनि तिरस्कार गर्छ र अब त्यसलाई भत्काउन चाहन्छ। यसले शीतयुद्धपछि अमेरिकी विदेश नीति ‘ब्लब’ को आचरणको क्रूर तर पूरै गलत नभएको आलोचना गर्छः देशले अस्पष्ट उदारवादी नारा मात्रै दोहोर्‍यायो, स्पष्ट राष्ट्रिय हित परिभाषित गरेनः अनन्त युद्धको बोझ बोकेर पूरै विश्वलाई नियन्त्रण गर्न खोज्योः अमेरिकी जनताको यस्तो परियोजनाप्रति समर्थनको गलत हिसाब गर्‍योः र मध्य–२०औँ शताब्दीको अमेरिकी शक्तिलाई खोक्रो बनाउने खालको विश्वव्यापीकरणमा प्रतिबद्ध भयो।

ट्रम्प प्रशासनले यसको सट्टामा के प्रस्ताव गर्छ ? लगभग एक दशकदेखि अमेरिकी चासोहरूलाई उत्तेजित पारिरहेको नयाँ शीतयुद्धको कल्पना होइन, बरु अनलाइन रिएक्शनरीहरूको कल्पनालाई कैद गर्ने विश्वव्यापी संस्कृति युद्धको रूपमा भूराजनीतिः पश्चिमी सभ्यताको लडाइँ जुन मुख्यतः सीमाभित्रै लडिन्छ—रक्त–माटो राष्ट्रवाद र खुकुलो विश्व–नागरिक उदारवादबीच—र धेरै हदसम्म जातीय दृष्टिकोणबाट हेरिन्छ। (दस्तावेजले धेरै ठाउँमा ईश्वरको उल्लेख गर्छ।)

यस मोडका दुवै पक्ष महत्त्वपूर्ण छन्। चीनको सन्दर्भमा, रणनीतिले पेन्टागनको लामो समयदेखिको प्रतिद्वन्द्विताको फोकसबाट परिवर्तन गर्छ र यो बेइजिङप्रति आत्मसमर्पण त होइन, तर स्पष्ट रूपमा प्राथमिकता घटुवा जस्तो देखिन्छ—विशेष गरी हालैको व्यापार शिखर सम्मेलनमा महसुल घटाइएपछि र उच्च–स्तरका एआई चिप्सहरू चीनलाई बेच्न सकिने अमेरिकी घोषणापछि (जसमा चीनले मूलतः ‘त्यति चाँडो होइन’ भनेको छ)। सन् २०२५ को राष्ट्रिय सुरक्षा रणनीतिले चीनलाई अमेरिकाको प्राथमिक राष्ट्रिय सुरक्षा प्राथमिकता सूचीबद्ध गर्दैन न त प्रतिद्वन्द्वी शक्तिलाई नियन्त्रण गर्नुलाई मुख्य लक्ष्य भन्छ।

दस्तावेजले दुई देशबीचको प्रतिस्पर्धालाई धेरै अनुच्छेद समर्पित गरे पनि स्पष्ट जोड आर्थिक पक्षमा छ, सैन्य द्वन्द्वको अनिवार्यतामा होइन। यो लगभग याचना जस्तो लाग्छ कि दुई महाशक्तिका लागि विश्व काफी ठूलो छ, यदि हामी एक–अर्काको लुटपाटको बाटोमा नअड्किएमा। अर्थात् प्रभाव क्षेत्रको व्यवस्था—जुन ट्रम्पको दोस्रो कार्यकालको पहिलो दिनदेखि नै देखिएको प्रवृत्तिको पुष्टि गर्छः १९औँ शताब्दीको महाशक्ति राजनीतिमा फर्कने, जतिबेला राजनेताहरूले नक्सा बाँड्थे र काममा लाग्थे।

तर समग्रमा रणनीति दस्तावेजको जोड अमेरिकाको राष्ट्रिय सुरक्षा सिद्धान्त केबाट टाढा जाँदैछ भन्नेमा भन्दा पनि केतिर जाँदैछ भन्नेमा बढी केन्द्रित छ। पहिलो प्राथमिकता उसले “मोनरो सिद्धान्तमा ट्रम्प कोरलरी” भन्ने दिएको छः आप्रवासनको प्रवाह र लागूऔषध तस्करीलाई मुख्य सुरक्षा चिन्ता ठहर गर्ने र पश्चिमी गोलार्धभरि त्यसमाथि एकपक्षीय सैन्य अधिकार दाबी गर्ने।

त्यसैले एउटा “शान्तिका राष्ट्रपति” क्यारेबियन र पूर्वी प्रशान्तमा २२ वटा (र बढाउँदै छ) डुङ्गाहरूमाथि आक्रमणको अध्यक्षता गर्दैछन्, भेनेजुएलामा एकपक्षीय रुपले शासन परिवर्तन धकेल्दैछन् र संयुक्त राज्यको सीमाभित्र शान्तिपूर्वक दशकौँदेखि बसिरहेका आप्रवासीलाई यति हिंसा र क्रूर उदासीनताका साथ व्यवहार गर्दैछन् कि यसले नयाँ अमेरिकी पोप र अमेरिकी बिशप्टिष्टहरूको सम्मेलनबाट समेत निन्दा निम्त्याएको छ —जुन लामो समयदेखि अमेरिकी राजनीतिमा कट्टर रूढिवादी शक्तिको रूपमा हेरिन्थ्यो। (सन् २०१५ पछिको सबैभन्दा टाउको घुमाउने मोडहरू मध्ये एक के हो भने पपसी कसरी विश्व उदारवादको प्रतीक बनेको छ र एक दशकभन्दा बढी समयदेखि विश्व मञ्चमा सबैभन्दा दृढ प्रगतिवादी संस्था बनेको छ, जसले मागा का धेरै क्याथोलिक बुद्धिजीवीहरूलाई आक्रोशित बनाएको छ ) ।

सन् २०२५ को राष्ट्रिय सुरक्षा रणनीति चीन र अमेरिकी गोलार्धीय वर्चस्वको सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण छ, तर जब यो युरोपतिर फर्किन्छ तब सबैभन्दा तीखो—र सम्भवतः सबैभन्दा खुलासा गर्ने—बन्छ।

फेब्रुअरीमा, पद सम्हालेको एक महिना नबित्दै उपराष्ट्रपति जे.डी. भ्यान्स म्युनिख सुरक्षा सम्मेलनमा गए र संस्कृति–युद्धको आधारमा युरोपको कडा निन्दा गरे। उनले भनेः ठूलो मात्रामा आप्रवासन, स्व–विनाशकारी प्रगतिवाद र एक प्रकारको आत्मसमर्पणकारी सांस्कृतिक कमजोरीले सदियौँसम्म विश्व शक्तिको केन्द्र रहेको महादेशलाई बढ्दो अप्रासङ्गिकतातर्फ धकेलेको छ।

त्यही भाषा यहाँ अझ तीखो रूपमा फर्किएको छ, मानौँ पेन्टागनका पर्दा–पछाडिका केटाहरूले बीचको समयमा वाक्यहरूलाई धारिलो बनाउन घिस्दै थिए। महादेश “सभ्यताको मेटिने खतराको सामना गरिरहेको छ”, सन् २०२५ को राष्ट्रिय सुरक्षा रणनीतिले घोषणा गर्छ र हिसाब–किताब चाँडै आउन सक्छ। यदि अर्थ अस्पष्ट छ भने स्पष्ट पार्दैः “अबको केही दशकभित्रै केही नाटो सदस्यहरूमा गैर–युरोपेलीहरू बहुमतमा हुनेछन्।” पल क्रुगम्यानले लेखेका छन् “उनीहरूले शब्दको व्यञ्जना किन प्रयोग गरे कुन्नि। ‘गैर–युरोपेली’ भनेको स्पष्ट रूपमा ‘गैर–गोरा’ हो।”

केही विषयमा दस्तावेज अमेरिकी शक्तिको बारेमा अपेक्षाकृत संयमित छ—चीनसँग द्वन्द्वबाट पछि मात्र हटेको होइन, दक्षिण एसिया, अफ्रिका र पूर्वी युरोपप्रति पनि चासो नदेखाएको जस्तो छ। “अन्य देशका मामिला हाम्रो चिन्ता तब मात्र हुन्छन्, जब तिनका गतिविधिले हाम्रा हितलाई प्रत्यक्ष खतरा पुर्‍याउँछन्”, रणनीतिले भन्छ र आश्चर्यजनक रूपमा रुसी अधिकारीहरूले पहिल्यै नै यो दस्तावेज आफ्नो विश्वदृष्टिसँग मिलेको भन्दै प्रशंसा गरिसकेका छन्।

तर आप्रवासनको सन्दर्भमा दस्तावेजले आफ्नो दृष्टि अमेरिकामा मात्र सीमित राख्दैन, बरु सबैभन्दा पहिलो विदेश नीति प्राथमिकताको रूपमा घोषणा गर्छः “ठूलो मात्रामा आप्रवासनको युग समाप्त भयो”—संयुक्त राज्यमा मात्र होइन, विश्वभरि समेत। पश्चिमभरि विगत केही दशकको अनुभवले सीमा र राष्ट्रिय संस्कृतिबारे कडा दृष्टिकोणको औचित्य पुष्टि गरेको उसको भनाइ छ। त्यसपछि दस्तावेजले फेरि भन्छः “हामीले आफ्नो देशलाई आक्रमणबाट जोगाउनुपर्छ, जसमा अनियन्त्रित आप्रवासन मात्र होइन, आतंकवाद, लागूऔषध, जासुसी र मानव तस्करी जस्ता सीमापार खतराहरू पनि पर्छन्”, यसरी घरेलु राजनीतिका लागि एजेन्डाको लामो सूचीलाई राष्ट्रिय सुरक्षा रणनीति र मागा–युगको सैन्यको नयाँ उद्देश्य बनाउँदै।

सिद्धान्तमा यो अझ अति पनि हुन सक्थ्यो। यो शरद ऋतुमा ट्रम्पले सेनासँग “भित्रको शत्रु” सित लड्ने कुरा गरेका बेला र आफ्नो न्याय विभागलाई ट्रम्प–विरोधी कार्यकर्तालाई “घरेलु आतंकवादी” पहिचान गर्न पठाएका बेला पोलिटिकोले रिपोर्ट गरेको थियो कि दस्तावेजका प्रारम्भिक मस्यौदामा सेनालाई घरेलु मिसनमा केन्द्रित गरिएको थियो। अहिलेलाई त सन् २०२५ को राष्ट्रिय सुरक्षा रणनीतिले त्यो एजेन्डालाई छेउमा राखेर विदेशमा त्यस्तै लडाइँ खोजिरहेको छ।
न्यूयोर्क टाइम्सबाट, डिसेम्बर १०, २०२५,
(हालै अमेरिकी सरकारले जारी गरेको विश्व सुरक्षा रणनीतिका बारेमा अमेरिकाभित्र र बाहिर व्यापक रणनीतिक बहस भइरहेको छ ।)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति