ईश्वर पोखरेलको दृष्टिकोण र युवराज ज्ञवालीका पाँच आधारले ओली बेचैन

काठमाडौं २३ मंसिर । नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनमा ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई खुला चुनौती दिँदै प्रस्तुत गरेको नेतृत्वको मुख्य दृष्टिकोण निम्न बुँदामा समेटिएको छ ।
पोखरेलले पेश गरेको अवधारणापत्र उनको समूहको साझा अवधारणा पनि हो । छोटकरीमा त्यो अवधारणालाई यसरी बुझ्न सकिन्छ ।

एक व्यक्ति केन्द्रित शासनको अन्त्य, सामूहिक नेतृत्वको पुनर्स्थापना
–ओलीको अति केन्द्रीकृत र एकलकाँठे शैलीको सबैभन्दा कडा आलोचना
– अध्यक्षले मात्र नभएर स्थायी कमिटी र पोलिटब्यूरोले साँच्चै नीति बनाउने व्यवस्था र प्रणाली स्थापित गर्ने ।

– पार्टी सुधार र आन्तरिक लोकतन्त्रलाई पहिलो प्राथमिकताः सबै उच्च पदमा उमेरहद (७०–७५ वर्ष) र बढीमा दुई कार्यकाल अनिवार्य गर्ने ।
– वडादेखि राष्ट्रिय महाधिवेशनसम्म हरेक प्रतिनिधि मण्डलमा ४० वर्षमुनिको एक जना युवा अनिवार्य
– खुला आलोचना र आत्मालोचनाको संस्कृति पुनर्जीवन, असहमतिलाई दण्ड नदिने, सुधार्ने नीति लिइने ।
– प्रतिनिधि छनोट पारदर्शी र लोकतान्त्रिक बनाउने (हालको प्यानल हालीमुहाली प्रणालीको अन्त्य गर्ने)

जनताको बहुदलीय जनवाद (जबज) को समयसापेक्ष परिष्कार
–मदन भण्डारीको मूल जबजको प्रस्थापनालाई “समयानुकूल परिमार्जन” गर्दै अधि बढ्ने ।
शिक्षा, स्वास्थ्य र रणनीतिक क्षेत्रमा राज्यको भूमिका बढाउने, बजार अर्थतन्त्र कायम राख्दै सामाजिक न्यायमा जोड दिने ।
ओलीको निजी क्षेत्रप्रतिको अति झुकावको तुलनामा अलिक वामपन्थी दिशातर्फ मोड्ने संकेत ।

पुस्तान्तरण र युवा सशक्तीकरण
“नयाँ युगलाई नयाँ नेतृत्व चाहिन्छ” भन्ने नारा
आफूलाई “पुल नेतृत्व” का रूपमा प्रस्तुत गर्दै एक–दुई कार्यकालभित्रै २०४६ पछिको पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता ,
जेन–जी आन्दोलनका कार्यकर्ता र ४०–५० वर्ष उमेर समूहका नेताहरूलाई नयाँ केन्द्रीय कमिटीमा ठूलो हिस्सा दिने ।

राष्ट्रवादी तर कम उत्तेजक विदेश नीति लिने
– राष्ट्रिय हित र स्वाधीनताको रक्षा पहिलो प्राथमिकता
भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध, ओलीको जस्तो कुनै एकतर्फी झुकाव नराख्ने नीतिका बारेमा संवेदनशील बन्ने ।

यसरी पोखरेलले आफूलाई “पार्टीभित्र लोकतन्त्र फर्काउने, पुस्तान्तरणको ग्यारेन्टी दिने र जबजलाई समयसापेक्ष वामपन्थी बनाउने” उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। यो दृष्टिकोणले ओलीको एकल शासन र निजीकरणमुखी नीतिबाट असन्तुष्ट ठूलो पंक्तिलाई आकर्षित गर्ने प्रयास गरेको छ।
ज्ञवालीका पाँच आधार, जसले ओलीलाई धक्का दिनेछ
पोखरेलको पक्षमा उभिएका अर्का उपाध्यक्ष युवराज ज्ञवालीले ओलीको विकल्प खोज्नु पर्ने चार ठोस कारण अघि सारेका छन् । मंसिर २२ गतेको पत्रकार सम्मेलनमा ज्ञावलीले प्रष्टै रुपमा ओलीलाई निरन्तरता दिने हो भने एमालेका अधोपतनलाई कसैले रोक्न नसक्ने चेतावनी समेत दिएका छन् ।

१. नयाँ पुस्ताको आवाजलाई सम्मान गर्न
“हरेक युगले आफ्नै नेता चुन्छ। पुरानो पुस्ताले नयाँ युगको नेतृत्व गर्न सक्दैन।”
२. जेन–जी आन्दोलनसहित नवपुस्ताले उठाएको “अब पुरानो नेतृत्वबाट देश अगाडि बढ्दैन” भन्ने आवाजलाई सम्बोधन गर्न नेतृत्व परिवर्तन अनिवार्य छ।
३. सामूहिक नेतृत्व प्रणाली स्थापित गर्न
अहिलेको एकल केन्द्रीकृत शैलीले सामूहिक नेतृत्वको अभ्यास कमजोर बनेको छ। पार्टीमा सामूहिकता र सहकार्यको संस्कृति फर्काउन नयाँ नेतृत्व आवश्यक छ।
४. नेता होइन, नीति प्रधान पार्टी बनाउन
अहिले नेता केन्द्रित राजनीति हावी छ। नीति, विचार र सिद्धान्तलाई प्रधान बनाउने पार्टी बनाउन पनि नेतृत्व परिवर्तन जरुरी छ।
५. पार्टीभित्रै लोकतन्त्र बलियो बनाउन
“आत्मालोचना र खुला आलोचना बिना लोकतन्त्र बाँच्दैन। कमजोरी नभएको मानिस हुँदैन।”
एमालेमा आलोचना र आत्मालोचनाको संस्कृति कमजोर बनेको छ। पार्टीभित्र लोकतन्त्र कमजोर हुँदा देशको लोकतन्त्र पनि कमजोर हुन्छ। त्यसैले नेतृत्व फेरेर पार्टीभित्रै लोकतान्त्रिक संस्कृति सुदृढ गर्नुपर्छ।

ज्ञवालीले यी पाँच कारणलाई आधार बनाएर ११औँ महाधिवेशनबाट नयाँ पुस्ता र नयाँ नेतृत्व ल्याउने अभियानलाई साथ दिन सबैमा अपिल गरेका छन्। उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहका प्रमुख रणनीतिकारमध्ये एक हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति