आठ अर्ब बढीको अर्को घोटाला दायर हुँदै गर्दा प्रदीप अधिकारी डिल्लीबजार कारागार चलान

काठमाडौं २२ मंसिर। भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी डिल्लीबजार कारागार चलान भएका छन्। विशेष अदालतले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा करिब १३ करोड ५७ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो। आदेशअनुसार उनलाई डिल्लीबजार कारागार पठाइएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीले बताए। अधिकारी भने आफू प्रेसरको रोगी भएको भन्दै अस्पताल भर्ना हुने प्रयासमा छन्।

उनीसँगै पक्राउ परेका प्राधिकरणका निर्देशक मुरारी भण्डारीसँग अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको थियो। उनले धरौटी बुझाएका छन्। तर, थुनामुक्त भने हुन सकेनन्। भण्डारीविरुद्ध आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अनियमितता गरेकोमा आठ अर्ब बढीको अर्को मुद्दा दायर भएको र सो मुद्दामा बयान नसकिएकाले अख्तियारमै फिर्ता पठाइएको विशेष अदालतका सूचना अधिकारी जोशीले बताए। सो मुद्दामा पनि प्रदीप अधिकारीलाई प्रतिवादी बनाइएको छ । जसमा सोमबारदेखि विशेष अदालतमा बयान र थुनछेक हुनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति