काठमाडौं २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगातार सुशीला कार्की नेतृत्वको सरकारमाथिको आलोचनालाई आक्रमणको तहमा चर्काइरहेका छन । महाधिवेशनको प्रचारका सन्दर्भमा ओलीले कार्की सरकारलाई प्रतिगमनको बुख्याँचाको संज्ञा दिन समेत पछि परेनन् ।
ओलीले भदौ २३ र २४ गतेका घटनालाई ‘प्रतिगमनको दोस्रो संस्करण’ भन्दै देश फेरि प्रतिक्रान्तिको बाटोमा हिँड्न थालेको आरोप लगाएका छन् । शनिबार एमालेको ११औँ महाधिवेशनका लागि ‘नवयुग ई-बुलेटिन’ शुभारम्भ गर्दै उनले वर्तमान सरकारलाई ‘असंवैधानिक र लोकतन्त्रमाथिको उपहास’ को संज्ञा दिए ।
ओलीले भने, “आगजनी, तोडफोड र लुटपाटलाई क्रान्ति भन्नु बुद्धिहीनता हो । विधि–प्रक्रियाबिना कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गर्नु लोकतन्त्रको खिल्ली हो ।” उनले असंवैधानिक तरिकाले विघटन भएको प्रतिनिधि सभा तत्काल पुनर्स्थापना गर्नुपर्ने जोडदार माग गरे ।
प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै ओलीले कडा चुनौती दिए । “मविरुद्ध प्रमाण छ भने ल्याउनुस्, तयार पार्नुस्,” उनले भने, “मभन्दा साढे तीन महिना कान्छी प्रधानमन्त्रीको यो कुन जेनेरेसनको सरकार हो ? जान्नु न सुन्नु, चुनाव लड्नु न होर्नु – कस्तो अनाडी सरकार हो यो ?”
उनले अहिलेको सरकारले चुनाव गराउनुभन्दा पुराना दल फेरि आउँछन् भन्ने डरले काम गरिरहेको आरोप लगाए । “जेलका अपराधी र प्रहरीका हतियार बाहिरै राखेर चुनाव गराउँछौं भन्नु हाँस्यास्पद हो,” ओलीले थपे, “चुनाव गराउन सक्छौं भने वातावरण बनाउनुस्, नत्र ढोंग नगर्नुस् ।”
सरकारले गठन गरेको छानबिन आयोगलाई ‘जनतालाई झुक्याउने बुख्याचा’ को संज्ञा दिँदै उनले एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास र संविधानको पक्षमा अडिग रहेको दाबी गरे । “एमाले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाभिमानको पहरेदार हो । लोकतन्त्रलाई कमजोर पार्न र सिद्ध्याउन कसैलाई छुट दिँदैनौं,” उनले प्रतिबद्धता जनाए ।
अध्यक्ष ओलीले अहिले देश विभाजित अवस्थामा रहेको बताउँदै सत्य र तथ्यलाई सघन रूपमा जनतासम्म पुर्याउनु एमालेको जिम्मेवारी भएकोमा जोड दिए । उनले एमालेले बिग्रिएको अर्थतन्त्र सुधार्ने, नेपाललाई विश्व मञ्चमा स्थापित गर्ने र जातीय आधारमा देश टुक्र्याउने प्रयासलाई असफल पारेर संविधान जारी गरेको इतिहास पनि स्मरण गरे ।
उनले भने, ‘विदेशमा हाम्रो पासपोर्ट देखाउन नहुने भइसक्यो, नेपाली भन्न नहुने भइसक्यो। नेपाली भन्दा ‘आफ्नै घरमा आगो लाउनेहरू, आफ्नै देश जलाउनेहरू होइनौं तिमीहरू ?’ भनेर प्रश्न गर्छन्।‘
नेपालमा भएका लुटपाट र आगजनीका फुटेज हेरेर विदेशीहरूले नेपालीहरूप्रति नकारात्मक धारणा बनाउन थालेको उनले बताए।
‘हाम्रा फुटेजहरू हेरेर भन्छन्- तिमीहरू त अर्काको पसल लुट्दा रहेछौं, अँगालोभरि सामान लिएर भाग्दा रहेछौं, अर्काको घर जलाउँदा रहेछौं,’ ओलीले भने।
यस्ता गतिविधिहरूकै कारण धेरै देशहरूले नेपालीलाई भिसा दिन समेत रोकेको दाबी गर्दै उनले प्रश्न गरे, ‘आफ्नै घरमा आगो लगाउने र आफ्नै दाजुभाइ मार्नेले के गर्छौ तिमीहरू ?’
अध्यक्ष ओलीले अराजक गतिविधिबाट देश बदनाम भइरहेको भन्दै यसबाट जोगिएर देशको प्रतिष्ठालाई पुनः माथि उठाउनुपर्नेमा जोड दिए।

ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ गर्न दबाब दिइरहेको दाबी गरेका छन्।
उनले भने, ‘प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्यो भन्ने माग गर्नुस् भनेर दबाब दिनुभयो। तर उहाँले यस्तो झूटो काम म गर्न सक्दिनँ भनेपछि तिनलाई तुरुन्तै हटाएर अर्कोलाई ल्याइयो।’
उनले सरकारले राजदूत फिर्ता, अध्यादेश जारीलगायतको काम गरेकोप्रति आपत्ति जनाए। उनले सरकारलाई आफूले पाएको जिम्मेवारीमा केन्द्रित हुने आग्रह गरे।
प्रतिक्रिया