मृत्युको पचास वर्षपछि जर्मन मूलकी यी राजनीतिक चिन्तकलाई हाम्रो समयकी ‘भविष्यवक्ता’ बनाइएको छ। उनले वास्तवमा के भनेकी थिइन ?
१९७५ डिसेम्बर ४ को साँझ। म्यानह्याटनको रिभरसाइड ड्राइभमा आफ्नो अपार्टमेन्टमा हन्ना आरेन्ट डिनर टेबलमा साथीहरूसँग बसेकी थिइन्। अचानक उनी कुर्सीमा लडिन्। दुई महिनाअघि मात्र उनले ६९ औँ जन्मदिन मनाएकी थिइन्। अब हृदयाघातले उनको जीवन टुंगियो। त्यतिबेला उनलाई पढ्ने र मन पराउनेहरू थिए, तर एक समकालीनले पछि भनेका थिए– “उनको मृत्युको बेला उनलाई खासै ठूलो राजनीतिक विचारक मानिँदैनथियो।”
“अधिकारको अधिकार” (the right to have rights) को प्रश्नमा सधैँ सचेत
त्यसयता दशकौँमा आरेन्ट यति सम्मानित बनेकि छिन् कि उनको जीवनकालमा उनी कति विवादास्पद थिइन् भन्ने कुरा सम्झन पनि गाह्रो हुन्छ। सन् १९९५ मा टोनी जड्टले उनको “अद्भुत र विभाजित विरासत” लेखेका थिए। दोस्रो विश्वयुद्धको समय यूरोपबाट भागेकी एक जर्मन यहुदीका नाताले उनलाई कुलिनतावाद, हिंसा र दुष्टताको समस्याले स्वाभाविक रूपमा पिरोल्थ्यो। अङ्ग्रेज–अमेरिकी आलोचकहरूले उनलाई “अति–युरोपेली” भन्दै खारेज गर्थे। आरेन्टलाई अमेरिकी राजनीतिशास्त्रको डाटा–प्रेमभन्दा आधुनिकतामाथिको “तत्त्वमीमांसीय चिन्तन” मन पर्थ्यो।
गार्जियनका स्तम्भकारले सोधे– “हन्ना आरेन्ट भएको भए के गर्थिन् ?”
तर आरेन्टका प्रशंसकहरू भन्थे– अमेरिकालाई यस्तै तत्त्वमीमांसीय चिन्तनको खाँचो छ। उनी कडा सत्य भन्ने व्यक्ति थिइन्। आफूलाई उदार लोकतन्त्र ठान्ने, आफ्नो श्रेष्ठता र बलियोपनमा मात्तिएको देशलाई आधुनिक रोगहरूबारे सचेत गराउने व्यक्ति थिइन् उनी ।
उनको सन्तीकरण साँच्चै सन् २००० को दशकबाट सुरु भयो, जब “इतिहासको अन्त” भएको मानिएको समय अचानक गर्जियो। जर्ज डब्ल्यू बुसको “अनन्त युद्ध” कहाँ पुग्ला भन्ने चेतावनीका रूपमा उनको काम उद्धृत हुन थाल्यो। गेस्टापोले थुनेकी, जर्मन नागरिकताबाट वञ्चित गरिएकी, फ्रान्समा इन्टर्नमेन्ट क्याम्पमा राखिएकी आरेन्ट “अधिकारको अधिकार” (the right to have rights) को प्रश्नमा सधैँ सचेत थिइन्। सन् २००७ मा कानुन दार्शनिक जेरेमी वाल्ड्रोनले लेखे– “ग्वान्तानामोको ‘कानुनी कालो प्वाल’ देख्दा उनी स्तब्ध हुन्थिन्।”
तर डोनाल्ड ट्रम्पको सन् २०१६ को जितले उनलाई साँच्चै भविष्यवक्ता बनायो। स्तब्ध अमेरिकीहरूले युरोपेली विपत्तिबारे उनले लेखेका कुराबाट मार्गदर्शन खोजे। आरेन्टको ६०० पृष्ठको जटिल ग्रन्थ «द ओरिजिन्स अफ टोटालिटेरियनिज्म» को बिक्री आकाशियो। वासिङ्टन पोस्टले लेख्यो– आरेन्टको कामले “आजको अमेरिकालाई उज्यालो पार्छ।” हार्वर्डकी डेनियल एलेनले भनिन्– एउटा अवसरवादी लोकप्रियतावादले कसरी विभाजित देशको फाइदा लिन्छ भन्ने आरेन्टले बुझाउन सक्छिन्। गार्जियनका स्तम्भकारले सोधे– “हन्ना आरेन्ट भएको भए के गर्थिन् ?”
दोस्रो पति हाइनरिष ब्लूखर (पेरिसको एक व्याख्यानमा भेटेकी, पूर्व कम्युनिस्ट दार्शनिक) सँग सन् १९४१ मेमा न्यूयोर्क पुगिन्।यूरोपको निरन्तर मृत्यु–खतरा भन्दा अमेरिकाको जीवन एकदम फरक थियो। अङ्ग्रेजी सिकिन्, सोकन बुक्समा सम्पादक भइन्, सन् १९५१ मा «द ओरिजिन्स अफ टोटालिटेरियनिज्म» प्रकाशित गरिन् र त्यही वर्ष अमेरिकी नागरिक भइन्।
यति धेरै प्रशंसा भएपछि पछिल्लो प्रतिक्रिया पनि आयो। इतिहासकार सामुअल मोयनले आरेन्टलाई ट्रम्प युग व्याख्या गर्ने “सबैभन्दा दुरुपयोग भएको दार्शनिक स्रोत” भने। सन् २०२१ मा हार्पर्स म्यागजिनमा रेबेका पानोभ्काले तर्क गरिन्– ट्रम्पका ठूला–ठूला झूटलाई “कुलिनतावादी विश्व–निर्माण” ठान्ने उदारवादीहरू गलत छन्ः ती त केवल आफ्नो कम्पनीको सेयर मूल्य बढाउने “कर्पोरेट ब्लस्टर” हुन्।
तर मोयन र पानोभ्का स्वयंले पनि आरेन्टलाई आफ्नो तर्कमा खडा गरे। उनीहरूको आपत्ति यस्तो छ– ट्रम्पलाई अमेरिकी राजनीतिमा यति अनौठो मान्न पनि एउटी युरोपेली आप्रवासीको सहारा लिनुपर्छ।

अब ट्रम्पको दोस्रो कार्यकालको एक वर्ष नजिकिँदैछ, आरेन्टको मृत्युको पचास वर्ष पुग्दैछ, तर उनी अझै हाम्रो समय बुझ्ने ‘कुञ्जी’ का रूपमा खडा हुन्छिन् । राजनीतिलाई अनिश्चित र अप्रत्याशित मान्ने एक असामान्य चिन्तकका लागि यो अनौठो परलोक भयो। आरेन्टले वास्तवमा के भनिन् ? र हामी उनलाई के–के भन्न लगाउन खोजिरहेका छौँ ?
‘कम्तीमा म निर्दोष छैन’
आरेन्टको काममा स्वतन्त्र चिन्तनको प्रतिबद्धता छ– जब त्यो प्रतिबद्धता त्यागिन्छ वा नष्ट गरिन्छ तब के हुन्छ भन्ने उनले आफैँ देखेकी थिइन्। सन् १९०६ मा ह्यानोभरमा धर्मनिरपेक्ष यहुदी मध्यमवर्गीय परिवारमा जन्मिएकी एक्ली छोरी। बिरामीले ग्रस्त, स्कूल पनि अनियमित। उनले आफैँ ग्रीकमा होमर पढेर सिकिन्। १९२४ मा मार्बुर्ग विश्वविद्यालयमा मार्टिन हाइडेगरसँग दर्शनशास्त्र पढ्न गइन् र प्रेममा परिन्। हाइडेगर सन् १९३३ मा नाजी पार्टीमा सामेल भए, हिटलर चान्सलर बनेको तीन महिनामै। त्यही वर्ष आरेन्टलाई एक यहुदी संस्थाले यहुदीविरोधी अभिव्यक्ति सङ्कलन गर्न लगाएको थियो, गेस्टापोले उनलाई “डरलाग्दो प्रचार” गरेको आरोपमा थुन्यो।

पछि उनले सम्झिन्– बुद्धिजीवीहरू स्वेच्छाले नाजी लाइनमा उभिएको देख्दा कति दुख्थ्यो। गिरफ्तारीको कारण बनेको अनुसन्धान उनको जिम्मेवारीको भाव थियो– “कम्तीमा म निर्दोष छैन, कसैले मलाई त्यो भन्न सक्दैन।” आठ दिनपछि छुटिन्, आमा लिएर जर्मनी भागिन्, पेरिस पुगिन्। युद्ध सुरु भएपछि फ्रान्सले उनलाई “जर्मन नागरिक” का रूपमा इन्टर्न गर्यो। केही हप्तामै अव्यवस्थाको फाइदा उठाएर क्याम्पबाट उम्किन्। दोस्रो पति हाइनरिष ब्लूखर (पेरिसको एक व्याख्यानमा भेटेकी, पूर्व कम्युनिस्ट दार्शनिक) सँग सन् १९४१ मेमा न्यूयोर्क पुगिन्।
यूरोपको निरन्तर मृत्यु–खतरा भन्दा अमेरिकाको जीवन एकदम फरक थियो। अङ्ग्रेजी सिकिन्, सोकन बुक्समा सम्पादक भइन्, सन् १९५१ मा «द ओरिजिन्स अफ टोटालिटेरियनिज्म» प्रकाशित गरिन् र त्यही वर्ष अमेरिकी नागरिक भइन्। तर रेड स्केयरको आतङ्क फैलिएको थियो। ब्लूखरले आफ्नो कम्युनिस्ट विगत लुकाएका थिएः नागरिकता नआउञ्जेल दुवै त्रसित थिए– कुनै मुखबिरले पनि एक सामान्य उजुरीले जीवन उथलपुथल पारिदिन सक्छ।

म्याकार्थीवादको उचाइमा पनि आरेन्टले लेखिन्– कम्युनिस्ट–विरोधी उन्माद “कुलिनतावादी शासनको रूप” मा परिणत हुने खतरा छ। यो लेख तीन दिनपछि नै अमेरिकी महान्यायाधिवक्ताले १०,००० नव–नागरिक र १२,००० विदेशीमाथि “उपद्रोही” को छानबिन थाल्ने घोषणा गरेको बेला प्रकाशित भयो। एक जीवनीकारले उनको यो साहसलाई “उनको हिम्मतको मापन” भनेका छन्। तर आरेन्टको भनाइ थियो– साहसको कुरै आउनु हुँदैनथ्यो। स्वतन्त्र देश त्यो हो जहाँ सरकारको आलोचना गर्दा सरकारले प्रतिशोध लिँदैन। असहमति लोकतन्त्रका लागि सहमति जत्तिकै आवश्यक छ।
उनी जानाजानी विवादास्पद लेख्दिनथिइन्, तर विवादबाट भाग्थिनन् पनि , सन् १९५९ को “रिफ्लेक्सन्स अन लिटिल रक” मा उनले संघीय शक्तिबाट स्कूलमा जातीय एकीकरण गर्नु गलत भएको तर्क गरिन्– यो काम वयस्कले गर्नुपर्नेमा बच्चालाई प्रयोग गरिएको छ भन्ने उनको तर्क थियो । त्यो कमजोर र घुमाउरो तर्क थियो, चौतर्फी आलोचना भयो। सन् १९६५ मा राल्फ एलिसनलाई लेखेको चिट्ठीमा उनले स्वीकार गरिन्– “मैले स्थितिको जटिलता बुझिनँ।”
तर सबैभन्दा ठूलो विवाद नाजी अधिकारीको मुद्दामा लेखेको कुराले ल्यायो। «आइखमान इन जेरुसेलम» न्यु योर्करमा शृंखलाका रुपमा छापियो, सन् १९६३ मा त्यो पुस्तक बन्यो। होलोकस्टका योजनाकार एडोल्फ आइखमानलाई राक्षसको रूपमा नदेखाई आरेन्टले उनलाई नैतिक र बौद्धिक रूपमा खोक्रो, “दुष्टताको साधारणता” ९दबलबष्तिथ या भखष्०ि को प्रतीक कर्तव्यनिष्ठ नोकरशाहका रुपमा देखाइन्। यो निष्कर्ष र यहुदी परिषद्हरूको अनजान सहयोगबारे केही पृष्ठले आगो बाल्यो। यहुदीविरोधी लीगले रब्बीहरूलाई मञ्चबाट उनको भर्त्सना गर्न आग्रह गर्यो। “आत्मघृणा गर्ने यहुदी महिलाले आइखमानको पक्षमा पुस्तक लेखिन्” भन्ने हेडलाइन बन्यो । फ्रान्समा ले नुभेल अब्जर्भातेयरले केही अंश छाप्यो र पाठकका रिसले भरिएका चिट्ठीहरू “हन्ना आरेन्टः के उनी नाजी हुन् ?” शीर्षकमा छाप्यो।
अरूसँगको सङ्गतमा
«आइखमान इन जेरुसेलम» ले ल्याएको हंगामाले आरेन्ट पूरै चकित परिन्। सन् १९६३ मा कार्ल यास्पर्सलाई लेखेको चिट्ठीमा उनले “लाञ्छना अभियान” को उल्लेख गरिन् जसले “मैले लेखेकै विपरीत कुरा मैले भनेँ भनेर निरन्तर दाबी गर्छ।” त्यसमा थपिन्– “यो हुन्छ भन्ने थाहा भएको भए पनि मैले केही फरक गर्दिनथेँ। जनमतलाई कसरी हेरफेर गर्न सकिन्छ र कति धेरै बौद्धिक व्यक्तिलाई हेरफेर गर्न सकिन्छ भन्ने सिकाउने कुरा हो यो।”
वास्तवमा उनी वर्षौँदेखि जनमतको हेरफेरबारे लेख्दै थिइन्। तर राज्यशक्ति र सामूहिक प्रचारका एजेन्टहरूबारे उनको सिद्धान्तलाई जीवन्त बनाउने कुरा थियो– मानिसहरू किन यस्तो हेरफेरमा सहजै पर्छन् ? उनले बारम्बार फर्केर हेर्ने प्रश्न थियो– चिन्तन आफैँमा के हो ? विचार र निर्णय कसरी राजनीतिक कर्मसँग जोडिन्छ ?

आइखमान त्यसको उदाहरण थियो। आरेन्टले उनलाई मूर्खताका लागि होइन, “पूरै विचारशून्यता” का लागि दोषी ठहर्याइन्। उनी नाजी शासनले दिएको “क्लिसे, मुखाले वाक्यांश र हत्यारा दिनचर्या” मा टाँसिएका थिए। सोच्न इन्कार गरेर आइखमानले आफूलाई वास्तविकताबाट अलग गरेका थिए– “हाम्रो चिन्तनको ध्यान माग्ने सबै घटना र तथ्यको दाबीबाट।”
आइखमानको जिम्मेवारीलाई कम आँकेको भन्ने आरोप हाँस्यास्पद थियो। बरु उनको निष्कर्ष झनै डरलाग्दो थियो। सोच्न गाह्रो र डरलाग्दो कुरा हो। “आदेशको पालना मात्र गरिरहेको” मानिसलाई विचार नगर्ने अनुमति दिने संरचना स्वागतयोग्य लाग्छ। तर त्यो राहतले उनीहरूलाई अपराधबाट मुक्त गर्दैन।
आरेन्ट प्रशस्त लेख्थिन्। कहिलेकाहीँ पुस्तकलाई नम्बर र गहिरा शीर्षक दिएर व्यवस्थित सिद्धान्तकारजस्तै देखिन्थिन्। तर राजनीतिक विघटनका मनोवैज्ञानिक र नैतिक आयाममा दिएको ध्यानले उनको काम विशेष र सान्दर्भिक बनायो।
अहिले यति धेरै उथलपुथलको बीचमा अण्डाको मूल्यले मात्र हाम्रो सङ्कट व्याख्या गर्दैन भन्ने व्यापक अनुभूति छ। भौतिक मुद्दा पक्कै महत्त्वपूर्ण छन्। तर धेरै अमेरिकीहरू आरेन्टकहाँ जानुको कारण हो– उनको “तत्त्वमीमांसीय स्वतन्त्र सङ्गति” (एक आलोचकले भनेका थिए) लाई सामान्य, सरल, प्राविधिक–प्रबन्धकीय टिप्पणीभन्दा फरक लाग्छ जसले राजनीतिलाई केवल प्रतिस्पर्धी स्वार्थको यान्त्रिक क्षेत्र देखाउँछ।
विपर्ययको कुरा के छ भने, यही कुराले उनलाई चिन्तित जनताले खोजिरहेको आइकन बन्न अयोग्य बनाउँछ। आरेन्टका लागि राजनीति निष्क्रिय उपभोक्ताको होइन, सक्रिय चिन्तकहरूको सामूहिक विचार–विमर्श थियो। आरेन्टको काममा सान्त्वना खोज्न सकिँदैन। उनी दिन्छिन् त सङ्गत– बीसौँ शताब्दीको भयावहताको प्रत्यक्ष अनुभव भएकी तर “अमोर मुन्दी” अर्थात् “संसारको प्रेम” कहिल्यै छोडिनँ भन्ने व्यक्तिको सङ्गत।
यो प्रेम भावुक सान्त्वनाको न्यानो कम्बल होइन जसले वास्तविकतालाई ढाक्छ। बरु ठीक उल्टो। बार्ड कलेजको हन्ना आरेन्ट सेन्टरकी सहायक निर्देशक तथा आरेन्टमाथि पुस्तक लेखेकी सामन्था रोज हिल भन्छिन्– अमोर मुन्दी भनेको “संसार जस्तो छ त्यस्तैसँग मेलमिलाप गर्नु र बुझ्नु” हो।
यस्तो प्रतिबद्धताका लागि अरूको आवश्यकता पर्छ। आरेन्टका लागि एक्लोपन खतरनाक थियो। एकान्तमा नै कल्पना वास्तविकताबाट खुस्किएर “आफ्नै ‘चिन्तन’ को लाइन बनाउन” सक्छ। उनी मार्गदर्शक होइनन्, उकास्ने व्यक्ति हुन्– हाम्रो स्वतन्त्रता अभ्यास गर्ने र त्यसलाई कायम राख्ने कर्ममा भाग लिन।
“मैले प्रस्ताव गर्ने कुरा एकदम साधारण छ,” उनले एकपटक लेखिन्– “हामी के गरिरहेका छौँ त्यो सोचौँ मात्र।”
न्यूयोर्क टाइम्सबाट
प्रतिक्रिया