काठमाडौं, १९ मंसिर । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठक सकिएको छ ।शुक्रबार साँझ निर्वाचन अयोग, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा सर्वपक्षीय बैठक बसेको थियो ।बैठकमा सबै पक्षबाट आ–आफ्ना तयारीबारे जानकारी गराउने काम भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।
बैठकमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार, दलका प्रतिनिधिहरूले सरकारलाई चुनावमा नै केन्द्रित हुन आग्रह गरिएको छ ।वर्तमान सरकार सामान्य परिस्थितिमा निर्माण नभएको भन्दै उनीहरूले अहिले चुनावमा मात्रै केन्द्रित हुन आग्रह गरिएको छ ।‘राजनीतिक दलहरूले सरकारलाई प्रष्ट रुपमा, यो चुनावी सरकार हो । चुनावमै अर्जुनदृष्टि लगाउनुपर्यो, जसरी अर्जुनले आफ्नो वाण सोझ्याएका थिए,’ नेता ज्वालाले भने, ‘यो सरकारले यताउता ध्यान दिने काम गर्न भएन । चुनावमा केन्द्रित होस् ।
शान्तिसुरक्षाको वातावरण अझै बनाउनेगरी अघि बढोस् भन्ने सुझाव दिएका छौं ।’केही आशंकाकाबीच केही दलहरूले निर्वाचनमा जान तत्पर रहेको जानकारी गराएको उनले बताए ।सो क्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि सहयोग गर्न तयार रहेको बताइन् ।‘हामीलाई सहयोग गर्नुस् । हामी निर्वाचन गराउन तत्पर छौं । निर्वाचन गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं,’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै ज्वालाले भने ।
प्रतिक्रिया