काठमाडौं, १९ मंसिर । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र समग्र वातावरणबारे विस्तृत छलफल भइरहेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति छ।


निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगका पदाधिकारीहरू सहभागी छन्। आयोगतर्फ आयुक्त जानकीकुमारी तुलाधर, आयुक्त सगुनशमशेर राणा, सचिव महादेव पन्थ, सहसचिव नारायणप्रसाद भट्टराई, सहसचिव यज्ञप्रसाद भट्टराई र सहसचिव राजेन्द्रकुमार केसी उपस्थित छन्। आयोगका तर्फबाट निर्वाचन प्रक्रिया र तयारीको पक्षमा विशेष जोड दिइने बताइएको छ।

राजनीतिक दलहरूको तर्फबाट नेपाली कांग्रेसबाट गगन थापा र पुष्पा भुसाल, नेकपा एमालेबाट शंकर पोखरेल र महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीबाट शक्ति बस्नेत र प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शिशिर खनाल र सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजेन्द्र गुरुङ र भुवन पाठक, जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रकाश अधिकारी र जनमत पार्टीबाट नरेन्द्र चौधरी बैठकमा सहभागी छन्। दलहरूले निर्वाचनमा पारदर्शिता र सहकार्यको पक्षमा धारणा राखेका छन् ।

सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्की स्वयं उपस्थित छन्। तिनका साथ अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रसाद अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेल बैठकमा सहभागी छन्।

सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति पनि उल्लेखनीय छ। प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकन्द्र कार्की बैठकमा छन्। उनीहरूले निर्वाचनकालीन सुरक्षा र तयारीबारे जानकारी दिएका छन् ।
प्रधानमन्त्री कार्कीले बैठक आह्वान गर्दै निर्वाचनलाई शान्तिपूर्ण र पारदर्शी बनाउन सबै पक्षको सहयोग अपेक्षा गरेको सचिवालयले जनाएको छ।
प्रतिक्रिया