काठमाडौं, १४ मंसिर ।भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देश वरपरको हवाई क्षेत्र ‘बन्द भएको मानिनुपर्छ’ भनेर भनेपछि उनलाई ‘औपनिवेशिक धम्की’ दिएको आरोप लगाएको छ ।
भेनेजुएलाको विदेश मन्त्रालयले ट्रम्पका टिप्पणीलाई ‘भेनेजुएलाली जनतामाथिको अर्को हास्यास्पद, गैरकानूनी र आधारहीन आक्रमण’ भनेको छ ।
अमेरिकासँग कानूनी रूपमा अर्को देशको हवाई क्षेत्र बन्द गर्ने अधिकार छैन, तर ट्रम्पको अनलाइन पोस्टले यात्रामा अनिश्चितता सिर्जना गर्न र एयरलाइन्सलाई त्यहाँ सञ्चालन गर्न निरुत्साहित गर्न सक्ने बताइएको छ ।
यो घोषणाले ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पदबाट हटाउन गरिरहेको प्रयासलाई थप तीव्र बनाएको छ । औपचारिक रूपमा ट्रम्प प्रशासनले आफ्नो अभियानलाई आप्रवासी र लागूऔषधको अवैध प्रवाह रोक्न केन्द्रित भनेको छ । तर, शासन परिवर्तन हुने सम्भावनालाई पनि अस्वीकार गरिएको छैन ।
अमेरिकाले क्यारिबियन क्षेत्र आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ, जसलाई अधिकारीहरूले लागूऔषध तस्करी नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले भने अमेरिकी आरोपलाई आफूलाई सत्ताच्युत गर्ने षड्यन्त्रको रूपमा व्याख्या गरेका छन् ।
ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘सबै एयरलाइन्स, पाइलटहरू, लागूऔषध तस्कर र मानव तस्करलाई म भन्न चाहन्छु( भेनेजुएलाको माथि र वरपरको हवाई क्षेत्र पूर्ण रूपमा बन्द भएको मान्नुहोस् ।’
शनिबार जारी वक्तव्यमा भेनेजुएलाको विदेश मन्त्रालयले अमेरिकाले ‘एकतर्फी रूपमा’ साप्ताहिक आप्रवासी प्रत्यावर्तन उडान निलम्बन गरेको आरोप लगाएको छ ।
‘हामी अन्तर्राष्ट्रिय समुदाय, विश्वका सार्वभौम सरकारहरू, संयुक्त राष्ट्रसंघ र सम्बन्धित बहुपक्षीय संस्थाहरूलाई यो अनैतिक आक्रमणलाई कडाइका साथ अस्वीकार गर्न अपिल गर्दछौं’, वक्तव्यमा भनिएको छ ।
हालै सातामा ट्रम्पले भेनेजुएलाभित्र सीआईएको सञ्चालन योजनामा आफूले स्वीकृति दिएको स्वीकार गरेका छन् । यसै हप्ता उनले मादुरो र उनका सहयोगीहरूलाई विदेशी आतंकवादी संगठनका सदस्यको रूपमा सूचीबद्ध गरे, जसलाई प्रशासनका अधिकारीहरूले भेनेजुएलाभित्र सैन्य कारबाहीका विकल्प विस्तार गर्न मद्दत गर्ने बताए । बिहीबार ट्रम्पले भेनेजुएलाभित्र ‘भूमिगत’ कारबाही चाँडै शुरू हुनसक्ने संकेत दिए ।
बुधबार भेनेजुएलाले ६ प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स( इबेरीया, ट्याप पोर्चुगल, गोल, लाटाम, अवियाँका र टर्किश एयरलाइन्सलाई ४८ घण्टाभित्र उडान पुनः शुरू गर्न नसकेपछि त्यहाँ अवतरणमा रोक लगाएको थियो ।
अमेरिकाले संसारकै सबैभन्दा ठूलो विमानवाहक जलपोत यूएसएस जेराल्ड फोर्ड तथा करिब १५,००० सैनिक भेनेजुएलासमिप राखेको छ ।
सन् १९८९ मा पनामा आक्रमणपछि क्षेत्रमै अमेरिकाको यो सबैभन्दा ठूलो तैनाथी हो । अमेरिकाले यस अभियानलाई लागूऔषध तस्करीविरुद्धको कारबाही भनेर वर्णन गरेको छ ।
भेनेजुएलाली सरकारका अनुसार अमेरिकाको मुख्य उद्देश्य मादुरोलाई हटाउनु नै हो । मादुरोको पुनःनिर्वाचनलाई अमेरिकासहित धेरै देशले धाँधलीपूर्ण भनेका छन् ।
मादुरो तथा उनका सहयोगीहरूले विभिन्न माध्यमबाट व्हाइट हाउससँग सम्पर्क राखिरहेका छन् भने दुई देशबीच संवाद कस्तो हुनसक्छ भन्नेबारे छलफल भइरहेको बताइन्छ ।
प्रतिक्रिया