सुदूरपश्चिम प्लेअफमा, जनकपुरको हार कायमै

काठमाडौं, १३ मंसिर । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै पाँचौं जित हात पारेपछि साविक उपविजेता सुदूरपश्चिमले लिग चरणमा दुई खेल खेल्नु अगावै शीर्ष चारमा स्थान पक्का गर्दै प्लेअफमा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाउँदै पूरा गरेको हो ।सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए । उनले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए ।एक रनमै २ विकेट गुमाएको सुदूरपश्चिमका लागि इशान र विनोद भण्डारीले ९२ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । विनोदले ४९ बलमा ४२ रन जोडे । यस्तै हर्मित सिंहले १० बलमा अविजित २५ रन बनाए ।

बलिङमा जनकपुरका लागि माज सदाकतले २ विकेट लिए ।साविक विजेता जनकपुरको यो लगातार चौथो हार हो । लगातार हारपछि जनकपुर लिग चरणबाटै बाहिरिने संघारमा पुगेको छ ।अंकगणितीय झिनो सम्भावना कायम रहेपनि जनकपुरले प्लेअफ पुग्न आफ्नो बाँकी ३ खेल मात्र जितेर पुग्दै बाँकी टिमको नतिजा पनि आफूअनुकुल आउनुपर्नेछ ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले सञ्जय कृष्णमूर्तिको अर्धशतकमा १४६ रनको लक्ष्य दिएको थियो ।जनकपुरले ८ विकेट गुमाएर १४५ रन बनाएको हो । कृष्णमूर्तिले सर्वाधिक ५० रन बनाए । यस्तै जान लफ्टी इटनले ३९ रन जोडे । ३५.३ को अवस्थाबाट लफ्टी इटन र कृष्णमूर्तिले जनकपुरको इनिङ्स सम्हालेका थिए । सुदूरपश्चिमका अविनाश बोहराले ४, स्कट कुगेलेइनले ३ र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति