नेकपाको अपिल : समाजवादी मोर्चामार्फत् ऐतिहासिक एकीकरणको घोषणा

काठमाडौं १३ मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न १५ कम्युनिस्ट र समाजवादी पार्टीहरूबीच एकीकरण गरेर नयाँ पार्टी गठन गरेको घोषणा गर्दै सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूलाई एकतामा आउन अपिल गरेको छ। पार्टीले जारी गरेको अपीलमा जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै सुशासन, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा एकीकृत भएर अघि बढ्न आह्वान गरिएको छ।

पार्टीको अपीलमा भनिएको छ, “समाजवादी मोर्चामार्फत् पार्टी एकतामा रुपान्तरण गर्ने ऐतिहासिक निर्णयमा पुगेका छौं। यो एकता जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै मुलुक र वामपन्थी लोकतान्त्रिक आन्दोलन सामु देखिएका नयाँ अवसर र चुनौती सम्बोधन गर्ने ऐतिहासिक संकल्प हो।”

मुख्य अंशहरू :

  • पृष्ठभूमि र उद्देश्य : सात दशक लामो कम्युनिस्ट आन्दोलनको अनुभवलाई आत्मसात गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न १५ पार्टीहरूको एकीकरणबाट नेकपा गठन भएको उल्लेख छ। पछिल्लो जेनजी आन्दोलनको सन्दर्भमा यो एकता विशेष महत्त्वपूर्ण भएको बताइएको छ।
  • शहीद र योद्धाहरूप्रति श्रद्धाञ्जली : जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनमा सहिद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ता र घाइते योद्धाहरूको सम्मान र स्वास्थ्यलाभको कामना गरिएको छ।
  • वर्तमान राजनीतिक परिस्थिति : देशमा आर्थिक–राजनीतिक समस्या, नयाँ भूराजनीति र प्रतिगामी शक्तिहरूको सक्रियताका कारण गम्भीर संकट रहेको भन्दै जनक्रान्तिका उपलब्धिहरूमाथि धावा बोल्ने प्रयास भइरहेको अपीलमा उल्लेख छ। जेनजी आन्दोलनलाई नयाँ पुस्ताको सुशासन र उन्नत लोकतन्त्रप्रतिको चाहनाको अभिव्यक्ति ठानेर त्यसको भावनालाई सम्मान गर्न आग्रह गरिएको छ।
  • सरकारको आलोचना : कांग्रेस–एमाले सरकारले दुई तिहाईको अहंकार र दलीय तानाशाहीबाट जनअसन्तुष्टि बढाएको आरोप लगाउँदै, जेनजी आन्दोलनलाई प्रतिगामी शक्तिहरूले दुरुपयोग गरेको बताइएको छ। भदौ २३–२४ मा भएका हिंसात्मक घटनाहरूलाई नियोजित ठहराउँदै संवैधानिक बाटोबाट निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ।
  • एकताको महत्व : यो एकता केवल गणितीय जोड नभई विभाजित कम्युनिस्ट, लोकतान्त्रिक र राष्ट्रिय स्वाधीनता आन्दोलनलाई एकताबद्ध गर्दै समाजवादतर्फ अघि बढ्ने प्रक्रिया हो। मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाउँदै नेपाली विशेषताको समाजवादलाई रणनीतिक कार्यक्रम ठहराइएको छ।

समाजवादी राज्यको खाका :

अपीलमा प्रस्तावित समाजवादी राज्यको आधारभूत पक्षहरू यस प्रकार छन् :

  • राजनीतिक : लोकतान्त्रिक मूल्यसहितको संघीय समाजवादी राज्य, सहभागितामूलक समावेशी र समानुपातिक शासन।
  • आर्थिक : उत्पादनका साधनमाथि सार्वजनिक, सामुदायिक र निजी स्वामित्व, प्रतिक्रियावादी शोषणको अन्त्य।
  • सामाजिक : शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउँदै असमानता र विभेदको उन्मूलन।
  • परराष्ट्र : स्वतन्त्र, सन्तुलित र असंलग्न नीति।

पार्टीले जनवादी केन्द्रीयतालाई संगठनात्मक सिद्धान्त बनाउने र राष्ट्रिय महाधिवेशनबाट कार्यक्रमलाई थप समृद्ध गर्ने बताएको छ।

“विद्यमान राष्ट्रिय परिस्थिति, आवश्यकता र जनअपेक्षालाई दृष्टिगत गर्दै पुनर्गठित नेकपाको नेतृत्वमा सुरु भएको एकता, ध्रवीकरण र सहकार्यको यो प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरूलाई आव्हान गर्दछौं,” अपीलको अन्त्यमा भनिएको छ।

अपीलको पूर्ण पाठ

नेपाली कम्युनिस्ट पार्टीको अपील

आदरणीय जनसमुदाय,

सात दशकभन्दा लामो कम्युनिस्ट आन्दोलनभित्रको विचारधारात्मक र राजनीतिक संघर्षको आरोह अवरोहसँगै पार्टी एकता, संघर्ष, विभाजन र पुनएकीकरणका शिक्षाहरूलाई आत्मसात गर्दै, पूँजिवादी जनवादी क्रान्तिको उपलब्धिकारुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्ने उद्देश्यमा आधारित रहँदै विभिन्न १५ कम्युनिस्ट र समाजवादी पार्टीहरूबीचको एकीकरणबाट नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको छ ।

पछिल्लो जेन जी आन्दोलनसमेतको पृष्ठभूमिमा पुनर्गठित नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट पार्टी पंक्ति र समर्थक शुभचिन्तकसहित आम न्यायप्रेमी जनसमुदायलाई हार्दिक अभिवादन गर्दछौं ।

यस अवसरमा हाम्रो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्रसहित आमूल परिवर्तन, सामाजिक न्याय र राष्ट्रिय स्वाधिनताका लागि नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलनलगायत उत्पीडित वर्ग, समुदायको मुक्ति आन्दोलन र पछिल्लो जेनजी आन्दोलनका क्रममा प्राणोत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै वेपत्ता योद्दाहरूप्रति उच्च सम्मान प्रकट गर्नुका साथै घाइते अपांग योद्दाहरूप्रति सम्मानसहित सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

आन्तरिक अर्थराजनीतिक समस्या र नयाँ भूराजनीतिसमेतका कारण देशको राजनीतिक परिस्थिति निकै गम्भीर र संवेदनशील रहेको छ । जनक्रान्तिबाट स्थापित नयाँ राजनीतिक व्यवस्था र पुरानो उत्पादन प्रणालीबीच अन्तर्बिरोधका कारण जनताको अवस्थामा अपेक्षित परिवर्तन हुन सकिरहेको छैन ।

यो स्थितिमा एकातर्फ प्रतिगामी यथास्थितिवादी शक्तिहरूबाट जनक्रान्तिका उपलब्धिहरूमाथि धावा बोल्ने प्रयास हुँदै आइरहेको छ भने अर्कोतर्फ जनक्रान्तिका उपलब्धिहरूको रक्षासहित सुशासन र आर्थिक सामाजिक रुपान्तरणको जनचाहना विभिन्न रुपमा प्रकट हुँदै आइरहेको छ ।

आज राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको प्रश्न थप संवेदनशील बन्दै गइरहेको छ । राष्ट्रिय सहमति निर्माण गर्दै संवैधानिक बाटोबाट जनआकांक्षालाई सम्बोधन गर्न जिम्मेवार पहल आजको आवश्यकता बन्न पुगेको छ ।

परिस्थितिको यो गाम्भीर्यतालाई मनन गर्दै राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न र जन आकांक्षालाई मूर्तरुप दिन हामी प्रयत्नशील रहँदै आयौं । सरकारमा रहँदा हाम्रा तर्फबाट सुशासन, सामाजिक न्यायसहितको आर्थिक विकास एवं समृद्धिको अभियान सुरु गरिएको थियो ।

प्रतिगामी यथास्थितिवादी शक्तिहरूले उक्त अभियानलाई रोक्न सरकार परिवर्तनको अस्त्र प्रयोग गरे । प्रतिपक्षीय मोर्चामा रहँदा समेत सडक र सदनबाट सरकारलाई निरन्तर खबरदारी गरि नै रह्यौं ।

कांग्रेस एमालेको सरकारको गतिविधिका कारण लोकतन्त्रमाथि नै संकट आउन सक्ने र जनअसन्तुष्टि सडकमा विष्फोट हुनसक्ने अवस्थाप्रति हाम्रो तर्फबाट लगातार सचेत गराउँदै आएका थियौं । सरकारले हाम्रो खबरदारीको गाम्भीर्यता र संवेदनशीलतालाई पटक्कै बोध गरेन । दुई तिहाईको अहंकार र दुईदलीय तानाशाहीको मीठो सपनाबाट सरकार ब्यूझन सकेन ।

फलतः अर्थराजनीतिक समस्या र तत्कालिन सरकारका जनविरोधी क्रियाकलापबाट संगठित हुँदै गएको जनअसन्तुष्टि जेनजी आन्दोलनका रुपमा प्रकट हुन पुग्यो । जनताको असन्तोष र आक्रोशलाई आफ्नो निहित स्वार्थमा उपयोग गर्न प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरूका लागि यो उपयुक्त अवसर बन्न पुग्यो ।

गत भदौ २३ गते शान्तिपूर्णरुपमा सुरु भएको जेनजी प्रदर्शन नरसंहारमा रुपान्तरित हुन पुग्यो । भदौं २४ गते देशका प्रमुख ऐतिहासिक सम्पदाहरू सहित सार्वजनिक कार्यालय, लोकतान्त्रिक दलका नेताहरुको निवास, बैंक, वित्तिय संस्था, मिडिया तथा व्यवसायहरूमा भीषण आगजनी, लूटपाट, तोडफोड गरिनुका साथै भौतिक आक्रमण समेत गरियो ।

जुन नियोजित र योजनावद्ध थियो । त्यसका वावजूद जेनजी आन्दोलन बस्तुतः राजनीतिक दलहरूलाई खबरदारी, सुशासन, सामाजिक न्याय र अझ उन्नत लोकतन्त्रप्रति नयाँ पुस्ताको चाहना र आकांक्षाको अभिव्यक्ति थियो ।

जेन जी आन्दोलनको यो भावनालाई एकथरिले बुझ्नै चाहिरहेका छैनन् । अर्को एकथरिले आफ्नो निहित स्वार्थ र प्रतिगामी उद्देश्यपूर्तिको साधन बनाउने कोशिस गरिरहेका छन् । यसप्रकारका प्रवृत्तिहरूप्रति सचेत रहँदै संवैधानिक प्रक्रियाबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढन जेनजीलगायतका नवयुवाहरूमा हाम्रो पार्टी विशेष आग्रह गर्दछ ।

जेन जी आन्दोलनसँगै उत्पन्न गम्भीर परिस्थितिमा गैर दलीय सरकार बनेपछि तत्कालको अनिश्चयपूर्ण तुँवालो केही हटेपनि जनक्रान्तिका उपलब्धिहरू र राष्ट्रमाथिको संकट पूर्णरुपले हटिसकेको छैन ।

विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई हतोत्साहित गर्ने, सभा सम्मेलन गर्न अवरोध सिर्जना गर्ने, निर्वाचनलाई कुनै बहानामा बिथोल्ने या निर्वाचन परिणामलाई अनुकुल बनाउन प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलका सम्भावनाहरु अझैपनि विद्यमान छन् ।

तथापि मुलुकलाई संवैधानिक बाटोबाट परिवर्तनको मार्गमा हिँडाउन घोषित मितिमा निर्वाचन सम्पन्न गराउनु पर्ने कुरामा नेपाली कम्युनिस्ट पार्टी दृढ रहँदै आएको छ । हाम्रो पार्टी संविधान, लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको रक्षाका पक्षमा साझा पहलकदमीका लागि सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूसँग विशेष अपील गर्दछ ।

राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौतीहरू थपिँदै गएको वर्तमान सन्दर्भमा वामपन्थी, लोकतान्त्रिक र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकीकृत गर्दै नेतृत्व प्रदान गर्नुपर्ने वस्तुगत आवश्यकतालाई आत्मसात गर्दैै समाजवादी मोर्चामार्फत् पार्टी एकतामा रुपान्तरण गर्ने ऐतिहासिक निर्णयमा पुगेका छौं ।

यो एकता जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै मुलुक र वामपन्थी लोकतान्त्रिक आन्दोलन सामु देखिएका नयाँ अवसर र चुनौती सम्बोधन गर्ने ऐतिहासिक संकल्प हो ।

एकताको यो पहल केवल १५ समूहको गणितीय जोड मात्र नभएर विभाजित अवस्थामा रहेको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकतावद्ध गर्दै समाजवादको दिशामा अघि बढ्ने अर्को ऐतिहासिक प्रक्रियाको थालनी हो ।

सही विचार, राजनीतिक कार्यक्रम र सबैखाले अनुभव र उर्जाको संकेन्द्रण पार्टी एकताको सार हो । श्रमजीवी वर्गको मुक्तिको वैचारिक अस्त्र मार्क्सवाद–लेनिनवाद हाम्रो पार्टीको मार्गनिर्देशक सिद्धान्त हो ।

मार्क्सवादी लेनिनवादी सिद्धान्तको आलोकमा एक्काइसौं शताब्दीका नवीन विशेषता, विगतका प्रतिक्रान्तिका अनुभव, नेपाली पूँजिवादी जनवादी क्रान्तिका मौलिक विशेषता र नेपाली समाजको विशिष्टताका आधारमा तयार गरिएको नेपाली विशेषताको समाजवाद हाम्रो रणनीतिक कार्यक्रम हो ।

यही मार्गनिर्देशक सिद्धान्त र कार्यक्रमको आलोकमा सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यम हुँदै समाजवादको दिशामा अघि बढ्ने संकल्प हाम्रो एकताका मुख्य आधारहरू हुन ।

श्रमजीवी सर्वहारा वर्ग र उत्पीडित वर्ग समुदायको पहिचान र हितको प्रतिनिधित्व गर्ने लोकतान्त्रिक मूल्यसहितको संघीय समाजवादी राज्य, सहभागितामूलक समावेशी र समानुपातिक शासनप्रणाली, उत्पादनका साधनमाथि सार्वजनिक, सामुदायिक र नीजि स्वामित्व भएको उत्पादन प्रणालीसँगै सबैखाले प्रतिक्रियावादी हस्तक्षेप र शोषणका रूपहरूको अन्त्य गर्ने आर्थिक नीति, शिक्षा र स्वास्थ्यमा मूलतः राज्यको दायित्व बढाउँदै समाजमा विद्यमान सबैखाले असमानता र विभेदको अन्त्य गर्ने सामाजिक सांस्कृतिक नीति, स्वतन्त्र, सन्तुलित, असंलग्न परराष्ट्र नीति नेपाली विशेषताको समाजवादका आधारभूत पक्ष हुन ।

थप छलफल र अन्तक्रिया गर्दै पार्टीको एकताको राष्ट्रिय महाधिवेशनबाट यसलाई थप समृद्ध तुल्याइनेछ । यो प्रक्रियामा आ आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न पार्टीका सम्पूर्ण पंक्ति, समर्थक शुभचिन्तकहरूमा आग्रह गर्दछौं ।

– स्वतन्त्रता (जनवाद) र अनुशासन (केन्द्रीयता) को समुचित सन्तुलनमा आधारित जनवादी केन्द्रीयता पार्टीको संगठनात्मक सिद्धान्त र विधि हुनेछ । नेपाली विशेषताको समाजवादद्वारा निर्देशित वैचारिक मूल्यहरूबाट जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तलाई थप समृद्ध गरिनेछ ।

आदरणीय जनसमुदाय,

विद्यमान राष्ट्रिय परिस्थिति, आवश्यकता र जनअपेक्षालाई दृष्टिगत गर्दै पुनर्गठित नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा सुरु भएको एकता, ध्रवीकरण र सहकार्यको यो प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरूलाई आव्हान गर्दछौं ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति