‘दीपेन्द्रको अलराउन्ड प्रदर्शनप्रेरित सुदूरपश्चिम अपराजित, कर्णाली ४५ रनले निराश

काठमाडौं, ८ मंसिर । बलिङ र ब्याटिङ दुवैतर्फ कप्तान दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ४५ रनको जित निकालेको छ । प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो ।सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९।२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो । योसँगै कर्णाली प्रतियोगिताको दोस्रो संस्करणमा सबैभन्दा सस्तैमा समेटिने टिमसमेत बन्यो ।कर्णालीका कुनै पनि ब्याटरले व्यक्तिगत स्कोरमा ३० रन पार गर्न सकेनन् । पवन सर्राफले सर्वाधिक २७ रन बनाए । यसअघि लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका मार्क वाट आज १० बलमा दुई छक्कासहित १७ रनमात्र बनाएर पभेलियन फर्किए ।छैटौँ नम्बरमा ब्याटिङका निम्ति आएका कप्तान सोमपाल कामीले १४ रन थपे । गुल्सन झा र अर्जुन घर्तीले १३ रन जोडे । अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।एनपीएलको आफ्नो पहिलो खेलमा चितवन राइनोजविरुद्ध ९० रन बनाएका प्रियांक पन्चाल शून्यमै आउट भए । युवराज खत्री पनि डक भए ।कर्णालीलाई सस्तैमा समेट्न कप्तान दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले ६ भन्दा तलको इकोनोमीसहित २३ रनमात्र खर्चिए । हर्मित सिंहले दुई विकेट लिए । चार ओभरमा हर्मितले १९ रनमात्र खर्चिँदा एक मेडन फ्याके । अभिनाश बोहराले दुई विकेट लिँदा स्कट कुग्गेलिन र हेमन्त धामीले समान एक विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो ।सुदूरपश्चिमका कप्तान ऐरीले सर्वाधिक ३९ रन जोडे । उनले २८ बलमा एक चौका र दुई छक्का प्रहार गरे । दीपेन्द्रले ७३–५ को कठिन स्थितिबाट हर्मित सिंहसँग छैटौँ विकेटका निम्ति ३८ रनको साझेदारी गर्दै सुदूरपश्चिमको इनिङ सम्हालेका थिए । हर्मितले १६ बलमा एक चौका र एक छक्कासहित १९ रन थपे । आरिफ सेखले २५ बल खेल्दा तीन चौकासहित २७ रन जोडे । क्रिस लिनले १८ र ओपनर विनोद भण्डारीले ११ रन बनाए । सुदूरका ओपनर जस ब्रोन भने ‘रोयल डक’ भए । उनलाई खेलको पहिलो बलमै कर्णालीका कप्तान सोमपाल कामीले बोल्ड गरेका थिए ।कर्णालीका नरेन साउद हिट विकेट भए । सोमपालले गरेको १८।३ ओभरमा उनले खुट्टाले विकेटमा लागेको थियो । हेमन्त डक भए । स्कट कुग्गेलिनले १० रन बनाए ।

कर्णालीका कप्तान सोमपालले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले एक मेडन फ्याक्दै ३२ रनमात्र खर्चिए । नन्दन यादवले दुई विकेट लिए । मार्क वाट, विपीन शर्मा र युवराज खत्रीको नाममा समान एक विकेट रह्यो ।प्रतियोगितामा अपराजित सुदूरपश्चिमले यसअघिका दुई खेलमा काठमाण्डू र पोखरालाई क्रमशः २९ र १८ रनले पराजित गरेको थियो । यता, कर्णाली भने पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कर्णालीले लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको सहज जित निकालेको थियो ।यसअघि आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सविरुद्ध नौ रनको जित निकालेको थियो । प्रतियोगितामा मंगलबार काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति