जब हामीहरूले समुद्रको कुरा गर्छौँ भने हाम्रो ध्यान भारतको १७०० किलोमिटर तट वा चीनको दक्षिण चीन सागरतिर जान्छ। तर सन् १८९० मा एउटा अमेरिकी नौसेना अफिसरले लेखेको एउटा किताबले आज पनि विश्वको सबैभन्दा ठूलो नौसेना (अमेरिका) देखि सबैभन्दा छिटो बृद्धि भइरहेको नौसेना (चीन) सम्मलाई निर्देशित गरिरहेको छ । यसो भने यो पुस्तक नेपालीले पनि पढ्नै पर्छ ।
सन् १८८० को दशकमा अमेरिका एउटा सानो, कमजोर नौसेना भएको देश थियो। उसको नौसेनामा जम्मा ४८ वटा पुराना काठका जहाज थिए, तीमध्ये धेरैजसो गृहयुद्ध भन्दा पहिलेदेखिकै। युरोपका ठूला शक्तिहरू (बेलायत, फ्रान्स, जर्मनी) ले स्टिलका युद्धपोत बनाइरहेका थिए, तर अमेरिकी कङ्ग्रेसले “हामी त महासागरले घेरिएको देश हौँ, हामीलाई ठूलो नौसेना चाहिँदैन” भन्दै बजेट कटौती गरिरहेको थियो।
त्यही बेला नेवल वार कलेजका प्राध्यापक अल्फ्रेड थायर माहनले १६६०–१७८३ सम्मका समुद्री युद्धहरूको गहिरो अध्ययन गरे र एउटा विस्फोटक निष्कर्ष निकालेः
इतिहासले देखाउँछ – जसले समुद्रमा हार्यो, ऊ विश्व इतिहासबाट हरायो।
उनले यो निष्कर्षलाई १८९० मा किताबको रूपमा दुनिया समक्ष प्रस्ततु गरे । किताब प्रकाशन भएको एक वर्षभित्रै विश्वका सबै ठूला देशका नौसेना मन्त्रीहरूले आफ्नो टेबलमा त्यो पुस्तक राखेर घोत्लिरहेको थिए । जर्मन सम्राट कैसर विल्हेल्म द्वितीयले त किताबको जर्मन अनुवादलाई आफ्नो हरेक युद्धपोतमा राख्ने आदेश दिएका थिए।
पुस्तकको नामः समुद्रमा शक्ति – अल्फ्रेड थायर माहनको «समुद्री शक्तिको इतिहासमाथि प्रभाव» ९१८९००
लेखक : कप्तान अल्फ्रेड थायर माहन, अमेरिकी नौसेना
प्रकाशन : १८९० (अझै पनि विश्वका सबै नौसेना एकेडेमीहरूको अनिवार्य पाठ्यपुस्तक)

अल्फ्रेड थायर माहनको यो किताब कुनै सैन्य म्यानुअल होइन, यो विश्व इतिहासको सबैभन्दा शक्तिशाली «रणनीतिक धर्मग्रन्थ बनेको छ । एउटै किताबले बेलायती साम्राज्यलाई लामो समय टिकाउनुका साथै अमेरिकालाई महाशक्ति बनायो भन्न पनि सकिन्छ । त्यसभन्दा बाहिर जर्मनीका कैसर विल्हेल्मलाई ठूल–ठूला युद्धपोत बनाउन उक्सायो, जापानलाई प्रशान्त महासागरतिर धकेल्यो र कतिसम्म भने अहिलेचीनका कम्युनिस्ट नेताहरूले पनि टेबलमुनि लुकाएर पढ्छन् भन्ने कुरा पश्चिमा विद्धानहरुले बडा रोमान्चक तरिकाले चर्चा गरिरहन्छन् ।
माहनको मूल सन्देश एकदम सरल छः
‘जसले समुद्रमाथि शासन गर्छ, उसले व्यापार साम्राज्य पनि कव्जा गर्दछ, जसले व्यापारमाथि शासन गर्छ, उसले धन मार्फत वैश्कि प्रभुत्व जमाउँछ, जसले धनमाथि शासन गर्छ, उसले संसारमाथि शासन गर्छ।’
यो किताबको सबैभन्दा डरलाग्दो पक्ष के हो भने माहनले १७ औँ र १८ औँ शताब्दीका युद्धहरूको विश्लेषण गरेर एउटा यस्तो सूत्र निकालेका छन् जसलाई जुनसुकै युगमा, जुनसुकै देशले प्रयोग गर्न सक्छ। उनले भनेका छन् – एउटा देश महाशक्ति बन्न चाहन्छ भने उसमा ६ वटा कुरा हुनैपर्छ ।
लामो समुद्री तट, गहिरा बन्दरगाह, ठूलो जनसङ्ख्या, व्यापार गर्ने बानी, समुद्रप्रेमी संस्कृति र सबैभन्दा महत्त्वपूर्ण – सरकारले नौसेनालाई पहिलो प्राथमिकता दिने नीति।
माहनले अमेरिकाका बारेमा १८९० मा नै भविष्यवाणी गरेका थिए :
पनामा नहर बनाउनुपर्छ
हवाई र फिलिपिन्स लिनुपर्छ
क्यारेबियनमा पूर्ण नियन्त्रण राख्नु पर्छ,
ठूला युद्धपोतहरूको बेडा बनाउनु पर्दछ ।
ठ्याक्कै ८ वर्षपछि सन् १८९८ मा अमेरिकाले स्पेनसँग युद्ध गरेर यी सबै कुरा पूरा गर्यो। त्यो युद्धपछि अमेरिका विश्व मञ्चमा महाशक्तिको रूपमा उदाएको मानिन्छ ।
यो किताब पढ्दा सबैभन्दा रोचक लाग्ने कुरा के हो भने माहनले बेलायतको उदय र पतन दुवैको कारण एउटै बताएका छन् – समुद्र। बेलायतले समुद्र जित्यो, त्यसैले साम्राज्य बन्यो। फ्रान्सले सधैँ स्थलसेनालाई प्राथमिकता दियो, त्यसैले हरेकपटक समुद्रमा हार्यो र साम्राज्य गुमायो।
देश माहनको सिद्धान्त कसरी लागू गरिरहेको छ ?
अमेरिका First Island Chain, Second Island Chain, Diego Garcia, Guam, Yokosuka, AUKUS, QUAD
– सबै माहनकै नक्सामा आधारित
चीन बेल्ट एन्ड रोडको समुद्री भाग (Maritime Silk Road), जिबुटी बेस, ग्वादर, हाम्बनटोटा, कम्बोडिया रिएम, पाकिस्तान कराची – ठ्याक्कै माहनले भनेको “विदेशी कोइला स्टेसन” को आधुनिक संस्करण
भारत. अण्डमान-निकोबार कमान्ड, Project Mausam, सागरमाला, Chabahar बन्दरगाह (इरान) – माहन पढेरै बनाइएको
जापान JMSDF लाई विश्वको तेस्रो शक्तिशाली नौसेना बनाउँदै, Indo-Pacific रणनीति
आजको सन्दर्भमा हेर्दा यो किताब अझै डरलाग्दो छ ।
चीनले जिबुटी, ग्वादर, श्रीलङ्काको हाम्बनटोटा, कम्बोडियाको रिएममा बेस बनाइरहेको छ – ठ्याक्कै माहनले भनेको «विदेशी कोइला स्टेसनहरूको सञ्जाल विस्तार गरिहेको छ । । अर्कोतिर अमेरिकाले अकुस, क्वाड, डियागो गार्सिया, ग्वाम र ओकिनावा विशाल सैन्य आधार बनाएर चीनलाई घेर्दैछ – फेरि पनि माहनकै सिद्धान्त अनुसार । अर्को छिमेकी भारतले पनि अण्डमान–निकोबारमा ठूला युद्धपोत राख्दैछ – माहनकै पाठ पढेर सिकेको मानिन्छ ।
नेपाली पाठकका लागि यो किताब किन पढ्नुपर्छ ? भन्ने प्रश्नको सिधा जबाफ हो –
किनभने हाम्रो देश भूपरिवेष्ठित छ, तर हाम्रा दुवै छिमेकी (भारत र चीन) ले माहनको सिद्धान्तलाई जीवन–मरणको लडाइँको रूपमा लिएका छन्। हामीले बुझ्नुपर्छ – अबको विश्वयुद्ध यदि भयो भने त्यो हिमालमा भन्दा बढी हिन्द महासागर र प्रशान्त महासागरमा लडिने निश्चित प्राय छ । र त्यो लडाइँको नतिजाले हाम्रो भाग्य पनि निर्धारण गर्नेछ।
अन्तमा, माहनको यो किताब पढिसकेपछि एउटै मात्र डर लाग्ने कुरा झन रोचक छ ।
यदि कुनै देशले समुद्र बिर्सियो भने इतिहासले उसलाई पनि बिर्सिदिन्छ।
माहनका ६ आधारस्तम्भहरू
| क्रम | आधारस्तम्भ | माहनको व्याख्या | आजको उदाहरण (२०२५) |
|---|---|---|---|
| 1 | भौगोलिक स्थिति | दुई महासागर वा ठूलो समुद्री किनार भएको देशलाई फाइदा | अमेरिका, चीन, भारत |
| 2 | प्राकृतिक बन्दरगाह | गहिरा, सुरक्षित र वर्षभरि खुला रहने बन्दरगाह | Norfolk (USA), Gwadar (चीन), Cam Ranh (भियतनाम) |
| 3 | क्षेत्रफल र जनसङ्ख्या | ठूलो जनसङ्ख्या = ठूलो जनशक्ति जहाज चलाउन र बनाउन | चीन (१.४ अर्ब), भारत (१.४ अर्ब) |
| 4 | राष्ट्रिय चरित्र | व्यापार र समुद्रप्रति प्रेम, साहसिक स्वभाव | बेलायतको इतिहास, आजको सिंगापुर |
| 5 | सरकारको नीति | सरकारले नौसेनालाई पहिलो प्राथमिकता दिनुपर्छ, निरन्तर ५०–१०० वर्षको नीति | अमेरिकाको 600-ship navy योजना (१९८०), चीनको ३५५-जहाज लक्ष्य |
| 6 | व्यापारी जहाजको बेडा | युद्धको बेला व्यापारी जहाजलाई सहायक नौसेना बनाउन सकिन्छ | Maersk, COSCO (चीनको सबैभन्दा ठूलो) |
अब कसैले समुद्र जाने बाटो बन्द गरिदिन्छ भने, संसारको सास फेर्न बन्द गरिदिन्छ भन्ने तथ्यलाई केही समय अघि रेड सीमाथि देखिएको तनावले प्रष्टै संकेत गरेको थियो । तसर्थ यो किताब होइन, यो विश्व शक्तिको खाका हो। हरेक नेपाली जो भूरणनीति बुझ्न चाहन्छ, उसले एकपटक पढ्नैपर्छ।
माहनले जटिल इतिहासलाई तीनवटा साधारण सूत्रमा समेटेका छन् ।
समुद्री शक्ति बाट व्यापारिक सुरक्षा त्यसमार्फत नौसैनिक प्रभुत्व निष्कर्षमा विश्वव्यापी आधारहरूको सञ्जाल ।
समुद्रले व्यापारलाई जन्म दिन्छ, व्यापारले धन दिन्छ, धनले नौसेना बनाउँछ, नौसेनाले फेरि समुद्रको सुरक्षा गर्छ – यो चक्र कहिल्यै टुटाउनु हुँदैन ।
एउटा देशले समुद्रमा “निर्णायक लडाइँ” जित्न सकेन भने उसले सारा युद्ध हार्छ, चाहे उसको स्थलसेना जतिसुकै बलियो किन नहोस्।यही नै पश्चिमी विश्वका लागि लेखकको चेतावनी थियो ।
हिन्द महासागर अब विश्व शक्तिको सबैभन्दा ठूलो लडाइँको मैदान बन्दैछ। त्यो लडाइँको छिटा हाम्रो हिमालसम्म पर्न सक्छ भन्नेमा हामीले हेक्का राख्नै पर्छ।
हामीले बुझ्नुपर्छ – अबको युगमा “समुद्र नदेख्ने देश” ले पनि समुद्र बुझ्नैपर्छ, नत्र इतिहासले उसलाई पनि बिर्सिदिन्छ।
माहनले अमेरिकालाई दिएको सल्लाह (१८९० मा लेखिएको, १८९८–१९४५ मा पूरा भएको)
| माहनको सल्लाह (१८९०) | अमेरिकाले कसरी पूरा गर्यो? (वर्ष) |
|---|---|
| पनामा नहर बनाउनुपर्छ | १९१४ मा पूरा |
| हवाई टापु कब्जा गर्नुपर्छ | १८९८ मा पूरा भयो |
| फिलिपिन्स लिनुपर्छ | १८९८ स्पेनिस-अमेरिकन युद्धमा कब्जा |
| क्युबा र पोर्टो रिको नियन्त्रण | १८९८ मा कब्जा |
| ठूला स्टिल युद्धपोतहरू बनाउनुपर्छ | १९०७–१९१४ मा Dreadnought-स्तरका जहाज बनाईयो |
| प्रशान्त महासागरमा आधारहरू चाहिन्छ | Guam, Midway, Wake Island कब्जा (१९००–१९४१) |
प्रतिक्रिया