काठमाडौं, ४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुआत गर्ने क्रममा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको छ ।बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले १८।३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।लुम्बिनीको जितमा गुलबद्दिन नैबले अविजित ४४ रन बनाए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । यस्तै, कप्तान रोहितकुमार पौडेलले ४४ बलमा एक चौकासहित ३९ रन थपे । ८१–३ को स्थितिबाट यी दुईले चौथो विकेटका निम्ति ६० रनको साझेदारी गर्दै लुम्बिनीलाई जितसम्म पुर्याएका हुन् । १७।३ ओभरमा रोहित पभेलियन फर्किंदा लुम्बिनीलाई जितका निम्ति दुई रनमात्र आवश्यक थियो ।यसबाहेक, ओपनर सन्दीप जोरा र डी‘एर्सी शर्टले क्रमशः २८ र ११ रन जोडे । दीलिप नाश १० रन बनाएर रनआउट भए । चितवनका रिजन ढकालले दुई विकेट लिए । सोहेल तान्विरले एक विकेट हात पारे । चितवनले अर्को एक विकेट भने रनआउटबाट लिएको थियो । त्यसअघि मध्यक्रम ब्याटर रवि बोपाराले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४२ रनको योगफल खडा गरेको थियो ।चितवनको ब्याटिङमा मध्यक्रम ब्याटर बोपाराले सर्वाधिक ६६ रन बनाए । यसक्रममा उनले चार चौका र तीन छक्का प्रहार गरे । जारी प्रतियोगितामा बोपाराको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि बोपाराले कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । यस्तै, समग्र एनपीएलमा भने बोपाराको यो पाँचौँ अर्धशतक हो । यसअघि पनि चितवनकै प्रतिनिधित्व गरेको बोपाराले पहिलो संस्करणमा तीन अर्धशतक बनाएका थिए ।बोपाराले ४३–३ को स्थितिबाट कप्तान कुशल मल्लसँग चौथो विकेटका निम्ति ४४ रनको साझेदारी चितवनको मध्यक्रम सम्हाल्ने प्रयास गरेका थिए । कुशलले १८ बलमा एक छक्कासहित २१ रन थपे । सैफ जैबले सात बलमा दुई चौका र एक छक्कासहित १५ रन जोडे । देव खनालले १४ र ओपनर दीपक बोहराले १० रन बनाए । चितवनले ओपनर डेविड मलानलाई भने पहिलो ओभरमै गुमाएको थियो । मलान ‘गोल्डेन डक’ भएका थिए ।लुम्बिनीका रुबेन ट्रम्पेलमनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २३ रनमात्र खर्चिए । यस्तै, अभिषेश गौतम र गुलबद्दिन नैबको नाममा समान दुई विकेट रह्यो ।प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो । दोस्रो संस्करणमा लुम्बिनीको भने यो पहिलो खेल हो ।प्रतियोगितामा भोलि (शुक्रबार) पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।
लुम्बिनीको विजयी सुरुआत, चितवन ६ विकेटले पराजित
प्रतिक्रिया