प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गर्दै जेनजी समूहले राष्ट्रपतिलाई बुझाए ज्ञापनपत्र

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको अपेक्षा पूरा गर्न नसकेको भन्दै फिर्ता बोलाउन माग गरेका छन् ।

बिहीबार २३ जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउँदै नयाँ सरकार गठनमा मध्यस्थता गर्न आग्रह गरेका हुन् ।राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउनेमा अधिकांश राजावादी जेनजी समूह रहेको पाइएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारबाट ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन गर्नुपर्नेमा त्यसो नभएको जेनजी समूहहरूको तर्क छ ।यस्तै आन्दोलनमा दमन गर्नेमाथि कारबाही, घाइतेको उपचार र शहीद परिवारलाई उचित क्षतिपूर्ति दिनेबारे न्यूनतम अपेक्षा समेत पूरा नभएको भन्दै कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर आफूहरूको नेतृत्वमा सरकार बनाउन मध्यस्थता गरिदिन राष्ट्रपति समक्ष उनीहरूको आग्रह छ ।‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्यूनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनाव मात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनको लागि भएको थिएन, तसर्थ हामी उक्त विद्रोहमा संलग्न २३ जेनजी अलायन्स, घाइते र शहीद परिवार यो सरकारले तत्काल विद्रोही पक्षको माग सम्बोधन गर्नु पर्दछ ।’ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘अन्यथा यदि सरकारले विद्रोही पक्षको माग पूरा गर्न सक्दैन भने यो सरकारलाई फिर्ता बोलाइ हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्माननीयज्यू समक्ष निवेदन गर्दछौं ।’अन्यथा वर्तमान सरकारविरुद्ध अर्को शान्तिपूर्ण आन्दोलन तथा दबाब कार्यक्रम गर्ने चेतावनी जेनजी समूहहरूको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति