काठमाडौं ३ मंसिर ।नेकपा एमाले महासचिव शंकर पोखरेल बारामा जाने भएपछि सिमरामा प्रदर्शन भएको छ। पोखरेलको स्वागतका लागि विमानस्थलमा आएका एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि
बारा जिल्ला प्रशासनले दिउँसो १२ः३० देखि बेलुका ८ बजे सम्मलाई कर्फ्यु लगाएको छ। प्रदर्शनका कारण विमानस्थ बन्द गरिएकाले पोखरेल भने काठमाडौँ विमानस्थलमै रोकिएका छन्।
उनका स्वकीय सचिव सरोज रेग्मीले विमानस्थल बन्द भएकाले विमानस्थल खुल्ने प्रतिक्षामा काठमाडौँमै रहेको बताए। पोखरेलको साथमा एमाले नेताहरू भानुभक्त ढकाल, महेश बस्नेत लगायत पनि छन्। रेग्मीका अनुसार उनीहरु युवाहरूको कार्यक्रममा बारा जाँदै थिए।

जेनजी युवाहरुको प्रदर्शन र राजनीतिक दल-सम्बद्ध समूहबीच झडप बढ्दै गएपछि सुरक्षाको जोखिम उच्च बनेको भन्दै तत्काल लागू हुने गरी कर्फ्यू लगाएको जिल्ला प्रशासन बाराले बताएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशअनुसार आज दिउँसो १२ः३० बजेदेखि बेलुका ८ः०० बजेसम्म कुनै पनि व्यक्ति तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला वा जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन्।
कर्फ्यू लागू हुने क्षेत्र
गण्डक नहरदेखि पथलैया सडकखण्डः राजमार्गको दायाँ-बायाँ ५०० मिटर
सिमरा विमानस्थल परिसरः चारैतिर ५०० मिटर क्षेत्र
कर्फ्यू अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारी–साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी र हवाई टिकट बोकेका यात्रुहरूको आवागमन सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।
प्रशासनले परिस्थितिलाई नियन्त्रणमा ल्याउन तथा सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै सबैलाई कर्फ्यू आदेश पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

यसैबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निषेधको राजनीति नगर्न आग्रह गरेका छन् ।
नेकपा एमालेका नेताहरूलाई बारामा निषेध गरिएको घटनातर्फ इंगित गर्दै उनले बुधबार यस्तो आग्रह गरेका हुन् ।
महामन्त्री शर्माले सिमरा घटना जेनजी पुस्ताको भावना नभएर दुरुपयोग भएको पनि बताएका छन् ।
‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन्,’ शर्माले एक्समा पोस्ट गरेका छन्, ‘अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।’
महामन्त्री शर्माले भ्रमणको वातावरण नबनाएसम्म चुनाव नहुने भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण पनि गराएका छन् ।
नेता शर्माले सिमरा घटनालाई दुःखद् भनेका छन् ।
प्रतिक्रिया