चुनावअघि महाधिवेशन मग्ने देउवानिकट २५ केन्द्रीय सदस्यलाई गच्छदार र कोइरालाले समर्थन

काठमाडौं १ मंसिर । फागुन २१ को चुनावअघि महाधिवेशन गर्नुपर्ने भन्दै आएका नेका सभापति शेरबहादुर देउवानिकट २५ जना केन्द्रीय सदस्यहरूलाई पूर्वउपसभापति विजयकुमार गच्छदार र पूर्वमहामन्त्री शशांक कोइरालाले समर्थन जनाएका छन्।
कात्तिक २४ गते २४ जना केन्द्रीय सदस्यहरूले चुनावअघि महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालय सानेपामा हस्ताक्षरसहित माग पत्र दर्ता गरेका थिए।
आज कुपन्डोलमा भएको छलफलमा केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठसमेत थपिएर २५ जना पुगेका छन्।
‘आज हामी २५ जना छलफलमा जुट्यौं, अन्तरक्रिया गरियो,’ भेलामा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाले भने, ‘हाम्रो अभियानमा चीनकाजी श्रेष्ठ पनि थपिनुभयो, २५ जना केन्द्रीय सदस्य पुगेका छौं।’
उनकाअनुसार पूर्वउपसभापति विजयकुमार गच्छदार र पूर्वमहामन्त्री शशांक कोइरालाले पनि यो अभियानमा साथ जनाएका छन्।
‘विजय दाइ र शशांक दाइले फोन गरेर हाम्रो अभियानलाई समर्थन र ऐक्यबद्धता जनाउनुभएको छ,’ उनले भने, ‘थप केही केन्द्रीय सदस्यहरू पनि यो अभियानमा जोडिँदै हुनुहुन्छ।’
पूर्वउपसभापति गच्छदारले केन्द्रीय समितिमा धारणा राख्ने क्रममा पनि चुनावअघि महाधिवेशन गरेर जानुपर्ने कुरा राखेका थिए।
पूर्वमहामन्त्री कोइरालाले भने पक्ष र विपक्षमा मतभेद सिर्जना गर्नुभन्दा केन्द्रीय समितिबाट सर्वसम्मत निर्णयमा जोड दिएका थिए। उनले विशेष महाधिवेशन माग गर्नेहरूको भावना समेटेर नियमित महाधिवेशनमा जानुपर्ने बताएका थिए।
२५ जना केन्द्रीय सदस्यहरू सोमबार मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म छलफलमा जुटेका हुन्।

असोज २८ गतेदेखि सुरू भएको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशन तिथिमिति घोषणामा ढिलाइ गरेको छ। अब केन्द्रीय समिति बैठक बिहीबार दिउँसो २ बजे बस्नेछ।
चुनावअघि १५ औं महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने वा वैशाखमा मात्रै महाधिवेशन गर्ने भन्नेबारे कांग्रेसभित्र मतभेद छ।
यसबीचमा सभापति देउवा पक्षका २४ जना केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशनसहित ७ बुँदे माग केन्द्रीय कार्यालयमा बुझाएका थिए।
राजेन्द्रकुमार श्रेष्ठ, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की र चीनकाजी श्रेष्ठ चुनावअघि महाधिवेशन पक्षमा उभिएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति