काठमाडौं, १ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले वर्तमान राजनीतिक अवस्था र आफ्नो अभियानका विषयमा बताएका छन् ।
उनले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमा एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कंडलेसंग कुराकानी गदै प्रसाईँले उक्त कुरा बताएका हुन । उनी कसरी माओवादी बने किन दुई ठुला दल नेकपा एमाले र माओवादीलाई नेकपा बनाउने भुमिका खेले उनको स्वार्थ के थियो र एमाले बाट किन बाहिरिए उक्त कुरा सम्मेत बताएका छन् भने पछिल्लो उनको राजनीतिक पृष्ठभुमि समेत खुलेर बोलेका छन् । प्रसाईँले आफूहरूको अभियानको मूल उद्देश्य व्यवस्था र संविधानमा सुधार ल्याउने रहेको उल्लेख गरे । तर आफूहरूले उद्देश्य एक भएपनि जेनजी आन्दोलनबाट अर्कै भइदिएको समेत बताएका छन् । उनले भने, हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को । व्यवस्था परिवर्तन, संविधान परिवर्तन हुनुपर्थ्यो । त्यो भएन ।’ उनले यो व्यवस्थाले सबै नेपालीलाई विदेश जान बाध्य बनाएको समेत जिकिर गरे । यही पीडा बोक्दै आफूहरूले विगतमा पूर्वराजाको हातबाट परेवा उडाएर अभियान सुरु गरेको दाबी गरे ।
उनले आफ्नो अभियान भ्रष्टाचारविरुद्ध केन्द्रित रहेको दाबी गर्दै बैंक ब्याजदर घटाउन पनि आन्दोलनले भूमिका खेलेको बताए । प्रसाईँले भने, हामीले अभियान सुरु गर्दा ब्याजदर १८ प्रतिशत थियो, अहिले ७ प्रतिशतमा झरेको छ । लघुवित्त पीडितहरू भागाभाग गर्ने अवस्था अन्त्य भएको छ ।’ प्रसाईँले महाअभियान राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको रक्षा गर्ने उद्देश्यका साथ निरन्तर अगाडि बढ्ने विश्वास व्यक्त गरे । विवादित व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका छन्। प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा मंसिर ७ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भनिएको छ।
प्रसाईंले पछिल्लो समय गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै आएका छन्। यस्तै बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को कर असुलिरहेको भन्दै ऋण मिनाहाको अर्को एजेन्डासहित विभिन्न प्रदर्शन गरिरहेका छन्। जसलाई उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नाम दिएका छन्।
झापामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई लगेर यसअघि पनि अभियानको सुरुवात गरेका उनले हिन्दु राष्ट्र र सङ्घीयताको विपक्षमा उभिएका छन्। राजतन्त्रको पुनः स्थापनाका विषयमा भने उनले बेलाबेला बोली फेर्दै आएका छन्। यसबाहेक उनले प्रमुख राजनीतिक दलका शीर्ष नेता, नेताका परिवार र केही ठूला व्यापारिक घरानाविरुद्ध विवादित बयानहरू दिँदै आएका छन्। जसमा उनले भ्रष्टाचार बढ्नु र मुलुकको आर्थिक मन्दीको कारक भन्दै ती व्यापारिक घराना र नेता रहेको दाबी गर्दै आएका छन्। विवादित पृष्ठभूमिका प्रसाईं विगतमा नेकपा माओवादी केन्द्रमा रहँदा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र त्यसपछि नेकपा एमालेमा रहँदा एमाले अध्यक्ष केपी ओलीसँग निकट थिए। दुबै पार्टी एकीकरण हुँदा प्रसाईंले दाहाल र ओलीलाई आफ्नै घरमा बोलाएर चरेसको थालमा मार्सी भात खुवाएको तस्बिर भाइरल बनेको थियो।
पछिल्लो समय दुबै पार्टी र नेतासँग असन्तुष्ट हुँदै प्रसाईं सडकमा आएका छन्। उनीमाथि विभिन्न बैङ्कबाट अर्बौँ ऋण लिएर नतिरेको पनि आरोप लाग्ने गरेको छ।
प्रतिक्रिया