काठमाडौं ३० कात्तिक । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई ुबोगसु भन्दै आएका छन्।
केही समयअघि पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘बोगस आयोगले बोलायो भन्दैमा केपी ओली लुरूलुरू बयान दिन जाँदैन।’
ओलीले जाँचबुझ आयोगलाई ुडिसमिसु गर्दै यस्तो टिप्पणी गरे पनि कानुनी रूपमा गठन भएको आयोगले बयान लिन डाकेको अवस्थामा उनी जान्छन् कि जाँदैनन् र नगए के हुन्छ भन्ने चासोको विषय बनेको छ।
आयोगले अहिलेसम्म तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाइसकेको छैन। बोलाउने सम्भावना भने छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको यो आयोग जाँचबुझ आयोग ऐन, २०२६ अन्तर्गत गठन भएको हो। उक्त ऐन अनुसार कसैले आयोगको अवहेलना गरे कारबाही गर्न सक्ने व्यवस्था छ।
आयोगको अवहेलना गर्नेलाई ५०० रूपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था कानुनले गरेको छ।
केही समयअघि तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङले फिल्डमा खटिएका प्रहरीको विवरण नबुझाएको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्त नबुझेको खण्डमा अवहेलनाको कारबाही गर्ने तयारी समेत गरेको थियो।
‘कानुनले जाँचबुझ आयोगलाई अदालत सरहकै अधिकार दिएको छ। अदालतले जे–जस्ता काम गर्छन्, ती सबै काम गर्ने अधिकार आयोगलाई छ। आयोगले कसैलाई पनि बोलाउन सक्छ र बयान लिन सक्छ। फरक भनेको यसले अदालतले जस्तो फैसला गर्न पाउँदैन। यसको काम प्रतिवेदनमा राय पेस गर्ने हो,’ अधिवक्ता भीमार्जुन आचार्यले बताए।
आयोगले कसैलाई बयानका लागि बोलाउँदा व्यक्ति आफै उपस्थित भएर आफ्नो असहमति जाहेर गर्न सक्छ ।
अवहेलनामा गरिने कारबाही भने सांकेतिक रहेको उनले बताए।
जाँचबुझ आयोगको काम, कर्तव्य र अधिकारमा आयोगमा उपस्थित गराएर बयान लिने, लिखत पेस गर्न आदेश दिने, प्रमाण बुझ्ने र सरकारी कार्यालयबाट नक्कल झिकाउन सक्ने भनिएको छ। यसले प्रचलित कानुन बमोजिमका अन्य अधिकार पनि प्रयोग गर्न सकिने भनिएको छ।
असोज १२ गते आयोगले ओली, लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश भ्रमण जान रोक लगाउने र काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गरेको थियो।
काठमाडौं उपत्यका छाड्न निषेध गरेपछि नै ओलीले सुशीला कार्कीको सरकारदेखि आयोगमाथि सार्वजनिक रूपमा प्रश्न उठाउन थालेका थिए।
प्रतिक्रिया