काठमाडौं, २९ कात्तिक । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति र सभामुखविरुद्ध सात राजनीतिक दलले आन्दोलन जारी राखेका छन् । मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको र सभामुखले पदीय आचरणविपरीत कार्य गरेको भन्दै राजनीतिक दलहरूले कार्यकर्ता उतारेर शनिबार ९कात्तिक २९० जनकपुरमा प्रदर्शन गरेका हुन् ।प्रदेशसभा सदस्यहरूले यसअघि पनि मधेस भवनअगाडि धर्ना दिँदै आएका थिए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलका नेताको हैसियतले नेकपा ९एमाले०का सरोजकुमार यादवलाई कात्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनले कात्तिक २४ गते यादवलाई एक होटेलमा शपथग्रहण गराएकी थिइन् ।
सात दलले ७४ प्रदेशसभा सदस्यको समर्थन रहेको भन्दै संविधानको धारा १६८ को उपधारा २ का आधारमा बहुमतीय सरकार बनाउन आग्रह गरेका थिए । तर, प्रदेश प्रमुखले गलत नियतले उपधारा ३ प्रयोग गरेर एमालेको नेतृत्वमा सरकार बनाएको भन्दै सात दलका नेताले विरोध प्रदर्शन गर्दै आएका छन् ।
सात दलले सभामुख रामचन्द्र मण्डलविरुद्ध पदीय आचरणविपरीत कार्य गरेको भन्दै यसअघि नै अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सभामुख मण्डलविरुद्धको अविश्वासको प्रस्ताव लिएर जाने क्रममा बिहीबार (कात्तिक २७) सांसदमाथि हातपात समेत भएको थियो ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपछि सभामुख मण्डलले सोही दिन पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका थिए । सरकार गठन र सभामुखको कदमका विरोधमा सातदलीय मोर्चाले कार्यकर्ता उतारेर शनिबार जनकपुरमा प्रदर्शन गरेका हुन् ।
यसैबीच, मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी राउतले चौरमा प्रदेशसभा सञ्चालन गरेकी छन् । सभामुखमाथि अविश्वासको प्रस्ताव दर्ता गरिएपछि यसको प्रक्रिया अगाडि बढाउनुपर्नेमा उपसभामुख राउतले जोड दिइन् ।
उनले सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसदहरूलाई पदमुक्त गर्न नमिल्ने जिकिर गरिन् ।
प्रतिक्रिया