एमाले महाधिवेशमा २१२७ प्रतिनिधिमध्ये झण्डै आधा पदेन र मनोनित !

काठमाडौं २८ कात्तिक, । नेकपा एमालेले एकैपटक आगामी १३ मंसिरमा देशभर महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
यो महाधिवेशनमा अध्यक्ष ओलीले उद्घाटन भाषण गर्ने र सिधै नेतृत्व छनोट गर्ने चरणमा प्रवेश गर्ने यस अघि नै सार्वजनिक गरिसकेका छन्।

एमालेको महाधिवेशनमा अघिल्लो महाधिवेशन भन्दा भूगोलबाट चुनिएर आउने प्रतिनिधि संख्याघटाइएकोे छ ।

यो महाधिवेशनमा त झण्डै आधा प्रतिनिधि गैरभौगोलिक संरचनाबाट चयन गर्ने एमालेले निर्णय गरेको छ । १८ कात्तिकमा जारी अपानि–१३, अनुसार एमालेले प्रतिनिधि छनोटको आधार प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई मुख्य मानेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा रहेका पार्टी सदस्यहरु मध्ये १२०० सयलाई आधार मानेर ४ जना प्रतिनिधि चयन हुनेछन् । जसमा एक जना महिला र एक जना ४० वर्ष मुनिका युवा अनिवार्य हुनेछन् । यसपछि थप ८०० सदस्य संख्या बराबर एक जना प्रतिनिधि थपिँदै जानेछन् ।

यसरी मूल भूगोल मानिएको प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट १,१३५ जना प्रतिनिधि चुनिएर आउनेछन् । जबकि यो महाधिवेशनमा २,१२७ जना प्रतिनिधि सहभागी हुने निर्णय गरिसकेको छ ।

त्यसबाहेकका बाँकी प्रतिनिधिहरू माथिल्लो पार्टी संरचना र गैरभौगोलिक क्षेत्रबाट चयन हुनेछन् । ३५५ जना केन्द्रीय सदस्य पदेन प्रतिनिधि हुनेछन् । केन्द्रीय अनुशासन आयोगबाट २९, केन्द्रीय लेखा आयोगबाट ३०, केन्द्रीय निर्वाचन आयोगबाट २५, केन्द्रीय सल्लाहकार परिषदबाट २५, विशेष सहित प्रदेश समितिबाट ४५ र विशेष जिल्ला कमिटीहरुबाट ४७ जना प्रतिनिधि चयन हुनेछन् ।

दलित प्रतिनिधि ८१, मजदुर प्रतिनिधि ४९, प्रवासबाट ३५, केन्द्रीय विभागबाट ३२, केन्द्रीय कार्यालयबाट १ र जनसंगठनहरुबाट १३७ जना प्रतिनिधि चयन हुनेछन् ।

अरू १०१ जना प्रतिनिधि मनोनीत हुनेछन् । कुल प्रतिनिधिको ५ प्रतिशत मनोनीत गर्ने एमाले विधानको व्यवस्था छ । एमालेले तय गरेको मापदण्ड बमोजिम २०२६ जना प्रतिनिधि चयन हुने भएकाले यसको ५ प्रतिशत प्रतिनिधि मनोनीत हुनेछन् ।

माथिबाट मनोनीत हुने निकाय हाबी हुनेगरी भूगोलको प्रतिनिधित्व संख्या घटाइएकोप्रति जिल्ला नेताहरुले भने देशभर नै चर्को असन्तुष्टि जनाएका छन् । तर यो निर्णय अब बदलिने अवस्था नभएको पार्टी प्रचार विभाग प्रमुख तथा स्थायी कमिटि सदस्य राजेन्द्र गौतमले बताए ।

२०७८ मंसिरमा चितवन महाधिवेशनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा भूगोलबाट आउने प्रतिनिधि संख्या १,५६२ जना थियो ।

चितवन महाधिवेशनमा कुल प्रतिनिधि २,१७५ थिए, यसपटक २,१२७ ल्याउने तय भएको छ । अर्थात् चितवन महाधिवेशनमा प्रतिनिधि सभा भन्दा माथिल्लो संरचना र गैरभूगोलबाट प्रतिनिधि भएर आउने संख्या ६१३ जना मात्रै थियो । यसपटक त्यस्तो संख्या ९९२ पुर्‍याइएको छ ।

केन्द्रीय कमिटीको आकार बढेको, केन्द्रीय विभागहरुबाट आउने संख्या थपिएको, तर तलबाट आउने संख्यामा कडाइ गरिएकाले यस्तो अवस्था आएको प्रचार विभाग प्रमुख गौतमले स्पष्टीकरण दिएका छन् ।

अघिल्लो महाधिवेशनमा विभाग र केन्द्रीय कार्यालयबाट जम्मा ५ जना प्रतिनिधि गएका थिए । यसपटक केन्द्रीय कार्यालयबाट एक जना र हरेक विभागबाट एकरएक जना गरी ३२ जना प्रतिनिधि चयन हुँदैछन् ।

। चितवन महाधिवेशनका बेला २५९ जना केन्द्रीय सदस्य रहेकोमा यसपटक केन्द्रीय कमिटी सदस्यहरु ३५५ जना रहेका छन् ।

अघिल्लो महाधिवेशनमा ८ लाख ५५ हजार ४५३ जना पार्टी सदस्यलाई आधार मानेर प्रतिनिधि चयन गरिएको थियो ।

यसपटक पार्टी सदस्य संख्या ६ लाख ६३ हजार ६३० जनालाई आधार मानिएको छ ।
एमाले संस्थापन इतरका नेताहरू भने पार्टी नेतृत्व हत्याउनलाई भूगोलको प्रतिनिधि संख्या घटाइएको आरोप लगाइरहेका छन् । ‘अध्यक्ष नजिक रहेका नेताहरुले १५ सय भन्दा बढी प्रतिनिधि ल्याउन हुँदैन भनेर वकालत गरेका थिए,’ संस्थापन इतरका एक नेता भन्छन्, ‘यदि उहाँहरुले भनेको संख्यामा हामीले मानेका थियौं भने भूगोलबाट ६ सय हाराहारी मात्र आउने रहेछन्, ९ सय त माथिल्ला संरचनाबाट आउँदैछन् । सम्झनुस्, त्यो परिस्थिति कस्तो हुन्थ्यो ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति