काठमाडौँ : मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मन नपाउने भएपछि राजीनामा दिएका छन् । कांग्रेस र एमालेलाई पाखा लगाएर मुख्यमन्त्री बनेका सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको हो । सोनलले शनिबार मधेस प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम थियो ।
मुख्यमन्त्री बनाउन समर्थन गरेका सांसद विपक्षी कित्तामा उभिएपछि सोनलले विश्वासको मत नपाउने सुनिश्चित भएको थियो । आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि विश्वासको मतका लागि प्रक्रिया नै सुरु नहुँदै उनले राजीनामा दिएका हुन् ।
सोनल संविधानको धारा १६८ (२ ) बमोजिम असोज २९ गते मुख्यमन्त्री नियुक्ति भएका थिए । सोनल गएको असोज २९ गते जनता समाजवादी पार्टी, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी गरी पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
संविधानअनुसार धारा १६८ (२) अन्तर्गतको नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि संसद्को ठूलो दलको हैसियतले अब एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुनेछन् ।
संविधानको धारा १६८(३) मा प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्थ नभएमा वा त्यसरी नियुक्ति मुख्यमन्त्रीले उपधारा (४) बमेजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरु भएको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्ति गर्नेछ भन्ने व्यवस्था छ ।
संविधानको धारा १६८ (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले पनि विश्वासको मत नपाएमा संविधानको धारा १६८(५) बमोजिम प्रदेशसभाका सदस्यरुमध्ये विश्वासको मत प्राप्त गर्न सक्ने सांसदलाई मुख्यमन्त्री नियुक्ति गर्ने व्यवस्था छ ।
आज सदनमा विश्वासको मत नपाउने देखेपछि पदबाट राजीनामा घोषणा गरेका मुख्यमन्त्री सोनल प्रदेश प्रमुख सुवेदी समक्ष समेत राजीनामा पत्र बुझाएका थिए ।
उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका थिए । लगत्तै उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत २९ असोजमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नियुक्त गरेकी थिइन् ।
१०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा बैठकमा अनुपस्थित थिए ।
मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।
नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित भएकी थिइन् ।
माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह गरेका थिए ।
मधेस प्रदेश सभा बैठक चलिरहेको बेला माओवादी सांसदले आफैलाई दले मोसो

मधेस प्रदेस सभाको बैठक चलिरहेकै समयमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रहबर अन्सारी आफ्नै अनुहारमा मोसो दलेका छन्।
मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा बोल्दै रहबर अन्सारीले प्रदेश सभामा रहेका कुनै पनि प्रदेशसभा सदस्यहरूसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै विश्वासको मत नदिने भन्दै आफ्नो अनुहारमा मोसो दलेका हुन्।
उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै प्रदेश सभा सदस्यहरू जनताको मर्मअनुसार काम गर्न नसकेकाले यो प्रदेश सभामा रहेका प्रदेशसभा सदस्यहरूले निकास दिन नसक्ने स्पष्ट गरे।
उनले भने, ‘आज हामी सबैले गल्ती स्वीकार गर्ने समय आएको छ, अहिलेका हामीमध्ये कोहीसँग सरकारको नेतृत्व गर्ने अधिकार छैन।’
अन्सारीले बोलेलगत्तै माओवादी केन्द्रकै प्रदेश सभा सदस्य माला कर्णले पनि विश्वास मत नदिने घोषणा गरे।
उनले प्रदेश सरकारको पनि निर्णय केन्द्रले नै नियन्त्रण गरिरहेकाले आफू केन्द्रको निर्णयअनुसार अगाडि बढ्न नसक्ने बताए। –न्युज एजेन्सी नेपाल
प्रतिक्रिया