मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्नुपर्ने भन्दै चर्काचर्की

काठमाडौं २० कात्तिक। नेपाली कांग्रेसका नेताहरुले पार्टीको विधानअनुसार आगामी मङ्सिरभित्र नियमित महाधिवेशन हुन नसके केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यले राजीनामा दिनुपर्ने माग गरेका छन्।

केही जिल्ला सभापतिको सक्रियतामा आज राजधानीमा आयोजित कांग्रेस १५औँ महाधिवेशन बृहत् दबाबमूलक भेला कार्यक्रममा उनीहरुले तोकिएको समयमा महाधिवेशन हुन नसके त्यसको जिम्मेवारी नेतृत्वले मात्र नभई सिङ्गो केन्द्रीय कार्यसमितिले लिनुपर्नेमा जोड दिएका हुन्।

कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति पूर्वसांसद दुर्लभ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महोत्तरी सभापति नागेन्द्र यादव, रौतहट सभापति जितेन्द्र यादव, बागलुङका सभापति जीत शेरचन, कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुखसमेत रहेका काठमाडौं क्षेत्र नं. २ का पूर्वसभापति उपेन्द्र कार्की, वर्तमान क्षेत्रीय सभापति जयकृष्ण महर्जनलगायतले विधानले तोकेको समय आगामी मङ्सिरभित्र पार्टीको नियमित महाधिवेशन नभए केन्द्रीय समितिका सबैले राजीनामा दिएर तदर्थ समिति गठन गरी महाधिवेशन गरिनुपर्ने बताएका हुन्।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घ का पूर्वमहामन्त्री दीपक भट्टराई, नेपाल तरुण दलका केन्द्रीय सदस्य देव लामा, नेविसङ्घका पूर्वकेन्द्रीय सदस्यद्वय बद्री अर्याल र दीपक सोनी, कांग्रेस महाधिवेशन प्रतिनिधि गीता गुरुङ, पाटन बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति लाओसकुमार राईलगायतले मङ्सिरभित्र नियमित महाधिवेशन गर्न नसके केन्द्रीय समिति भङ्ग गरी तदर्थ समिति गठन गरिनुपर्ने, युवाका नाममा २० वर्षअघिदेखि तीन जना व्यक्तिको मात्र प्रतिनिधित्व भइरहने परिपाटीको अन्त्य गर्न माग गरेका हुन्।

कांग्रेस केन्द्रीय समिति बैठक : नियमित महाविधेशन चुनाव पछि हुनुपर्ने पक्षमा मत बलियो

कांग्रेस केन्द्रीय समिति बैठक : नियमित महाविधेशन चुनाव पछि हुनुपर्ने पक्षमा मत बलियो

नेपाली कांग्रेस केन्द्रीय कायसमितिको बैठकमा विहीबार केन्द्रीय सदस्यहरुले आफ्ना धारणा रखेका छन्। 

आजको बैठकमा कांग्रेसको नियमित महाधिवेशन आम निर्वाचनपछि हुनुपर्ने आवाज चर्को रुपमा उठेको छ। बैठकमा आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताए। 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बोल्दै खड्काले २०८३ साल जेठभित्र नियमित महाधिवेशन सम्पन्न गर्नेगरी पार्टी अघि बढ्नुपर्ने धारणा राखे । खड्काले भने, ‘नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म नै क्रियाशील हुन्छ।’ 

साथै खड्काले कांग्रेस कमजोर हुँदा राष्ट्रियतामाथि खतरा उत्पन्न भई नागरिक असुरक्षित हुने र लोकतन्त्र नै समाप्त हुने चेतावनी समेत दिए। सबै कुरा बिर्सेर पार्टीभित्र एकता कायम गर्नुपर्ने भनाई उनको थियो। 

‘सबै केन्द्रीय पदाधिकारी समेत वुथबाट प्रतिनिधी भएर आउने व्यवस्था गर्नुपर्छ र पार्टीभित्रका सबै तहमा कम्तिमा १० प्रतिशत जेनजी पुस्तालाई सिट सुरक्षित गर्नुपर्छ,’ उनले भने। खड्काले पार्टी विधानलाई समयानूकुल बनाउन एक विधायन संशोधन समिति तत्काल गठन गर्नुपर्ने माग समेत गरे। 

बैठकमा अर्का केन्द्रीय सदस्य विनोद चौधरीले आगामी चुनावमा कसले टिकट बाँड्ने भनेर अहिले पार्टीमा लडाइँ भइरहेको बताउँदै दुःख व्यक्त गरे। 

‘मैले यहाँ र बाहिर पनि सुनेँ, यो सम्पूर्ण लडाइँ टिकट कसले बाँड्ने भन्ने कुराको लडाइँ न हो यो, घुमिफिरि । प्रश्न टिकट कसले बाँड्ने भन्ने होइन, कस्तालाई टिकट दिने भन्ने हो भोलिका दिनमा पार्टीलाई जित्ने कसरी बनाउने हो ?,’ चौधरीले बैठकमा भने। 

नेता चौधरीले ठूला भनिएका दलहरूलाई अस्वीकार्य गरेको शक्तिसँग चुनाव लड्नुपर्ने अवस्था रहेको भनाई पनि राखे। उनले बैठकमा भने, ‘यी पार्टीको हातबाट देश र हाम्रो कल्याण छैन भनेर भास्य बनाइएको छ, त्यसका लागि हाम्रो पार्टीको रणनीति के हो? अरू दलले नयाँ अनुहारलाई भित्र्याएका छन्, हामीले के गर्ने हो? कांग्रेस रूपान्तरण भएको हेर्न चाहन्छु । जाग्यो र अर्कै ढंगबाट सबै ढोका खोलेको रूपमा हेर्न चाहन्छु । जेनजीलगायत सबैलाई हामी समेट्न तयार छौं?’

केन्द्रीय सदस्य एनपी साउदले महाधिवेशनको मिति निर्वाचन पछाडि तोक्दा फागुनको निर्वाचन पछाडि सरेको खण्डमा महाधिवेशन पनि अझ पछाडि सार्नु पर्ने बाध्यता हुने बताए। 

‘त्यसकारण महाधिवशेनलाई निर्वाचनको सापेक्षतामा हेर्नु पर्ने हुन्छ। निर्वाचनभन्दा अगाडि वा पछाडि महाधिवेशन गर्नुपर्ने भन्दा पनि फागुनमा निर्वाचन हुने सुनिश्चित भयो भने वैशाख र वैशाखमा निर्वाचन हुने भयो भने फागुनमै महाधिवेशन गर्न उपयुक्त हुन्छ,’ उनले भने।
 
साउदले जेनजी आन्दोलनले युवासम्म पुग्ने र उनीहरूको मुद्दा सम्बोधन गर्ने नयाँ अवसर दिएको समेत बताए। साउदले भने, ‘पार्टी र देश दुवै गम्भीर सङ्कटमा रहेको छ । कांग्रेस नेतृत्वलाई सङ्गठन पुनःजीवनका लागि युवा–केन्द्रित पुनरुत्थानमा जोड दिन आवस्यक छ ।’ नेता साउदले आन्दोलनले मुलुकको सम्पत्ति, राजनीतिक स्थायित्व र पार्टी संरचनामा गहिरो असर पारेको समेत बताए।

केन्द्रीय सदस्य साउदले विश्वमा भएका जेनजी आन्दोलनको दृष्टान्त दिँदै बङ्गलादेश, श्रीलङ्का, मेडागास्करदेखि इस्ट टिमोरसम्म कतै पनि जेनजी आन्दोलन संस्थागत भएर राज्य सञ्चालनमा नपुगेको भनाई पनि राखे। 

उनले कांग्रेसभित्र ४० वर्ष मुनिका युवाको सहभागिता दयनीय भएको पनि बताए। पार्टीभित्र असन्तुष्ट नेताहरूको मागलाई बेवास्ता गर्न नहुने सुझाव पनि उनले दिए। मंसिरभित्र महाधिवेशन सम्भव नदेखिए पनि फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको अवस्थाअनुसार महाधिवेशनको समय तय गर्न सकिने उनको सुझाव छ। 

यस्तै, केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव नै पेस गरे । महरले पार्टीको विधानलाई नै युवामैत्री बनाइनुपर्ने बताए। उनको प्रश्तावमा कांग्रेसलाई समयसापेक्ष, गतिशील र ऊर्जावान् बनाउन वडा तहदेखि केन्द्रीय समितिसम्मका सबै संरचनामा युवाहरूको अनिवार्य र अर्थपूर्ण सहभागिता आवश्यक रहेको उल्लेख छ। 

‘पार्टीका सबै तहमा कम्तीमा पनि एकतिहाइभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व रहने गरी विधानलाई युवामैत्री बनाउनुपर्छ। यस्तो व्यवस्थाले पार्टीको निर्णय प्रक्रियामा युवा दृष्टिकोण समावेश हुने छ र देशका बहुसंख्यक युवा मतदातालाई कांग्रेससँग जोड्न सकिने छ,’ महरले भने। 

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महामन्त्रीबाट अधिवेशनका लागि आगामी पुस १६–१९ को लागि र सहमहामन्त्रीजीबाट निर्वाचनपछि बैशाख २७–३० को प्रस्ताव प्रस्तुत भएको भन्दै वस्तुगत परिस्थितिलाई आग्रह–पूर्वाग्रह विहिन भएर सोच्न आग्रह गरे। 

‘यथास्थितिमा निर्वाचनको कुरा गर्नु घातक हुन्छ । आमजनता र कार्यकर्ता साथीहरूको भावनालाई लत्याउने काम नगरौं,’ केसीले भने, ‘आगामी चुनावको बारेमा र मुलुकको पेचिलो परिस्थितिमा कांग्रेसको अबको मार्गचित्र सार्वजनिक गर्न पार्टीको नियमित वा विशेष महाधिवेशनको अनिवार्य आवश्यकता छ।’

केसीले चुनावको मिति आउन आजबाट ११९ दिनमात्र बाँकी रहे पनि घोषित निर्वाचन निर्धारित मितिमा हुने सुनिश्चितता नदेखिएको बताए। 

‘सरकारी खजानाबाट ५०० भन्दा धेरै थान हतियार लुटिएको छ । शान्ति–सुरक्षाको प्रत्याभूति बिना निर्वाचन सम्भव छैन। लोकतान्त्रिक विधि र प्रक्रियापूर्वक चुनाव नहुने हो भने फागुन २१ पछि आईलाग्ने परिस्थिति हालको भन्दा खराब हुनसक्छ,’ उनले भने, ‘त्यो अवस्थामा प्रतिनिधिसभाको पुनःस्थापनाको औचित्य अनि शुरू हुन्छ। अहिले हाम्रो एक सूत्रीय कार्यक्रम निर्वाचन हो, यसमा विवाद छैन।’ 

केसीले अतिवादी सोच भन्दा माथि उठेर नियमित महाधिवेशन वा सहमतिमा एकताबद्ध विशेष महाधिवेशनको विकल्प पनि प्रश्तुत गरे। 

केन्द्रीय सदस्य मोहन आचार्यले फागुन २१ गते सहज रुपमा निर्वाचन हुन्छ भन्ने नलागेको बताए। आचार्यले विशेष महाधिवेशनको माग गरिएको सन्दर्भ उल्लेख गर्दै पार्टी विधानको १७ (२) आकर्षित हुने भनाई राखे। 

‘यसलाई हामीले कसरी सम्बोधन गर्ने हो यसमा नेताहरू गम्भीर हुनुपर्छ । नेपाली कांग्रेस विशिष्ट समयमा विशेष महाधिवेशनमा गएको थियो । तर यसले राम्रो परिणाम दिन्छ जस्तो लाग्दैन। त्यही भएर मेरो आग्रह छ, निर्वाचन अघि नियमित अधिवेशन गरेर आगामी निर्वाचनमा होमिऔं,’ बैठकमा बोल्दै केन्द्रीय सदस्य धना खतिवडाले चुनाव हुन नसक्ने बताउँदै नियमित अधिवेशन हुनुपर्ने बताइन्। 

बैठक शुक्रबार पनि निरन्तर रहेको छ। 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति