पठाओ प्रबन्ध निर्देशक नै जेनजी आन्दोलनका तोडफोडकर्ता

काठमाडौं २० कात्तिक। जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको ग्यास गन (अश्रु ग्यास) सहित थप एक व्यक्ति पक्राउ परेका छन् ।

३ थान हतियारसहित बुधबार पक्राउ परेका पठाओ चालक शिवराज धमलाको बयानका आधारमा अनुसन्धान गर्दा बिहीबार तीनकुनेबाट उक्त ग्यास गन बरामद भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

उक्त हतियारको साथमा जीवन चलाउने नामक युवक पनि पक्राउ परेका छन् । उनी तीनकुने डेरा गरी बस्ने विद्यार्थी हुन् ।

बुधबार पक्राउ परेका धमला र चलाउने साथी हुन् । दुबै कैलाली, टीकापुरका बासिन्दा भएको एसपी आचार्यले बताए । ग्यास गन डेरामा राखेर चलाउने कैलाली गएका थिए । धमलालाई नियन्त्रणमा लिएपछि उनैले एकथान हतियार चलाउनेको डेरामा रहेको बताएपछि प्रहरीले हतियारसहित उनलाई नियन्त्रणमा लिएको हो ।

धमलालाई प्रहरीले बुधबार काठमाडौंको तारकेश्वरबाट पक्राउ परेका थिए ।
अपराध महाशाखाको टोलीले उनलाई चलाखीपूर्वक नियन्त्रण लिएको थियो । महाशाखामै कार्यरत महिला प्रहरी धमलासँग फेसबुकमा साथी बनेर प्रेमिल कुरा गरेपछि उनी पग्लिएका थिए । त्यसपछि उनी ती महिलासँग भेट्न राजी भएर बोलाएको ठाउँमा पुगेपछि प्रहरीले समातेर उनको कोठामा लगेको थियो ।

उनले हतियार बेच्ने भनेर सम्पर्क गरेका व्यक्तिमार्फत प्रहरीले पहुँच बनाएको थियो । महिला प्रहरी एकातिर केटी साथी बनेर उनलाई विभिन्न कुरामा लठ्ठ पारिरहेका थिए भने अर्कोतर्फ हतियार किन्ने व्यक्ति पनि आफ्नो सम्पर्कमा रहेका भनिरहेका थिए । उनले कुराकानीकै क्रममा च्याटमा हतियारको फोटो पठाएपछि प्रहरी ढुक्क भएर अप्रेसनमा लागेको थियो ।

कोठामा सर्टगन,इन्सास र एउटा पिस्तोलतथा रबर गन भेटिएको थियो । ग्यास गन भने साथीको रहेको बयान दिएका थिए । उनको कनेक्सनबाट अरुको पनि खोजी भइरहेको महाशाखा प्रमुख एसएसपी रमेश बस्नेतले बताए । धमलाले आन्दोलनका बेला आफूसहित पठाओका धेरै राइडर सहभागी भएको बयान दिएका छन् ।

नेपाल प्रहरीका विभिन्न युनिटले भदौ २४ को आगजनी,लुटपाट र विध्वंशमा संलग्न रहेकाहरुलाई भिडिओ तथा अन्य प्रमाणका आधारमा पक्राउ गर्दा अधिकांश अपराधिक पृष्ठभूमिका छन् । पक्राउ पर्नेहरुमा पठाओ राइडरहरु पनि उल्लेख्य पाइएको छ । उनीहरुले सामाजिक संजाल बन्द भएपछि कमाइ घटेकाले आन्दोलनमा गएको बयान दिएका छन् ।

पठाओका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यात आफैं जेनजी आन्दोलनको आह्वानकर्ता थिए । उनले आन्दोलनमा आह्वानमात्र गरेका थिएनन्,आगजनी र लुटपाटका घटनालाई ‘ग्लोरिफाइ’ गर्दै नेताहरु भागेको भनेर भिडिओ बनाएका थिए । उनी प्रधानमन्त्री सुशीला कार्कीको सपथग्रहणमा समेत गएका थिए भने आफूलाई मन्त्रीका रुपमा प्रचार समेत गराएका थिए ।

नेपाली सेनाका एक अवकाशप्राप्त उच्च अधिकारीका छोरा असिममानमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।आगजनी र प्रहरीका हतियार लुटपाटमा पठाओ राइडरहरुको संलग्नता देखिएपछि उनीमाथि प्रश्न उठेको हो । यद्यपी पठाओले संस्थागतरुपमा भने राइडरहरुलाई कुनै निर्देशन नदिएको उनीहरुले बताएका छन् । आफूहरु स्वस्फूर्त आन्दोलनमा लागको बयान अधिकांशले दिएका छन् ।

म्यानेजमेन्टमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट मानविकीमा स्नातकोत्तर गरेका बस्नेतले आफूलाइ राष्ट्रिय मञ्चका साथै अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा समेत चर्चित वक्ताका रूपमा युवाहरूलाई निरन्तर प्रेरणा दिने व्यक्तिका रुपमा परिचित गराउँदै आएका छन् ।

पठाओ नेपाल प्रबन्ध निर्देशकका रूपमा, उनले नेपालको अस्तब्यस्त यातायात प्रणालीमा डिजिटल सुधार गरि जनजीवन सहज बनाएको दावी गरेका छन् । उद्योगमन्त्रीमा दावी गरेका बस्न्यातमाथि आपराधिकउ उपद्रव र बिध्वंशमा कारवाहीको माग गर्दै काठमाडौं र कैलालीमा जाहेरी समेत परेको छ । तर सुदन गुरुङ,निश्चल बस्नेतहरुसँगैको जाहेरी दर्ता भने भएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति