नेपालपेज टिप्पणी: काठमाडौं । सन् १९०५ को रुसी साम्राज्यमा रक्तपातपूर्ण विद्रोहले जारको शासन हल्लाएको थियो । मजदुरहरूको हडताल, किसानहरूको विद्रोह र सैनिकहरूको असन्तुष्टिले बोल्शेभिकहरूको उदयको बीउ रोप्यो भने भ्लादिमिर इलिच लेनिन, निर्वासनबाट फर्केर, रुसी सोसल डेमोक्रेटिक लेबर पार्टी (आरएसएलडीपी) का विभाजित धाराहरूलाई एकीकृत गर्ने महान् अभियानमा लागेका थिए । उनले जर्ज प्लेखानोभजस्ता मेन्सेभिक पुराना गुरुहरूलाई, जुलियस मार्तोभजस्ता मध्यमार्गीहरूलाई र निकोलाई बुखारिनजस्ता युवा क्रान्तिकारीहरूलाई समेत बोल्शेभिकको छातामुनि ल्याउने सफलता हासिल गरेका थिए । १९१७ को अक्टोबर क्रान्ति र १९१९ सम्मको गृहयुद्धमा लेनिनको संयोजनकारी नेतृत्वले विरोधीहरूलाई मिलाएर सोभियत संघको जग बसाल्ने ऐतिहासिक योगदान गरेको थियो । यो इतिहास नेपालमा पुष्पकमल दाहाल प्रचण्डको नवीनतम कम्युनिस्ट एकता अभियानमा पुनः एकपटक झल्केको छ । १९ कात्तिकमा भृकुटीमण्डपमा घोषित “नेपाली कम्युनिस्ट पार्टी” प्रचण्डको लेनिनजस्तै अवतार माने पनि हुन्छ, जहाँ माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठदेखि मधेशी आन्दोलनका महेन्द्र राय यादवसम्मका साना–ठूला समूहका नेताहरूलाई एकै मञ्चमा उभ्याउने मात्र होइन, ती सबै नेताहरुले प्रचण्डको नेतृत्व क्षमताको कदरगरे बाट प्रचण्डको उचाई अरु तन्काइदिएको देखिन्छ ।
रुसी क्रान्तिकारी उथलपुथल र नेपालको कम्युनिस्ट प्रयोगशाला
यो एकता पनि लेनिनको १९०५–१९१९ को संघर्षझैं विभाजनको खरानीबाट उदाएको जस्तै देखिन्छछ, जसले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ क्रान्तिकारी मोड दिने ऐतिहासिक अवसरको ढोका खोलेको छ । यसको अभिवष्य भने नेताहरुको आगामी दिनको भूमिकाले स्पष्ट गर्नेछ ।
लेनिनको ऐतिहासिक संयोजनः १९०५ को विद्रोहदेखि १९१९ को विजयसम्म
सन् १९०५ को ‘ब्लडी सन्डे’हत्याकाण्डले रुसलाई क्रान्तिको भुमरीमा धकेपछि आरएसएलडीपी दुई धारमा विभाजित भएको थियो? लेनिनका बोल्शेभिकहरू (बहुमतवादी, क्रान्तिकारी सशस्त्र संघर्षका पक्षधर) र मार्तोभका मेन्सेभिकहरू (अल्पमतवादी, क्रमिक सुधारवादी)। प्लेखानोभ, जो मार्क्सवादका रुसी पिता थिए, उनी समेत मेन्सेभिकतिर ढल्किएका थिए। बुखारिनजस्ता युवा बौद्धिकहरू बोल्शेभिकमा थिए तर आन्तरिक विवादले पार्टी छिन्नभिन्न बन्दै थियो । लेनिनले १९०५ को विद्रोहलाई अवसर बनाउँदै निर्वासनबाट फर्केर, पत्रपत्रिका र भूमिगत बैठकहरू मार्फत विरोधीहरूलाई बोल्शेभिक लाइनमा ल्याउने सफलता हासिल गरे। १९१७ को फेब्रुअरी क्रान्तिपछि प्रोभिजनल गभर्नमेन्टविरुद्ध ‘अप्रिल थेसिस’मार्फत उनले प्लेखानोभलाई तटस्थ बनाएका थिए भने मार्तोभलाई वार्तामा ताने र बुखारिनलाई सैद्धान्तिक व्याख्याताका पदवी दिएर हतियार बनाएका थिए।

१९१८–१९१९ को लालसेना गठनमा यी सबैको योगदानले श्वेत सेनालाई पराजित गर्यो। लेनिनको रणनीति थियोः विरोधीहरूलाई मिलाउनु, तर बोल्शेभिक नेतृत्व कायम राख्नु। यो संयोजनले कम्युनिस्ट पार्टीको एकाधिकार स्थापित गर्यो, जसले विश्व क्रान्तिको जग बसाल्यो।
प्रचण्डको लेनिनीय संयोजनः विभाजनबाट एकतातर्फ
नेपालको कम्युनिस्ट आन्दोलन पनि १९४९ देखि नै विभाजनको शिकार बन्दै आएको छ – त्यसका अगुवाका रुपमा अन्त्त पुष्पलालदेखि प्रचण्डसम्मको लामो पंक्ति छ नै । तर प्रचण्डको यो एकता लेनिनको १९०५–१९१९ को यात्रा जस्तै प्रतित हुन्छ । । २०७४ को वाम गठबन्धन र २०७५ को नेकपा एकतामा प्रचण्डले एमालेका केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, देखि कुनै बेला मेन्सिभिककै भूमिकामा देखिएका नारायणकाजी श्रेष्ठलाई एउटै कमिटि सचिवालयमा ल्याएको उदाहरण –लेनिनले प्लेखानोभ–मार्तोभहरुलाई जम्मा गरेजस्तो मान्न पनि मिल्छ । तर २०७७ को सर्वोच्च अदालतको फैसलाले नेकपा छिन्नभिन्न पार्योः एमाले फुट्यो, एकीकृत समाजवादी बन्न पुग्यो, वामदेवले छुट्टै समूह बनाए। माओवादी पनि विभाजित भयो – रामबहादुर थापा एमालेतिर लागे, अहिले जनार्दनहरुले सिंग निकालेका छन्
जेनजी विद्रोह (युवाहरूको सुशासन आन्दोलन) ले १९०५ को रुसी विद्रोहझैं कम्युनिस्टहरूलाई ‘घोच्यो’। प्रचण्डले भने, ‘तपाईंहरूको आन्दोलनले हामीलाई एकता गर्न बाध्य बनायो।’ यो विद्रोहपछि प्रचण्डले लेनिनले जस्तै अनेकथरिी तर्कना गर्दै अन्तत कम्युनिष्ट समूहरुको संयोजनलाई आफ्नो लक्ष्य बनाए ।
प्रचण्डले पद, नाम, चिन्ह सब फेर्ने ऐतिहासिक छलांग लगाएका छन्ः चुनाव चिन्ह पाँचकुने तारा, नामः नेपाली कम्युनिस्ट पार्टी।
पञ्चायतकालदेखिको सम्बन्ध स्मरण गर्दै माधव नेपालसँगको वार्ता, जनयुद्धकालीन रोल्पाको लिबाङ समझदारी (प्रचण्ड–बाबुराम बनाम वामदेव–युवराज ज्ञवाली), शान्ति प्रक्रियाकै दौरान झलनाथलाई प्रधानमन्त्री बनाउने जुक्ति – यी सबैले अहिलेको पुनः एकताको आधार तयार पारकेो मान्न सकिन्छ । १९ कात्तिकको एकता सम्मेलनमा १० घटक (माओवादी केन्द्र, एकीकृत समाजवादीसहित) मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छः संयोजक प्रचण्ड, सह–संयोजक माधव नेपाल बनेका छन् । मञ्चमा झलनाथ (बिहान मात्र सामेल, अघिल्लो रात ओली भेट्न गुण्डु पुगेका थिए तर विहानको प्रचण्ड मोहनीले काम गर्यो । वामदेव गौतम (हालै एकीकृत समाजवादीमा प्रवेश गरेका तर चरम अस्थिर देखिंदै आएका नेता र केही हदसम्म जनार्दनहरुलाई उकासिरहेका , नारायणकाजी समेत खडा भए । कम्युनिष्ट आन्दोनबाट मधेशी आन्दोलनका नेता बनेका महेन्द्र राय यादवजस्ता नेताहरु पनि प्रचण्डको नेतृत्वमा बस्न तयार भए । कम्युनिष्ट बन्नका लागि उनलाई झण्डै १९ वर्ष लाग्यो । त्यतिमात्र होइन सुवोधरा काफ्ले,कर्णजित बुढाथोकी, राजु कार्की जस्ता कुनै बेलाका प्रचण्डका तल्लो तहका कार्यकर्ताहरुले पनि प्रचण्डलाई थप हौसला भर्न पुगेको देखियो भने प्रचण्डले सहजै आफू सरह उद्घाटनको रिमोट थिच्न लगाएर उच्च सम्मान प्रकट गर्ने अभूतपूर्व उदारता पनि प्रदर्शन गरे ।जसरी लेनिनले साना क्रान्तिकारी समूहलाई समेटेर क्रान्तिपछि रुसी कम्युनिष्ट ापर्टी गठन गरेका थिए ।
तत्कालीन नेकपाका ९ सचिवालय सदस्यमध्ये ५ (प्रचण्ड, माधव, झलनाथ, वामदेव, नारायणकाजी) एकठाउँ खडा हुने स्थितिलाई माधव नेपालको प्रशांशा र दावी नै काफी छ । यो लेनिनको बोल्शेभिक एकीकरणझैंः विरोधीहरूलाई मिलाएर नेतृत्व आफैंमा रहने शैली पनि हो । प्रचण्डले ३३ मिनेटको भाषणमा भने, ‘दश वटा कम्युनिस्टको एकता अभूतपूर्व हो।’ उनले चुनौती स्वीकारेका छन् – झलनाथको सर्तसहित सहमति, वामदेवको एक करोड सदस्य दाबीले भने पक्कै पनि प्रचण्डलाई केही असहज बनाएको पनि उनले सम्वोधनमा लुकाएनन् । यसरी उनी लेनिनजस्तै खुला दिलदार देखिए ।
प्रचण्डको प्रयोग फुटाएर जोड्ने लेनिनीय रणनीति

प्रचण्डको राजनीति लेनिनकोझैं प्रयोगधर्मी छ। मदन भण्डारीको जबजविरुद्ध २०४८ चितवन महाधिवेशनमा ‘माओवाद’ र जनयुद्ध पारित गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रचण्डले पुरै आफूतिर सोझ्याएका थिए । २०५२ बाट सशस्त्र विद्रोहको शुरुवात र २०५७ मा ‘प्रचण्डपथ’ को भाष्यले उनकै शब्दमा विचित्र छलांग लगाएको थियो । शान्तिपछि नारायणकाजींसँग एकता गर्दा प्रचण्डपथ छोड्न पनि उनले कुनै अप्ठेरो मानेनन् । २०७३ मा १० माओवादी घटकसँग एकता (रामबहादुर थापा, देव गुरुङ आदि), गर्दा फेरि पार्टी नाम बदलेर माओवादी केन्द्र बनाए, त्यस अघि मशालबाट एकताकेन्द्र–माओवादी र एनेकपा(माओवादी) बनाइसकेका थिए । २०७५ मा एमालेसँग एकतापछि पार्टीको नाम नेकपा बनाउँदै जनयुद्धकालील सवै जार्गन एकैपटक विसाएका थिए । तर अदालतले एकता भंग गरेपछि भने उनलले फेरि माओवादी केन्द्र कायम गरेर पार्टीभित्र प्रतिगमनजस्तो अवस्थामा अल्मलिन पुगेका थिए ।
यो एकताका बेला पनि प्रचण्डले पार्टीहरुलाई फुटाएर जोडेको मान्न सकिन्छ । माओवादीबाट जनार्दन शर्मा, राम कार्की, सुदन किराँती छुट्टिए भने एकीकृत समाजवादीबाट घनेन्द्र बस्नेत, घनश्याम भूसाल अलग भए । बाबुराम भट्टराई र विप्लवको पार्टी फुटेर एकतामा आयो । ५ माओवादी पृष्ठभूमिका (गोपाल किराँती, केशव दाहाल, चिरन पुन, कर्णजित बुढाथोकी) र ५ एमाले पृष्ठभूमिका घटक मिलेर पुनः एकता हुन पुग्यो । । प्रचण्डले पद, नाम, चिन्ह सब फेर्ने ऐतिहासिक छलांग लगाएका छन्ः चुनाव चिन्ह पाँचकुने तारा, नामः नेपाली कम्युनिस्ट पार्टी। नेतृत्वको बहस खुला गरिदिए र महाधिवेशनसम्म विधि बनाउने घोषणाले नवयुवाहरुलाई जोश्याएको छ । जनार्दनहरूले ुपद सुरक्षित गर्ने औजारु भने पनि प्रचण्डले लेनिनझैं अन्य पार्टी फुटाएर आफू बलियो हुनेगरी एकता गरेका छन् । यसले समाजवादी यात्रा कसरी अघि बढ्छ भन्ने त हेर्न बाँकी नै छ । कहिलेकांही मयुर बनाउन खोज्दा ऊँट बन्ने खतरा पनि हुन्छ भन्ने प्रचण्ड जस्ता चुतर अनुभवी खेलाडीलाई थाहा नहुने कुरै भएन ।
प्रचण्डको यो अवतारले १२ लाख सदस्य, २ हजार केन्द्रीय सदस्यसहित कांग्रेस–एमालेसँग बराबरीको पार्टी बनाएको प्रविधिक सन्देश दिए पनि आसन्न निर्वाचनको परिक्षणपछि मात्र शक्ति स्थापित हुनेछ। ‘देशको एक नम्बर पार्टी बन्न रोक्न सक्दैन,’ प्रचण्डको यो दाबी लेनिनको १९१९ को विजयको हुँकार जस्तै मान्नु उपयुक्त हुनेछ । तर प्रशस्त चुनौती नभएका भने होइनन्। नेताहरुका आन्तरिक सर्तहरू, फुटको घाउ, युवा विद्रोहको दबाबजस्ता कुरालाई प्रचण्डले तत्कालै सम्वोधन गर्नु पर्नेछ । यदि प्रचण्डले लेनिनझैं विरोधीहरूलाई दीर्घकालीन रूपमा मिलाए भने नेपालमा कम्युनिस्ट बर्चस्व असम्भव हुनेछैन । यो एकता विभाजनको अन्त्य होइन, नयाँ क्रान्तिको सुरुवात – जस्तै १९०५ को विद्रोहले १९१७ को क्रान्ति जन्माएको रुसी अनुभवलाई मनमा राखिरहनु आवश्यक छ ।। प्रचण्डको लेनिन अवतारले नेपाली राजनीतिलाई नयाँ आयाम दिनेछ, तर सफलता संयोजनको कला र जनभावनामा निर्भर छ भन्ने सत्यलाई विर्सनु हुँदैन ।
प्रतिक्रिया