पोखरा सहकारीको ८८ करोड रुपैयाँ हिनामिना प्रकरणमा ७ जना पक्राउ, बयानका लागि रवि सिंहदरबारमा

काठमाडौं १९ कात्तिक । पोखराको पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना पक्रकरणका सात जना पक्राउ परेका छन् । सहकारीको ८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ हिनामिना प्रकरणमा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा अध्यक्ष सुरेन्द्र बहादुर गोदार, कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी सदस्य दोर्जे तामाङ, व्यवस्थापक भिष्म प्रसाद गुरुङ, मार्केटिङ प्रमुख वेदीप्रसाद सुवेदी र पूर्वसचिव तथा हाल सदस्य रहेका इन्द्रप्रसाद द्धा पक्राउ परेका हुन् । उनीहरू पोखराकै विभिन्न ठाउँका हुन् ।
पक्राउ परेकाहरूमाथि प्रहरीले सहकारी ठगी कसुरमा अनुसन्धान थालेको कास्की प्रहरीका डीएसपी हरि बस्नेतले जानकारी दिए । बुधबार बिहान पक्राउ परेका उनीहरूलाई अदालतबाट थुनामा राखेर अनुसन्धान गर्ने म्याद थपका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरबार लगिएको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बुधबार प्रहरीले कारागारबाट ‘जेनजी आन्दोलन छानबिन आयोग’को कार्यालय लगेको हो ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट बाहिरिएको विवादास्पद घटनाबारे सोधपुछ गर्न आयोगले उनलाई बोलाएको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले हिंसात्मक रूप लिएको थियो । भदौ २४ गते सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका लामिछाने पनि ‘असुरक्षा’को कारण देखाउँदै अन्य कैदीबन्दीसँगै कारागारबाट बाहिरिएका थिए ।
उनी बाहिर निस्कँदा प्रयोग गरिएको ‘रिहाइ पत्र’को आधिकारिकतामा प्रश्न उठेपछि यो घटना थप विवादमा तानिएको थियो । लामिछाने भने पछि आफैँ कारागार फर्किएका थिए ।
जेनजी आन्दोलन र सो क्रममा भएका हिंसात्मक घटना, दमन र कारागारबाट कैदीबन्दी भागेको समग्र घटनाक्रमको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति