न्युयोर्कका दूरदर्शी नयाँ मेयरको तीव्र उदय

बुधबार, १९ कात्तिक : एक वर्षअघिसम्म जोहरान ममदानी राजनीतिक वृत्तमा एक अपरिचित नाम थिए। तर, अहिले ३४ वर्षीय यी लोकतान्त्रिक समाजवादी नेता न्युयोर्कका पहिलो मुस्लिम मेयर बन्दैछन् । उनको चर्चा अमेरिका मात्र नभएर विश्वभर फैलिएको छ।
एक समयका कमजोर प्रतिस्पर्धी रहेका उनको उदय निकै तीव्र गतिमा भयो। आकर्षक सामाजिक सञ्जाल उपस्थिति र व्यापक सञ्चारमाध्यमको ध्यान खिच्ने गरी गरिएको ग्रासरुट अभियानले हजारौँ नयाँ मतदाता, जसमा धेरै युवा र अश्वेत समुदायका मानिस थिए, लाई प्रेरित गर्यो। ममदानीले अनलाइनमार्फत प्रगतिशील राजनीति गर्नेहरूका लागि नयाँ खाका तयार पारेका छन्।
उनका सरल भिडियोहरूले न्युयोर्कको आशावादी र स्नेहपूर्ण दृष्टिकोण प्रस्तुत गरे, जुन जीवन जति कठिन भएको छ, त्यति कठिन हुनुपर्दैन भन्ने दृढ आधारमा टिकेको छ।
ममदानीका सामाजिक सञ्जालमा आएका धेरै सफल सामग्रीमध्ये ‘हलालफ्लेशन’ शब्दावलीको प्रयोग र भाडा स्थिर राख्ने वाचा गरेर कोनी आइल्यान्डको चिसो छालमा हाम फालेको दृश्य समावेश छन्। न्युयोर्क सिटी म्याराथन दौडँदै भाडा दरबारे कवितात्मक शैलीमा कुरा गरेको भिडियो पनि भाइरल बन्यो। उनले गत वर्ष अश्वेत र श्रमजीवी न्युयोर्कवासीहरूसँग ट्रम्पलाई किन मतदान गरे वा मतदान गरेनन् भन्नेबारे अन्तर्वार्ता लिएको भिडियोले विशेषगरी धेरैको मन छोएको थियो।

उनको सटिक सामग्री र मानिसहरूसँग सीधै भेट्ने र अन्तर्क्रिया गर्ने (आलोचकहरूसँग समेत) उनको निरन्तरताले ममदानीलाई पुराना, विवादित र धनी दाताहरूबाट सहयोग पाएका पूर्व गभर्नर एन्ड्रयू कुमो (स्वतन्त्र उम्मेदवार) भन्दा बिल्कुलै फरक रूपमा स्थापित गर्यो।
ममदानी र कुमोले देशव्यापी रूपमा लोकप्रियता गुमाउँदै गएको डेमोक्र्याटिक पार्टीका दुई फरक दृष्टिकोणको प्रतिनिधित्व गरे – एउटा अलोकप्रिय र प्रेरणाहीन, र अर्को साँच्चै महत्त्वाकांक्षी र रोमाञ्चक। न्युयोर्कवासीहरूले अब अमेरिकाको लागि कुन दृष्टिकोणमा विश्वास राख्नुपर्छ भन्ने संकेत दिएका छन्।
राजनीतिमा प्रवेश गर्नुअघि ममदानीले सामुदायिक संगठक र जग्गा जफत रोकथाम सल्लाहकारको रूपमा काम गरे। नोभेम्बर २०२० मा, उनी न्युयोर्कको ३६ औं जिल्लाको प्रतिनिधित्व गर्दै स्टेट एसेम्ब्लीमा निर्वाचित भए, जहाँ उनी पहिलो दक्षिण एसियाली पुरुष, पहिलो युगान्डली, र केवल तीन मुस्लिममध्ये एक बनेका थिए।
यस वर्षको जुन २४ मा डेमोक्र्याटिक मेयर प्राइमरीमा प्रभावशाली जित हासिल गरेपछि उनले बिस्तारै कमला ह्यारिस, गभर्नर क्याथी होचुल, र हाउस अल्पसंख्यक नेता हाकिम जेफ्रीज जस्ता न्युयोर्कका शीर्ष डेमोक्र्याटहरूको समर्थन प्राप्त गरे। भाडा दर स्थिर गर्ने उनको साहसी किफायती एजेन्डाका कारण उनले सानो डलरका वित्तीय दाताहरूलाई समेत आकर्षित गर्दै दोहोरो अङ्कले अग्रता लिए।
टिकटक र इन्स्टाग्राममा चलाख, आनन्ददायी, हास्यास्पद तर सधैँ सन्देशमूलक भिडियोहरू पोस्ट गर्दै, उनले हजारौँ उत्साही युवा र पहिलो पटकका मतदाताहरूलाई डेमोक्र्याटिक पार्टीमा आकर्षित गरे। उनी भाडा दर, जीवनको गुणस्तर, बाल हेरचाह, खाद्यान्न जस्ता विषयमा केन्द्रित रहे, र न्युयोर्कका धनीहरूमा कर बढाउने, कर्पोरेट कर बढाउने, र नियन्त्रित अपार्टमेन्टको भाडा स्थिर गर्ने नीतिहरूको वकालत गरे।

उनले सर्वव्यापी बाल हेरचाह, निःशुल्क बस सेवा, सहरको स्वामित्वमा रहेका किराना पसलहरू र ३० डलरको न्यूनतम ज्यालाको प्रस्ताव पनि राखेका छन्।
इस्लामोफोबिया र नस्लवादले भरिएको विपक्षी अभियानको सामना गर्दै ममदानीले उर्दु, हिन्दी र स्पेनिश भाषामा, मस्जिदहरूबाट र रात्रिकालीन सिफ्टमा काम गर्नेहरूसँग भेटेर प्रचार गरे। उनको मुस्लिम आस्था, गाजा र प्यालेस्टिनी अधिकारका लागि वकालत, र आप्रवासीहरूको पक्षमा उभिने इच्छाले धेरै मतदाताको मन छोयो।
ममदानीका नीतिहरूले उनलाई रिपब्लिकन आक्रमणको लक्ष्य बनाएको छ र डेमोक्र्याटिक प्रतिष्ठानका लागि उनी एक जोखिमपूर्ण सम्भावना बनेका छन्। उनका आलोचकहरू न्युयोर्कको प्रतिस्पर्धात्मकतामा असर पर्ने भन्दै उनका विचारहरूलाई अव्यवहारिक मान्छन्।
तर, यी विचारहरूले हजारौँ न्युयोर्कवासीहरूको मनमा स्थान पाएको छ। यसले ममदानीलाई मतदाताहरूलाई नाटकीय रूपमा विस्तार गर्न मद्दत गर्यो, विशेषगरी युवा मतदाताहरूलाई जसले असमानता, आकाशिएको मूल्य र डेमोक्र्याटिक केन्द्रवादप्रति असन्तुष्टिको भावना राख्छन्।
डोनाल्ड ट्रम्पले राष्ट्रिय गार्ड परिचालन गर्ने र संघीय कोष रोक्ने धम्की दिएको तथा ममदानीमाथि सामाजिक सञ्जालमा लगातार आक्रमण गरिरहेको बेला, यो नयाँ मेयरको निर्वाचनले न्युयोर्क सिटी, डेमोक्र्याटिक पार्टी र समग्र अमेरिकाका लागि ठुलो महत्त्व राख्छ।
९/११ को छायामा हुर्केका ममदानीले अब देशको दोस्रो सबैभन्दा कठिन जिम्मेवारी मानिने यस पदमा पहिलो मुस्लिम र पहिलो दक्षिण एसियाली मेयरको रूपमा नेतृत्व गर्नेछन्। उनको अगाडिको कार्य ठुलो हुन सक्छ, तर परिवर्तनको लागि यो सही समय पनि हो।
- युगान्डादेखि क्विन्ससम्म
ममदानी युगान्डाका शिक्षाविद् महमुद ममदानी तथा भारतीय फिल्म निर्माता मीरा नायरका छोरा हुन्। उनी युगान्डाको राजधानी कम्पालामा जन्मिएका हुन् ।
उनी सात वर्षको हुँदा उनको परिवार न्यूयोर्क पुगेको थियो । ब्रोंक्स विज्ञान स्कुलमा भर्ना भएका उनले पछि गएर बोड्विन कलेजमा अफ्रिकाली अध्ययनमा आफ्नो उच्च शिक्षा पुरा गरे । अध्ययनकै क्रममा उनले आफ्ना साथीहरूसँग मिलेर ‘जस्टिस फर प्यालेस्टाइन’ नामको विद्यार्थी समूह पनि स्थापना गरेका थिए ।
मम्दानीले आफूलाई जनताको उम्मेदवार तथा कुशल संगठकका रूपमा उभ्याएका छन् । राज्यसभाको रेकर्डमा भएको उनको पृष्ठभूमिमा ‘फिल्म, र्याप तथा लेखनमा मस्त जीवनले अर्को मोड लिँदा संगठनको कामले निराशाको सट्टा आशा दिएको छ’, लेखिएको छ ।
राजनीतिमा आउनु अघि उनी आवास सल्लाहकारको काम गर्थे । जसमा उनको काम क्विन्स क्षेत्रमा निम्न आय भएका मानिसलाई विविध कारण उनीहरू बसेको घरबाट निकालेको अवस्थामा उनीहरूलाई सघाउनु थियो ।
नले आफ्नो मुस्लिम पहिचान पनि आफ्नो अभियानको हिस्सामा समेटेका थिए । उनी आफ्नो अभियानका दौरान नियमित रूपमा मस्जिद जान्थे । साथै उर्दु भाषामा सहरको कष्टकर जनजीवनबारे भिडियो बनाउने गर्थे ।
केही समयअघि एउटा र्यालीलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘हामीलाई थाहा छ अहिले सार्वजनिक स्थानमा आफू मुस्लिम भएको दाबीसाथ उभिनु भनेको आफ्नो सुरक्षामा चुनौती थप्नु हो, तथापि मैले काम गर्नैपर्छ ।’

यस वर्षको सुरुमा, उनले ब्रुकलिनमा बस्ने २७ वर्षीया सिरियाली कलाकार रमा दुवाजीसँग विवाह गरे। रमाको कलाकृतिहरू द न्युयोर्कर’, द वासिङ्टन पोस्ट’र भाइस जस्ता प्रकाशनहरूमा चित्रित भइसकेका छन्। उनी एनिमेसन र सिरेमिक्स (माटोका कलाकृति) मा पनि काम गर्छिन्।
- ममदानीले उठाएका मुद्दा
ममदानीका अनुसार अमेरिकाको सर्वाधिक महँगो सहरका मतदाताहरूको चाहना डेमोक्र्याटहरुले छलफललाई जीवनयापनको असहजता र महँगीमा केन्द्रित गरुन् भन्ने छ । ‘यो यस्तो सहर हो, जहाँ हरेक चार जनामा एक जना गरिबीमा बाँचिरहेका छन्, जहाँ ५ लाख बालबालिका प्रत्येक रात भोकभोकै सुत्न विवश छन् ।’
बीबीसीसँग कुराकानी गर्दै उनले भने, ‘साथै यो सहरले आफूलाई विशेष रूपमा चिनाएको पहिचान पनि गुमाउने खतरासँग जुधिरहेको छ ।’

- के छन् त उनका प्रस्तावहरू ?
उनले आफ्नो निर्वाचन अवधिभर निम्न मुद्दा अघि बढाएका छन् । सहरभर निःशुल्क बस सेवा सञ्चालन गर्ने । लापरबाही गर्ने घरधनीहरूका लागि भाडा रोक्का गर्ने, जबाफदेहीताका कडा प्रावधान लागू गराउने, निम्न वर्गका मानिसलाई लक्षित गरेर सहरमा सस्तो मूल्यका किराना पसलहरूको शृङ्खला तयार गर्ने ।
यस्तै, ६ हप्तादेखि पाँच वर्ष उमेरसम्मका बालबालिकाका लागि सार्विक वाल हेरचाहको प्रबन्ध गर्ने, स्थिर घरभाडा भएका सरकारी आवासका निर्माण तीन गुणा बढाउने, घरधनीहरूलाई जिम्मेवार बनाई सस्तो र स्थायी आवासको व्यवस्था बढाउने । सस्तो आवास प्रबन्धका लागि मेयरको कार्यालयले तत्काल काम अघि बढाउने ।
उनको योजनामा मेयर कार्यालयले काम गर्ने शैली पनि परिवर्तन गर्नुपर्ने कुरा समावेश छ । उनले आफ्नो अभियानका क्रममा आफ्ना विचारहरूलाई मानिस माझ पुर्याउन श्रव्यदृष्य लगायत विभिन्न आकर्षक प्रकारका प्रयोगहरू गरे । भाडा रोक्काको सन्दर्भलाई चर्चामा ल्याउन उनले आन्ध्र महासागरमा समेत हाम फाले ।
खाद्य असुरक्षा देखाउने उद्देश्यसाथ बरिटो लगायतका सबवे रेल स्टेसनमा आफ्नो रमजानको उपवास तोडे । प्राइमरी निर्वाचनको केही समय अघि मात्रै उनले म्यानह्याटन सहर पुरै वारपार पैदल यात्रा गरे । ठाउँ–ठाउँमा रोकिएर मतदाताहरूसँग फोटो खिचे, उनीहरूको समस्या समाधानका लागि पहल लिए ।
उनी सहरलाई अझै सस्तो तथा निम्न आर्थिक अवस्थाका मानिसहरूका लागि बस्न योग्य बनाउन सकिन्छ भन्ने विश्वास गर्छन् । उनका आलोचकहरूले भने उनका यस्ता महत्त्वाकाङ्क्षी वाचाहरूमाथि प्रश्न उठाउने गरेका छन् ।
न्यूयोर्क टाइम्सले सहरको मेयरका लागि यसपटक कसैलाई पनि समर्थन गरेन । बरु उसले त्यस विपरीत उम्मेदवारहरूको आलोचना गर्यो । यसको सम्पादकीय बोर्डले ममदानीका एजेन्डाहरू ‘सहरका चुनौतीहरूका लागि काम नलाग्ने’ भनेर लेख्यो ।
साथै ‘यी एजेन्डा लागू गराउँदा शासनमा अन्य विषयमा सम्झौता गर्नुपर्ने अवस्था आउने’ भनेर समेत उल्लेख गर्यो । बोर्डले त अझ ममदानीले लिएको भाडा रोक्काको प्रस्तावले सहरको आवास आपूर्तिमा समस्या उत्पन्न हुने दाबी गरेको छ ।

- अनुभवहीनतामाथि प्रश्न
कुमो लगायत उनका प्रतिस्पर्धीहरू १ सय १५ बिलियन डलर बजेट भएको तथा नगरपालिका अन्तर्गत तीन लाख भन्दा धेरै काम गर्ने मानिस भएको यस्तो ठुलो सहरका लागि अहिलेसम्म परीक्षण नै नभएको तथा उग्रउम्मेदवारका रूपमा उनको आलोचना हुने गरेको थियो ।
उनका प्रतिस्पर्धी कुमोलाई पूर्वराष्ट्रपति विल क्लिन्टन लगायत डेमोक्र्याटिक पार्टीका नेताहरूको समर्थन थियो । उनी आफूलाई अनुभवी र सक्षम दाबी गर्दै भन्छन्, ‘मसँग अनुभव, क्षमता, काम कसरी गर्ने भन्ने ज्ञान छ तथा ट्रम्पसँग कसरी व्यवहार गर्ने भन्ने कला पनि छ । म वासिङ्टनसँग कसरी व्यवहार गर्नुपर्छ, प्रान्तको सदनसँग कसरी व्यवहार गर्नु पर्छ भन्ने राम्रोसँग जान्दछु । काममा अनुभव तथा सीपको ठुलो महत्त्व हुन्छ ।’
तर, राजनीतिक राजनीतिज्ञ ट्रिप याङ भने अहिलेको युगमा ‘अनुभव’ निर्णायक नहुने दाबी गर्छन् । याङका अनुसार ममदानीको हार वा जित जे भए पनि उनको अभियानले मतदाताबिच ‘अकल्पनीय’ काम गरेको छ ।
‘ममदानी दसौँ हजार स्वयंसेवकहरू तथा लाखौँ सहयोगीहरूबाट सञ्चालित छन् । स्थानीय निर्वाचनको प्राइमरी अगाडि यति धेरै समर्थक तथा स्वयंसेवकको प्रदर्शन डेमोक्र्याटिक पार्टीको इतिहासमै दुर्लभ घटना हो,’ उनले भने
उनका समर्थक लोकमणि राई भन्छन्, ‘उनी हामीलाई बुझ्छन् र त उनी हाम्रा मान्छे हुन् । हामी आप्रवासी समुदायका मानिसलाई उनको जीतको अर्थ थाहा छ ।’
प्रतिक्रिया