माओवादी सहितका नौ वाम समूहको नामः ‘नेपाली कम्युनिस्ट पार्टी’, चुनाव चिन्ह पाँचकुने तारा

काठमाडौं १८ कात्तिक । नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादी सहित विभिन्न ८ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ।

मंगलबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने भएको छ।

उनले पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने पनि बताए।

उनले तत्कालिक कार्यनीति पुँजीवादी, जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिने पनि दाबी गरे।

उनले भने, ‘पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिजवाद हुनेछ। नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ। पार्टीको तत्कालिक कार्यनीति पूँजीवादी, जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ।’

उनले पार्टीले एकतापछि गर्ने आन्दोलन शान्तिपूर्ण रहने तथा परिस्थितिअनुसार सडक, सदन र सरकार लगायत सबै मोर्चाहरू आन्दोलनको मोर्चा हुने बताए।

उनले पार्टी एकता राष्ट्रिय सम्मेलन बुधबार काठमाडौंमा आयोजना गरिने पनि बताए।

उक्त सम्मेलनबाट पार्टी एकता, पार्टीको घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रीय समिति गठन लगायतको कामहरू गरिने सापकोटाको भनाइ छ।– न्युज एजेन्सी नेपाल

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति