काठमाडौं १५ कात्तिक, । नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।
शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको हो ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुनेछ ।
त्यस्तै, देशभरका पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
ज्ञवालीले दिएको जानकारी अनुसार, कात्तिक २९ गते जनसभा आयोजना गर्ने पनि निर्णय भएको छ ।
पार्टीको जनपरिचालन गर्ने नीति अनुसार यी कार्यक्रमहरू तय भएको उनले बताए ।
यसैबीच एमालेले ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशभर एकसथा प्रतिनिधि चयन गर्ने भएको छ। शनिबार बसेको सचिवालय बैठकले एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
‘प्रतिनिधि चयन आगामी मंसिर १३ गते शनिबारका दिन देशैभरी एकसाथ हुनेछ,’ ज्ञवालीले भने, ‘त्यसरी चयन भएका प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने छ।’
एमालेले महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्य मध्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने बताएको छ। प्रतिनिधि चयन गर्दा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मान्ने समेत ज्ञवालीले उल्लेख गरे।
एमालेका कुल महाधिवेशन प्रतिनिधि २१ सय हुने छन्।
प्रतिक्रिया