काठमाडौं १४ कात्तिक। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा फुटेको छ । माओवादीसँग लामो समयदेखि एकता वार्ता चलिरहे पनि विप्लवले माओवादी उपमहासचिव जनार्दन शर्मा समूहलाई अगल गराउने योजनामा लागेपछि उनकै पार्टीका पोलिटब्युरो सदस्य मिलन सीले पार्टीको राष्ट्रिय भेला गर्दै आफ्नै नेतृत्वमा केन्द्रीय समिति बनाएर माओवादीसँग एकता गर्ने निर्णय गरिदिएर चक्मा दिएका छन् ।
पूर्व पोलिटब्युरो सदस्य तथा नवगठित विद्रोही नेकपाका महासचिव मिलन सी(चिरन पुन) ले पार्टी फुटाएर आफू महासचिव भए लगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत एकताको कुरा नमिलेका कारण १३ वर्षदेखिको सहकार्य टुटेको भए पनि चाँडै एक ठाउँमा भेट हुने अपेक्षा राखेको बताए ।
उनले लेखेका छन्, ‘प्रिय एवम् आदरणीय महासचिव कमरेड विप्लव सी, अभिवादन । आराम छु, आरामै चाहन्छु। निकै मीठो हाम्रो सहकार्य भएको अब १३ वर्ष पूरा भएर १४ वर्षमा लाग्दै छ । एकताको विषयमा हाम्रो कुरा मिलेन ।’
उनले थप लेखेका छन्, ‘कम्युनिस्ट क्रान्तिकारीको एकता आजको अनिवार्य आवश्यकता हो । बृहत् कम्युनिस्ट एकताले मात्र नेपाली विशेषताको समाजवाद हुँदै समाजवाद र साम्यवादी सपना पूरा हुन सक्छ ।’
सीले आफ्नो स्टाटसमा विप्लवप्रति सम्मान व्यक्त गर्दै लेखेका छन्, ‘‘तपाईँको भूमिका बृहत् कम्युनिस्ट एकता र ध्रुवीकरणमा आवश्यक छ । त्यसको निम्ति हजुरले पनि छिट्टै एकताको पहल गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु ।’
उनले आफ्नो पोस्टमा हालै सम्पन्न नवौँ केन्द्रीय समितिको विशेष बैठकले पनि यही सन्देश दिएको उल्लेख गरेका गर्दै लेखेका छन्, ‘यो नै नवौँ केन्द्रीय समितिको विशेष बैठकको दिशानिर्देश र आजको वस्तुगत आवश्यकताले विभाजित कम्युनिस्ट आन्दोलनलाई दिएको सन्देश हो ।’
सीले अन्त्यमा लेखेका छन्, ‘छिट्टै एकताको पहल गर्नुहुनेछ । फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु, अभिवादन ।’
प्रतिक्रिया